झापा । प्रथम दीव्यज्योति काँकरभिट्टा च्यालेन्ज कप २०८३ को उपाधि विर्तामोड युनाइटेड एफसी झापाले जितेको छ । योसंगै उसले नगद १ लाख १ हजार १ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यता उपविजेता बनेको एपीएफ पकली सुनसरीले ५० हजार ५ सय ५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एपीएफ पकली लाई १(० गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेडले काँकरभिट्टा च्यालेन्ज कप उठाएको हो ।
काँकरभिट्टा खेल मैदानमा सम्पन्न फाइनल खेलमा दुवै टिमले उत्कृष्ट खेलेका थिए । रोमाञ्चक र प्रतिष्पर्धात्मक बनेको खेलमा विर्तामोडको जितेको नायक सुवास विक बने । उनले खेलको ३९ औं मिनेटमा गरेको गोल नै टिमको जितको आधार बन्यो । पहिलो हाप एक शुन्यमा सकिको दोस्रो हापमा थप गोल हुन सकेन ।

फाइनल खेलमा उत्कृष्ट खेल्दै टिमलाई च्याम्पियन बनाउन सफल सुभाष विक प्लेयर अफ द म्याच घोषित भए । अन्य व्यक्तिगत विधामा विजेता टिमका आशिष चापागाईं प्रतियोगितामा ४ गोल गर्दै हाइस्कोरर, बेष्ट गोलकिपर अभिषेक बराल र बेष्ट डिफेन्डर दिवस उराँव घोषित भए । त्यस्तै प्लेयर अफ द टुर्नामेन्ट एपीएफका श्याम मुर्मु घोषित हुँदा उदयमान खेलाडी आयोजक टिमका राजु दर्जी घोषित भए ।
उनीहरू सबै खेलाडीले जनही नगद पाँच पाँच हजार सहित ट्रफी प्राप्त गरे । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सांसद गोपाल तामाङ, पुर्व प्रदेश सांसद श्रीप्रसाद मैनाली, मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती, बालजित राई, गंगालाल गुरूङलगायतका आयोजक क्लबका अध्यक्ष अनिल गुप्ताले वितरण गरे ।
साउन ९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा आयोजकसहित नेपालका ६ र भारतका २ गरी आठ टोली सहभागी थिए ।
