काठमाडौं । नेवार समुदायका विशेषगरी बौद्ध धर्मावलम्बीको प्रमुख सांस्कृतिक पर्व गुँला बिहीबारदेखि सुरु भएको छ । एक महिनासम्म मनाइने पर्वमा भक्तजनले परम्परागत बाजागाजासहित चैत्य, विहार र मन्दिरको परिक्रमा गर्दै बुद्धको पूजा–आराधना गर्ने गर्दछन् ।
काठमाडौं उपत्यकाका परम्परागत नेवार वस्ती र टोलहरुमा अब एक महिनासम्म सडक वा गल्लीहरुमा विहान मानिसहरुको चहलपहल शुरु नहुँदै सुनिने छ, धिमे, भुस्या, बाँसुरी र न्याकुँको सुमधुर आवाज । अनि बाजाको यही धुन पछ्याउँदै मानिसहरू चैत्यतर्फ अघि बढिरहेका हुने छन् । यो गुँला पर्वको अवसरमा देखिने दृश्य हो ।
नेवार समुदायमा पनि विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गुँला पर्व बिहीबारदेखि सुरु भएको छ । श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म चल्ने यो पर्व करिब एक महिनासम्म धार्मिक र सांस्कृतिक गतिविधिले उपत्यकालाई जीवन्त बनाउँछ ।
गुँला शब्दको अर्थ आफैमा रोचक पनि छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ र ‘ला’ को अर्थ महिना भन्ने गरिन्छ । नेपाल संवतको नवौँ महिनामा मनाइने भएकाले यसको नाम गुँला रहन गएको मानिन्छ । गुँलाको वास्तविक आकर्षण बिहानै सुरु हुने यात्रामा देखिन्छ । भक्तजनहरू परम्परागत बाजा बजाउँदै विभिन्न चैत्य, विहार, बहाः र बहीको परिक्रमा गर्छन् ।
काठमाडौंको स्वयम्भू, बौद्ध, पाटनलगायतका धार्मिक तथा ऐतिहासिक स्थलमा गुँला पर्वको विशेष रौनक देखिन्छ । एउटा समूह धिमे बजाउँदै अघि बढिरहेको हुन्छ । यसमा कसैले भुस्या बजाइरहेको हुन्छ भने कसैले न्याकुँको गहिरो आवाज निकालिरहेको हुन्छ । यही दृश्यले गुँलालाई काठमाडौँका अन्य धेरै जात्रा र पर्वहरुभन्दा फरक बनाएको छ ।
गुँला पूजा र परिक्रमा गर्ने पर्व मात्रै होइन । संगीत जोडिएको उपत्यकाको जीवित संस्कृति पनि हो । विशेषगरी न्याकुँ बाजा गुँलाको पहिचानसँग जोडिएको छ । राँगाको सिङबाट बनाइने यो बाजा हेर्दा साधारण देखिए पनि यसको ध्वनि निकै विशिष्ट हुन्छ ।
परम्परागत रूपमा धार्मिक यात्राहरुमा यसको प्रयोग हुँदै आएको छ । त्यसैगरी धिमे, बाँसुरी, भुस्या र धाः लगायतका बाजासँगै बज्दा यी आवाजले पनि गुँला पर्वमा सांगीतिक समूहको स्वरूप लिन्छन् । पछिल्लो समय यस्ता जात्रा पर्वमा नयाँ पुस्ताको सहभागिता पनि बढिरहेको छ । नयाँ पूस्ताको सहभागितासँगै परम्परागत पर्व र संस्कृति पुस्तान्तरण पनि हुँदैछन् ।
गुँला धार्मिक पर्व मात्रैमा सीमित छैन । सामाजिकरुपमा खेतीपातीको मुख्य काम सकिएको समयसँग पनि यो पर्व जोडिएको छ । मानिसहरू केही फुर्सदिला हुने यही समयमा समुदाय भेला हुने, भेटघाट गर्ने र सामूहिक रूपमा धार्मिक गतिविधिमा सहभागी हुने अवसर पनि गुँलाले जुटाइ दिएको छ ।
बौद्ध परम्परामा वर्षायामको साधना र धार्मिक अभ्याससँग पनि गुँला समयको सम्बन्ध जोडिन्छ । त्यसैले यो अवधि पूजा, ध्यान, पाठ, दान र पुण्यकर्मका लागि विशेष मानिन्छ । यसको अर्को पक्ष के भने गुँला पर्वमा हुने चैत्य परिक्रमा एउटा यात्रा मात्रै होइन ।
उपत्यकाका विभिन्न स्थानीय धार्मिक स्थललाई जोड्ने सांस्कृतिक नेटवर्क जस्तो पनि हो । एउटा टोलबाट अर्को टोल, एउटा बहाःबाट अर्को चैत्यसम्म बाजाको धुनले यी ठाउँहरूलाई जोडिरहेको हुन्छ । काठमाडौंलाई मन्दिरै–मन्दिरको सहर भनिन्छ । तर गुँला पर्वले कामठाडौँ बाजा, बहाः, बही र चैत्यहरूको पनि सहर हो भन्ने प्रमाण पनि दिन्छ । एक महिनासम्म बज्ने यी बाजाहरु पुर्खाको स्मृति हुन्, धार्मिक आस्था हुन् र पहिचानको आवाज हुन् ।
