काठमाडौं । बाढीको विपत्ति बयान गरि साध्य छैन्। सयौंको मृत्यु र अनगिन्ति वेपत्ताहरुको खोजी चुनौतीपूर्ण स्थिति बनेको छ। वेपत्ताहरुको खोजीको लाइन अस्पतालहरुमा पनि लम्बेतान छ। शव राखिएका क्षेत्रमा आफन्तहरु पर्खिरहेका छन्। तर, विद्युत परियोजनाको टनेलमा फसेकाहरुको उद्दारमा भएको विलम्बले हाम्रो क्षमताको उजागर मात्रै गरेको छैन, नेपालले प्राविधिक ज्ञानका साथै विज्ञहरुको सहयोगका निम्ति विदेशीलाई समेत बोलाउनुपर्ने स्थिति बनेको छ।
एक्कासी आएको बाढीका कारण रसुवास्थित त्रिशुली ३ ’ए’मा फसेका मानिसको उद्दारका लागि प्रयासहरु चलिरहेका छन्। तर, कठिनाई उत्तिकै देखिन्छ। गएको बुधबार आएको बाढीका कारण टनेलमा फसेकाहरुको उद्दार सहज नहुँदा नेपालको टनेल उद्दार क्षमतामाथिका प्रश्नहरु पेचिला बनेका छन्। यस्तोमा नेपालले उद्दारका लागि भारत र चीनबाट विज्ञहरुलाई बोलाएको छ। तर, ढिला गरि नेपालले किन विज्ञलाई बोलायो ? समयमै किन नेपालले यस्तो पहल गर्न सकेन् ? प्रश्न र चासोहरु देखिन्छन्।
विपद्ले मच्चाएको वितण्डाको हिसाब एकिन गर्न सकिएको छैन्। सरकारले उद्दारका निम्ति शुक्रबार रातिदेखि नै नेपाली सेनाका ६२, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० गरी ८२ जनाको संयुक्त टोली खटाएको छ। तर, यो उद्दारको काम ढिला गरिमात्रै शुरु गरिएको छ। यस्तोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारलाई विज्ञहरु बोलाएर उद्दार गर्न सुझाव दिइरहेको छ।
फसेका मानिसहरुको उद्दारका निम्ति चीन र भारतका विज्ञहरु खटिएका छन्। उनीहरुले आफ्नो विज्ञताअनुसार काम गर्ने अपेक्षा गरिएको छ। भने अहिले सुरुङमा प्रवेश गर्नका लागि विष्फोटक पदार्थको समेत प्रयोग गर्न थालिएको छ। भित्र रहेका मानिसहरुलाई असर नपर्ने गरि उद्दारको काम तीब्र गतिमा अघि बढाइएपनि सहजता भने देखिएको छैन्। माथिल्लो त्रिशूली–३ ‘ए’ मा भोटेकोसी बाढीमा परेर ४२ जना सम्पर्कविहीन छन्।
के गर्दैछ सरकार ?
सुरुङमा फसेकाहरुको उद्दारका लागि सरकारले काम गरिरहेको जनाएको छ। सुरक्षाकर्मीहरुले निरन्तर काम गरिरहेको दाबी गर्दै परराष्ट्रमन्त्रीले विदेशी सहायताका निम्ति अघि बढेको भनेका छन्।
सरकारले बाढीबाट वेपत्ता हुनेहरुको खोजी, घाइतेहरुोक उद्दार, शव व्यवस्थापनदेखि धेरै नै काम गर्नुपर्ने हुनाले नेपालको क्षमता एक्लैले सक्ने स्थिति भने देखिन्न। यस्तोमा सरकारले आवश्यक सहयोगका निम्ति अपिल गर्न ढिलाई गर्दा थप जोखिम बढ्नेमा शंका छैन्।
टनेल रेस्क्यू र प्रश्न
नेपालमा जलविद्युत परियोजनाहरु धमाधम निर्माण भइरहेका छन्। धेरै विद्युत परियोजनाहरु टनेल प्रविधिको प्रयोग गर्दै काम गरिरहेका छन्।
यस्तोमा नेपालले टनेल रेस्क्यू प्रणालीलाई प्रविधियुक्त बनाउनैपर्ने देखिन्छ। अहिले टनेलमा फसेकाहरुको उद्दारमा देखिएको कमजोरीबाट नेपालले पाठ सिक्न समेत आवश्यक देखिन्छ। सुरक्षाकर्मीहरुले आफ्नो कष्मता विस्तारको मौका समेत प्राप्त गर्ने र सरकारले यस्तो प्रविधिमा लगानी गर्नैपर्ने देखाएको छ।
