News 24 Television
तातो पृथ्वी : संकटमा सहरहरु ! हिमालदेखि समुद्रसम्म जलवायू संकटमा

काठमाडौं । प्रत्येक वर्ष तातिदै गएको पृथ्वीले विश्वका शहरलाई बिस्तारै सहनै नसक्ने गर्मीतर्फ धकेलिरहेको छ । युरोपदेखि अमेरिका र दक्षिण एसियासम्म अत्याधिक गर्मीको लहरको जोखिम बढ्दैछ । नेपालमा जलवायु परिवर्तनको भयावह असर हिमाली बाढीका रूपमा देखिन थालेको छ । वैज्ञानिकहरूका अनुसार पृथ्वीको तापक्रम बढ्ने विषयले मानिस कति सुरक्षित रहने भन्ने प्रश्न गम्भिर बन्दै गइरहेको छ । 

भोलि कुनै शहर, जहाँ गर्मीबाट बच्न घरबाहिर निस्कनु नै जोखिमपूर्ण हुन्छ । सडकमा हिँड्दा शरीरको तापक्रम नियन्त्रण गर्न नसक्ने अवस्था आउँछ । राति पनि तापक्रम नघट्दा मानिसले आराम गर्न पाउँदैन । 

काम गर्न बाहिर निस्कने मजदुरका लागि केही घण्टा नै ज्यान जोखिममा पार्ने समय बन्न सक्छ । यो झट्ट सुन्दा कुनै साइन्स फिक्सन फिल्मको कथा जस्तो लाग्न सक्छ । तर तातिँदो पृथ्वीले विश्वका धेरै शहरलाई यही दिशातर्फ धकेलिरहेको छ । विश्व मौसम संगठन डब्ल्यू एम ओका अनुसार सन् २०१५ देखि २०२५ सम्मका ११ वर्ष नै रेकर्डमा सबैभन्दा तातो ११ वर्ष बनेका छन् । 

सन् २०२५ को विश्व औसत तापक्रम औद्योगिक पूर्व अवस्थाभन्दा करिब १ दशमलव ४३ डिग्री सेल्सियस माथि थियो । यसको पछिल्लो उद्धाहरण हो युरोप । सन् २०२६ को गर्मीमा युरोपले लगातार भीषण हिटवेभको सामना ग¥यो । 

युरोपका केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्यो । युरोपेली आयोगका अनुसार जुन महिनामा मात्रै करिब १० करोड मानिस ४१ डिग्री सेल्सियससम्मको तापक्रमको प्रभावमा परे । गर्मीले मानिस मात्र होइन रेल, सडक, विद्यालयदेखि अस्पतालसम्म प्रभावित भए । अझ यसमा विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा डरलाग्दो तथ्य पछिल्ला चार वर्षमै युरोपमा गर्मीका कारण २ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ । 

यही बढ्दो तापक्रमको कुरा गर्दा अमेरिकाको फिनिक्समा २०२५ मा ११० डिग्री फरेनहाइट अर्थात् करिब ४३.३ डिग्री सेल्सियसभन्दा माथि ३७ दिन तापक्रम पुग्यो । पाँच दिन त ११५ डिग्री फरेनहाइटभन्दा माथि पुग्यो । रातको तापक्रमसमेत ९० डिग्री फरेनहाइटभन्दा तल नझरेका २३ दिनहरु थिए । फिनिक्समा गर्मी यति ठूलो चुनौती बनेको छ कि शहरले छुट्टै हिट रेस्पोन्स योजना नै सञ्चालन गरिरहेको छ ।

खाडी क्षेत्रतर्फका यस्तै दृश्यको कुरा गरौँ । साउदी अरेबिया, कतार र यूएईजस्ता देशमा गर्मीको कुरा नयाँ होइन तर समस्या वर्षाैदेखि उस्तै रहेको गर्मीको स्तर र अवधि बढ्नु चाहिँ खास खतराको संकेत हो । २०२६ मा प्रकाशित एक अध्ययनले अरब प्रायद्वीपका शहरमा अर्बान थर्मल डिसकम्फोर्ट बढिरहेको देखाएको छ । त्यस्तै अर्को अध्ययनअनुसार मध्यपूर्व तथा उत्तर अफ्रिकामा २०११ देखि २०२० को तापक्रमको प्रेसर १९५१ देखि १९६० को तुलनामा उल्लेख्य बढेको छ र अत्याधिक हिट स्ट्रेसका दिन पनि थपिएका छन् । 

