काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय र विनाशकारी बाढीको क्षतिले देशलाई गम्भीर शोकमा डुबाएको छ । बाढी र पहिरोका कारण सोमबार दिउँसोसम्म ९०० भन्दा बढीको मृत्यु पुष्टि भइसकेको छ भने कम्तिमा पनि ४ हजार २०० भन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । यद्यपि बेपत्ताको यकीन तथ्यांक सरकारले दिन सकेको छैन । परराष्ट्र मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमवार छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार, शव व्यवस्थापन र अन्तर्राष्ट्रिय सहयोग परिचालनलाई युद्धस्तरमा अघि बढाइएको जानकारी दिएका छन् ।
रसुवा बाढीका कारण प्रभावित भएका ३८ देशका विदेशी नागरिकहरूको अवस्थाबारे विवरण संकलन भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार विपद्पछिको प्रभावकारी उद्धार र राहतका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग विशेष प्राविधिक सहयोगको माग गरेको छ । सुरुङमार्गमा उद्धारका लागि दक्ष ‘टनेल रेस्क्यु टोली’ र पुरिएका शवहरू फेला पार्न ‘आइएसएआर’ जस्ता आधुनिक प्रविधिका साथै शव सुरक्षित राख्न थप फ्रिजरहरू, मृतकको पहिचानका लागि फरेन्सिक सहयोग, डीएनए परीक्षण गर्ने उपकरण र आवश्यक किट्स माग गरिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १० हजारभन्दा बढी मानिसको सफल उद्धार गरिएको छ । २६७ जना घाइतेहरू उपचारपछि घर फर्किएका छन् । जलविद्युत् आयोजनाका सुरुङहरूबाट मात्रै हालसम्म २८९ जना श्रमिकको उद्धार गरिएको छ, जसमध्ये आइतवार र सोमवार चिनियाँ तथा भारतीय नागरिकहरूलाई समेत सुरक्षित बाहिर निकालिएको छ । बेपत्ताहरूको खोजका लागि २० हजार ८१९ भन्दा बढी सुरक्षाकर्मी मैदानमा परिचालित छन् । प्राधिकरण प्रवक्ता महतका अनुसार बेपत्ताको यकिन संख्या तोक्न कठिन रहेकाले जिल्ला प्रशासन, स्थानीय तह, सेना–प्रहरी र हाइड्रो आयोजनाहरूको एकीकृत तथ्यांकका आधारमा हाल ४,२०२ जना बेपत्ता रहेको अनुमान गरिएको छ ।
मन्त्रालयमा ‘इमर्जेन्सी कन्ट्रोल रुम’
परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार बाढीमा परी हालसम्म ३२३ जना विदेशी नागरिकको जीवित उद्धार गरिएको छ भने ३८ देशका करिब ५९० जना विदेशी नागरिक अझै बेपत्ता छन् । विदेशी नागरिकहरूको खोजबिन, कूटनीतिक समन्वय र परिवारसँगको सम्पर्कका लागि परराष्ट्र मन्त्रालयमा ‘इमर्जेन्सी कन्ट्रोल रुम’ स्थापना गरी दूतावासहरूसँग निरन्तर संवाद भइरहेको छ ।
विभिन्न देशका ‘विशेषज्ञ टोली’ मैदानमा
उद्धार र शव व्यवस्थापनलाई वैज्ञानिक बनाउन अन्तर्राष्ट्रिय समुदाय नेपालको मैदानमै खटिएका छन् । सुरुङ उद्धारका लागि भारतको विशेष प्राविधिक टोली मैलुङ–त्रिशूली र स्याफ्रुबेँसी क्षेत्रमा, थाइल्याण्डको टोली माथिल्लो त्रिशूली ३–ए मा र दक्षिण कोरियाको टोली आ–आफ्नो कार्यक्षेत्रमा खटिएका छन् । मृतकहरूको पहिचानका लागि भारतका १८ जना फरेन्सिक विज्ञहरूले नेपालमा डीएनए परीक्षणमा सहयोग गरिरहेका छन् । सिङ्गापुरको ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ टोली ल्याउने प्रक्रिया अन्तिम चरणमा छ ।
नेपाल र चीनबिच भोटेकोशीको जलविज्ञान, मौसम, बाँधका ढोकाहरू र हिमतालको अवस्थाबारे ‘रियल टाइम’ सूचना आदानप्रदान भइरहेको पनि प्रवक्ता पौडेलले जानकारी दिए । केरुङ नाकामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन चिनियाँ पक्षले सहजीकरण गरिरहेको छ । नेपाललाई अमेरिका, चीन, जापान, यूएई लगायतका देशहरूबाट बेलीब्रिज, फ्रीजर, जेनेरेटर, सोलार ल्याम्प, डीएनए टेस्टिङ किट र खाद्यान्न प्राप्त भइसकेको छ । चीनसँग उच्च क्षमताका ड्रोन तथा दक्षिण कोरियासँग थप टनेल रेस्क्यु उपकरण माग गरिएको छ ।
रसुवा र गल्छीमा ‘हाइड्रोलोजिकल स्टेसन’
बाढीका कारण साना–ठूला गरी १० हजारभन्दा बढी पुलहरू (ट्रस/काठ/झोलुङ्गे) बगेका छन्। सडक सञ्जाल पुनः जोड्न नेपाली सेनासँग उपलब्ध बेली ब्रिज प्रयोग गरिनुका साथै चीन र भारतबाट थप बेली ब्रिज मगाइएको छ । टेलिकमका लगभग सबै टावरहरू सुचारु भइसकेका छन् । पुनः बाढी आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै गल्छी र रसुवाको टिमुरेमा ‘हाइड्रोलोजिकल स्टेसन’ स्थापना गरी बाढीको रियल–टाइम डेटा निगरानी गर्न थालिएको छ ।
