News 24 Television
७२ को भूकम्पमा टिचिङ हस्पिटल परिसरमा गाडिएका थिए ३२ शव

काठमडौं । रसुवा बाढीमा परेकाहरुको खोजी तीव्र हुँदै जाँदा शव भेटिने क्रम पनि बढ्दै गएको छ । यो सामग्री तयार पार्दासम्म विभिन्न ८ जिल्लाबाट एक हजार भन्दा बढी शव भेटिएका छन् ।सबैभन्दा बढी चितवन, नवलपरासीपूर्व तथा नवलपरासी पश्चिममा फेला परेका छन् ।तर, शव पहिचानमा समस्या हुँदा व्यवस्थापन चुनौतीपूर्ण देखिएपछि चितवन प्रशासनले शवलाई जमिनमुनि व्यवस्थापन गर्न थालेको छ । शव गाड्नुपर्ने अवस्था किन आयो ? शव गाडिएपछि सनाखत भयो भने आफन्तले कसरी पाउँछन वा अब शवको पहिचान कसरी हुन्छ ? 

भोटेकोशी बाढीमा परेकाहरुको शव भेटिने क्रम बढ्दै जाँदा व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका सरकारी अस्पतालमा ६ सय शवमात्र राख्न सक्ने क्षमता छ । १ सय ५० शव अट्ने त्रिवि शिक्षण अस्पतालमा मात्रै एक सय २० वटा शव ल्याइसकिएको छ । निजी अस्पतालहरुसँग झन् शव राख्ने संरचना निकै सीमित छन् । 

अहिले नेपाल प्रहरीले शव पहिचानका लागि पोर्टल नै बनाएर तस्बिरहरु सार्वजनिक गरिरहेको छ । तर, पनि आफन्तलाई समेत शव पहिचानमा समस्या भइरहेको छ । बाढीका कारण सडक तथा बाटोसमेत क्षतिग्रस्त भएकाले मृतकका आफन्त शव खोज्न घटनास्थल तथा अस्पतालसम्म पुग्नसमेत सकिरहेका छैनन् । उता, बाढीमा बगेर भेटिएका शव अत्यधिक गर्मीका कारण सड्न थालेका छन् । 

पानीमा भिजेका यस्ता शव अन्य शवको तुलनामा छिट्टै बिग्रने फरेन्सिक विशेषज्ञ बताउँछन् । त्यसमाथि शवका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै सरकारले पहिचान हुन नसकेका शव जमीनमा गाडेर व्यवस्थापन गर्न थालेको छ । शव व्यवस्थापन चुनौतीपूर्ण बनेपछि सरकारले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८’ लाई संशोधन गरेको छ । निर्देशिकामा शव व्यवस्थापन भन्नाले शवलाई पूर्णरूपले अन्त्य नगरी अस्थायी रूपमा गरिने व्यवस्थापन सम्झनुपर्ने उल्लेख छ । निर्देशिकाबमोजिम शनिबारदेखि नै जमीन मुनी शव व्यवस्थापन गर्न शुरु गरिएको हो । 

शवको विवरण सुरक्षित, डीएनए नमुना संकलन

प्रत्येक शवको छुट्टाछुट्टै विवरण सुरक्षित गरिन्छ र अनिवार्य रूपमा डीएनए नमुना सङ्कलन गरिएको हुन्छ । प्रत्येक शवको फोटो खिचि, शवको अनुहार, हातमा रहेका ट्याटु, चोटपटक तथा अन्य विशेष चिन्हको अभिलेख राखिन्छ । शवसँगै भेटिएका कपडा तथा अन्य सामानको विवरण संकलन गरिनुका साथै कानुनी प्रक्रिया पूरा गरी मुचुल्का तयार गरिन्छ र प्रत्येकलाई छुट्टै युनिक पहिचान नम्बर दिनुपर्ने व्यवस्था छ । कुन शव कहाँ गाडिएको हो भन्ने पत्ता लगाउन प्रत्येक शवको पहिचान नम्बर नबिग्रने गरी धातुको प्लेटमा लेखेर सँगै राखिन्छ । तर यसरी राखिएको शवको कुहिने प्रक्रिया रोकिदैन ।

शव प्राकृतिक रूपमा विस्तारै डिकम्पोज हुन्छ । तर खुला ठाउँमा राखिएको शवको तुलनामा माटोमुनि राख्दा कुहिने गति केही कम हुन सक्छ । यसको उद्देश्य शवलाई तत्काल नष्ट गर्नु नभई कुहिनेको गति केही कम गर्दै भविष्यमा पहिचान गर्न र आवश्यक परे उत्खनन गर्न सकिने अवस्था रहने फरेन्सिक विशेषज्ञहरु बताउँछन् ।  

पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन सम्भव भएसम्म अन्तर्राष्ट्रिय मापदण्डअनुरुप १२ वर्षसम्म सुरक्षित रहने गरी गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ । 

नेपालमा २०७२ सालको भूकम्पपछि पनि केही शवहरु यसरी नै जमीनमुनी गाडेर ब्यवस्थापन गरिएको थियो । त्रिवि शिक्षण अस्पतालको परिसरमा मात्रै भूकम्पका क्रममा ३२ वटा शव अस्थायी रूपमा गाडिएको थियो । त्यसमध्ये केही शव वर्षौँपछि आफन्त खोज्दै आएपछि डीएनए परीक्षणबाट पहिचान भएका थिए । पहिचान नभएका शवहरु अहिलेसम्म पनि त्रिवि शिक्षण अस्पताल परिसरकै जमिनमुनी गाडिएका छन् । 

शव आफन्तले कसरी पाउँछन् ?

शव गाडेपछि पहिचानको बाटो समाप्त हुँदैन । भविष्यमा कसैको डीएनए परीक्षण वा अन्य प्रमाणका आधारमा पहिचान खुलेमा शव गाडिएको स्थान पहिचान गरेर उत्खनन् गर्न सकिने व्यवस्था निर्देशिकाले गरेको छ । त्यसको अर्थ डीएनए म्याच भएर पहिचान भयो र परिवारले आफ्नो धर्म–संस्कृतिअनुसार सद्गत गर्न चाहेमा उत्खनन गरेर लैजान मिल्ने गरी व्यवस्था गरिएको छ । 

शवलाई युनिक पहिचान नम्बरका आधारमा ट्र्याक गर्न सकिने गरी गाडिएको छ । आफन्त आएर दाबी गरेमा अभिलेख, अन्य प्रमाण र डीएनए परीक्षणबाट पहिचान पुष्टि गरेर पुनः उत्खनन् गरी परिवारलाई बुझाउन सकिन्छ । निर्देशिकाले भनेको छ,– यसरी राखिएको शव वा शरीरको अङ्ग वा भागको पहिचान भई हकवालालाले लिन चाहेमा त्यस्तो शव वा शरीरको अङ्ग वा भाग हस्तान्तरण गर्नुपर्नेछ । 

पहिचान नखुलेका शवको हडी वा बाँकी रहेको अङ्ग अर्को यस्ता शवहरूको पहिचानका लागि मृतकका प्रथम श्रेणीका आफन्तसँग आमा ,बुवा र छोराछोरीको रगतको डीएनए मिलान गर्नुपर्ने हुन्छ । प्रथम श्रेणीका आफन्त नरहेको खण्डमा दिदिबहिनि र दाजुभाईको डीएनए लिनुपर्ने हुन्छ । बिदेशमा रहेकाको हकमा भने उतैबाट डीएनए गरेको प्रमाणपत्र नेपाल प्रहरीलाई उपलब्ध गराउनुपर्ने हन्छ । शव र उनीहरुको डीएनए मिलेको खण्डमा मात्र प्रहरीले शव जिम्मा लगाउने छ । बिदेशीको हकमा पनि यही लागू हुनेछ । 

शव राख्नलाई माइनस दुई डिग्री सेलसियस तापक्रम चाहिन्छ । तर अहिलेको अवस्था त्यो हुन सकेको छैन । शव व्यवस्थापनको एउटा विकल्प रेफ्रिजेरेटेड अर्थात् चिस्यानयुक्त शव भण्डारण हो । अन्तर्राष्ट्रिय रेडक्रसको आईसीआरसी मापदण्डअनुसार सम्भव भएसम्म शवलाई करिब २ देखि ४ डिग्री सेल्सियस तापक्रममा रेफ्रिजेरेटेड कन्टेनर वा अन्य चिसो भण्डारणमा राख्नु उत्तम विकल्प हो । तर, यस्तो सुविधा पर्याप्त नभए सुरक्षित स्थानमा अस्थायी रूपमा गाडेर राख्न सकिन्छ । 

आईसीआरसीका अनुसार विपद्का कारण शव राख्ने सामान्य क्षमताभन्दा धेरै शव संकलन भएमा तिनलाई अस्थायी रूपमा सुरक्षित राख्नुपर्ने हुन सक्छ । अहिले राज्यसँग कोल्ड स्टोरेज वा रेफ्रिजेरेटेड कन्टेनर पर्याप्त छैनन् । त्यसैले तत्कालै पहिचान नभएका शव अस्थायी रूपमा सुरक्षित स्थानमा गाडेर राख्न थालिएको हो । अहिलेसम्म चितवन, नवलपरासी पूर्व, तनहुँ र कास्की जिल्लामा जमिन मुनी गाडेर शव ब्यवस्थापन गरिसकिएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update