यस्तो संकट एसियामा पनि धेरै देखिन थालेको छ । भारत, पाकिस्तान र बंगलादेशजस्ता दक्षिण एसियाली देशका ठूला शहरहरूमा अत्यधिक गर्मी र उच्च आद्र्रताको संयोजनले जोखिम बढाइरहेको छ । 

कराँचीमा गरिएको अध्ययनले सन् २००० देखि २०२२ सम्म ३४ वटा हिटवेभको अनुभव भएको देखाएको छ । शहरका घना बस्ती र शहरी उष्ण द्वीप प्रभावले जोखिम अझ बढाएको छ । मौसममा आएको परिवर्तनले हामीले बनाएका शहरहरु समस्या पर्दैछन् र मानवकै लागि समस्या पनि बन्दैछन् । 

नेपालका लागि अहिले नै गर्मी खतरा बनिसकेको छैन । तर जलवायू परिवर्तन नेपालका लागि सबैभन्दा ठूलो खतरा हो । हाम्रो जोखिमको कारण हिमाल बनिरहेको छ । भदौँ १० गते रसुवा चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढीले हिमाली क्षेत्र कति अस्थिर बन्दै गएको छ भन्ने प्रमाण पेश गरेको छ । 

प्रारम्भिक वैज्ञानिक विश्लेषणअनुसार ठूलो आइस रक एभालान्चले नदी प्रणालीमा अचानक ठूलो पानी र भग्नावेश पठाउँदा भोटेकोशी क्षेत्रमा बाढी आएको विज्ञहरुले बताएका छन् । नदीको सतह करिब ३० मिनेटमै ९ मिटरसम्म बढेको रिपोर्ट छ । वैज्ञानिकहरूले यसलाई तातिँदो हिमालयमा बढिरहेको हिमनदीको अस्थिरतासँग जोडेर हेरिरहेका छन् । 

रसुवा बाढीले ठूलो जनधनको क्षतिसँगै नेपालको जलविद्युत् पूर्वाधारमा पनि ठूलो जोखिम देखाएको छ । बाढीकै कारण सयौँ मेगावाट क्षमताका आयोजना प्रभावित भएका छन् । रसुवाजस्तै नेपालमै यसको अर्को उदाहरण २०२४ को थामे बाढी पनि हो । एउटा ठूलो चट्टानी पहिरोले दुई हिमतालबाट अनुमानित ४ लाख ५९ हजार घनमिटर पानी अचानक बाहिर निकाल्दा थामे गाउँमा ठूलो क्षति पुगेको थियो । 

विश्वमा तात्दै गएका सहरहरु र रसुवाको पछिल्लो बाढीले पृथ्वी कतिसम्म तात्न सक्छ र हाम्रा हिमालहरु कतिसम्म अस्थिर बन्दैछन् भन्ने प्रश्न यतिबेला सबैभन्दा जटिल मोडमा छ । यस्ता विपत्तिहरुकै कारण मानिसले आफ्नो सहर, पुर्वाधार र जीवनशैली नै बदल्न ढिला भइसकेको जस्तो देखिन थालेको छ । 

पृथ्वीमा बढेको निरन्तरको तापक्रमकै कारण फिनिस्कमा रातिसमेत गर्मी घट्दैन भने युरोपमा गर्मीले हजारौँ मानिसको ज्यान लिइरहेको छ । यता मध्यपूर्वमा हिट स्ट्रेस निरन्तर बढिरहेको छ भने दक्षिण एसियाका शहरहरुमा गर्मी र आद्र्रताको जोखिम बढ्दैछ । 

नेपालमा तातिँदो हिमालय र हिमतालहरु फुट्दा आउने बाढी र पहिरोहरुले जलवायु परिवर्तन भविष्यको संकटमा सीमित छैन । जलवायू परिवर्तन अहिले नै हाम्रो गाउँशहर, हाम्रो हिमाल र हाम्रो जीवनमा प्रवेश गरिसकेको भयानक संकट हो । 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update