काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले राष्ट्रिय भेला आयोजना गर्दैछ। साउन २९ गतेका लागि तय भएको भेलालाई सम्बोधन गर्न शेरबहादुर देउवा नेपाल आउदैछन्। देउवाले सम्बोधन गर्ने भनिएको भेलाले कांग्रेसको आन्तरिक राजनीति तरङ्गित मात्रै भएको छैन, कांग्रेस विभाजनमा पु¥याएर भूराजनीतिक चक्रलाई बलियो पार्ने शक्तिले समेत चलखेल बढाएको छ ।
नेपाली कांग्रेस ठूला धक्का खाएर स्थापित पार्टी हो। शक्तिशाली भनिएको नेकपा एमाले संकटमा छ। नेतृत्वमाथिका प्रश्नले एमालेमा देखिएको संकटका कारण एमाले कहिले बौरिएला? सवालहरु जिवित छन्। यता, अर्को शक्तिशाली र नेपालको लोकतान्त्रिक आन्दोलनको लामो लिगेसी बोकेको दल किन आन्तरिक विवादमा फस्यो ?
किन कांग्रेस स्थापनामा जोखिम मोलेका कोइराला परिवारका सदस्यहरुले उत्साहपूर्वक नविन गतिविधिमा सक्रियता देखाए ? वा विशेष महाधिवेशनको आडमा नेतृत्वमा आएको गगन थापा नेतृत्वको कांग्रेसले किन बहुमत स्वीकार गर्छु भन्दा पनि वास्ता गरेनन ? तमाम प्रश्न र चासोहरु देखिन्छन्। जसको आन्तरिक कारण जे भएपनि कांग्रेस भूराजनीतिक भूमरीमा परेकोमा शंका भने देखिन्न। संस्थापन पक्षले इतर पक्षलाई देउवाले सम्बोधन गर्ने भनिएको विषयमा समेत कडा शब्दले प्रहार गरिरहेको देखिन्छ।
के गर्दैछ इतर पक्ष ?
नेपाली कांग्रेसको इतर पक्षले शेरबहादुर देउवालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भव्य स्वागत गर्दैछ। देउवा सिंगापुर–हङकङ हुँदै बैंकक पुगेका छन्। उनी अब बैंककबाट उच्च मनोबलका साथ नेपाल आउन लागेका छन्। सर्वोच्च अदालतले कांग्रेस विवादको पुनरावलोकनका लागि निस्सा दिएपछिको कांग्रेसको आन्तरिक राजनीति फेरिएको मात्रै छैन्, सभापति गगन थापा दबाबमा देखिन्छन्। तर, उनी हठ त्याग्न तयार देखिन्नन्। यस्तो स्थितिमा इतर पक्षले सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा साउन २९ देखि ३१ सम्म राष्ट्रिय भेला गर्दैछ। भेलामा ५ हजार बढि नेता कार्यकर्ताको उपस्थिति रहने बताइएको छ। यसको तयारीका निम्ति भेलाको नेतृत्व गरिरहेका डा. शशांक कोइरालाले दौडधुप गरिरहेका छन्। उनले पूर्णबहादुर खड्का, शेखर कोइराला लगायतलाई भेटिरहेका छन्। छलफल चलिरहेको छ। शुक्रबार दिउँसो १ बजे भेला उद्घाटन हुने इतर पक्षले जनाएको छ। भेलामा पेश हुने प्रतिवेदनले अन्तिम रुप लिन थालेको बताइएको छ।
पत्रमार्फत चेतावनी
डा. शशांक कोइरालाले पत्र लेख्दै कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा महाधिवेशनसम्बन्धिका कुनैपनि गतिविधि अघि नबढाउन चेतावनी दिएका छन्। विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापालाई पूर्वमहामन्त्री भनेर सम्बोधन गरेका शशांकले निर्वाचन आयोगलाई समेत पत्र पठाएका छन्। सर्वोच्चले निस्सा दिएपछि कुनैपनि गतिविधिलाई रेकर्डमा नराख्न र १५ महाधिवेशनका गतिविधिलाई मान्यता दिन, अघि नबढाउन भनिएको छ ।
भूराजनीतिक प्रभाव
कांग्रेसको आन्तरिक विवाद बल्झिन थालेको छ । विवाद बल्झिनुको कारण आन्तरिक मात्रै हो ? धेरैले शंका गरिरहेका छन् । कांग्रेसको आन्तरिक विवादमा पदीय भागबण्डामात्रै नभई भूराजनीतिक कारण पनि रहेको चर्चा चलिरहेको छ । कांग्रेसको आन्तरिक विवादमा एकताभन्दा विभाजनको खतरा बढ्दो छ ।
शक्तिशाली र बलिया लोकतान्त्रिक पार्टीभित्रको आन्तरिक विवादलाई बल्झाएर भूराजनीतिक रुपमा अघि बढाउन खोजिदैछ । एमालेमा पनि आन्तरिक किचलो ह्वात्रै बढेको छ । यसलाई आन्तरिक कारणसंग मात्रै जोड्न नहुने तर्क आउन थालेका छन् । यतिमात्रै नभई एमालेको आन्तरिक विवादभन्दा कांग्रेस नै विभाजनतर्फ हिड्न पुगेको छ । कांग्रेस विभाजनको संघारमा पुग्दा पनि एकताको पहल नहुनुलाई आश्चार्य मानिएको देखिन्छ ।
यता, सभापति गगन थापाले पनि एकताका निम्ति पर्याप्त पहल थालेको देखिन्न । इतर पक्षले समेत आफ्ना माग लचकतासाथ अघि बढाएको दाबी गर्दा पनि किन विवाद सुल्झिएन ? यस्ता प्रश्नहरु भूराजनीतिक कारण नै प्रमुख बन्ने चर्चा हुन थालेका छन्। यद्यपी आन्तरिक विवादको समाधान कसरी हुन्छ भन्ने चासो बढेको छ ।
सर्वोच्चको कोर्टमा बल
दबाबकाबीच संस्थापन पक्षले सुनुवाईको मौका नदिइएकोबारेमा समेत अन्सन्तुष्टी पोखिरहेको छ । यता सर्वोच्च अदालतले कांग्रेस विवादमा पुनरावलोकनको निस्सा दिएपछि इतर पक्षमा हौसला र संस्थापन पक्षलाई दबाब परेको देखिन्छ। सर्वोच्चले संवैधानिक रुपमा विवाद निरुपण कसरी गर्छ र यसलाई कति प्राथमिकता दिन्छ भन्ने कुरा मुख्य देखिन्छ। सर्वोच्चको निस्साका कारण तत्काल कांग्रेस विभाजनको सम्भावना टरेपनि विवाद, संघर्ष र आन्तरिक घर्षण बढेको छ। यस्तोमा दुबै पक्षले संयमता अपनाउदै काम गर्नुको विकल्प देखिन्न ।
