News 24 Television
देउवा समुहले तोक्यो महाधिवेशन मिति, गगन पक्ष दबाबमा, अब के होला ?

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप उत्कर्षमा पुगेको छ । देउवा समुहले बुधबार १५ औँ महाधिवेशन मिति नै सार्वजनिक गरेपछि विवाद थप उत्कर्षमा पुगेको हो । 

कांग्रेस संस्थापनले असोजमा महाधिवेशन गर्ने तयारी गरिरहँदा इतर पक्षले मंसिरमा महाधिवेशन प्रस्ताव गरेको छ । यसले कांग्रेस मिलाप नभई विभाजनतर्फ नै अघि बढेको संकेत देखिएको छ । 

नेपाली कांग्रेस भित्रको अन्तरसंघर्ष थप रोमाञ्चक र निर्णायक मोडमा पुगेको छ । विशेष महाधिवेशनबाट चुनिएर बैधानिकता पाएको गगन थापा नेतृत्वलाई नै चुनौति दिएर इतर पक्षले १५ औँ महाधिवेशनको छुट्टै मिति नै तय गरेपछि पार्टी औपचारिक रुपमै विभाजनको बाटोमा जाने देखिएको छ । 

बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा इतर पक्षको महाधिवेसन तयारी समितिले आगामी मंसिर २१, २२ र २३ को प्रस्ताव गरेको छ । असोज १६ गतेदेखि जसरी पनि महाधिवेशन गर्ने निर्णयमा पुगेको संस्थापन पक्षलाई चुनौति दिँदै इतर पक्षले छुट्टै महाधिवेशनको मिति तय गरेपछि संस्थापन पक्ष थप संकटमा परेको छ । संस्थापन पक्षले असोज १६ देखि १९ गते महाधिवेशन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । 

इतर पक्षले डा. सशांक कोइरालालाई संयोजक तोकेको छ । कोइरालाकै संयोजकत्वमा इत पक्षले सम्मेलन आयोजना गरेको थियो । कोइरालाको अध्यक्षतामा बुधबार बसेको यो समूहको बैठकले महाधिवेसन कार्यतालिका नै सार्वजनिक गरेको हो । 

कार्यतालिकाअनुसार असोज १५ गतेदेखि महाधिवेशन प्रक्रिया शुरु हुनेछ । यद्यपी प्रस्तावित महाधिवेसन कार्यतालिकाबारे बैठक मार्फत छलफल हुँदै जाने पनि दाबी गरिएको छ । 

यस्तो छ इतर पक्षको महाधिवेसन तालिका  

–वडा अधिवेसन असोज १५ गते

–पालिका अधिवेसन असोज २० गते 

–प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेसन असोज २३ गते

–जिल्ला अधिवेसन कार्तिक १५ गते 

–प्रदेश अधिवेसन मंसिर ४ गते

–केन्द्रीय महाधिवेसन मंसिर २१, २२ र २३ गते । 

क्रियाशिल सदस्यता टुंगो कसरी  ? 

१४ औँ महाधिवेसनको हवला दिँदै महाधिवेसनमा होमिन थालेको इतर समुहले क्रियाशिल सदस्यतालाई कसरी टुंगोमा पु¥याउँछ त भन्ने प्रश्न बाँकी नै छ । यसमा वडा, पाकिका, प्रदेशसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेसन तयारी समुहले क्रियाशिल सदस्यता टुंगो लगाउने निर्णय गरिएको छ । 

असोज ९ गतेभित्र नयाँ क्रियाशिल सदस्यता दिइसक्ने यो समूहको निर्णय छ । यसअघि १४ औँ महाधिवेसनमा भाग लिएका प्रतिनिधिले अधिवेसनमा भाग लिन पाउने छन् । सदस्यताको विवाद नहोस् भन्नका लागि गत बर्ष पुष १० गतेभित्र सदस्यता नविकरण गरेका र फारम भरेकाले अधिवेसनमा भाग लिने पाउने निर्णय गरिएको छ । उता संस्थापन पक्षले पनि क्रियाशिल सदस्यता नविकरण अभियान चलाइरहेको छ । इतर पक्ष जिल्ला र स्थानीय तहमा कमजोर देखिन्छन् । यस्तो अवस्थामा कसरी हुन्छ त महाधिवेसन ? 

महाधिवेशनको तालिका तय गर्नुका साथै इतर समूहले गत भदौ १० रसुवाको विनाशकारी बाढीमा उद्धार राहतमा जुट्नेदेखि बीपी जयन्ती मनाउने निर्णय पनि गरेको छ । कांगेस इतर समूहले महाधिवेसन भब्यताका साथ सम्पन गर्ने संकल्प लिएको छ । त्यसलाई मुर्तरुप दिन केन्द्रीय प्रतिनधिले भाद्र २० गते जिल्ला पुगिसक्नुपर्नेछ । 

जिल्ला अधिवेसनको तयारी भाद्र २५ भित्र गरिसक्नुपर्ने, संघीय, र प्रदेशसभा क्षेत्रीय अधिवेसन तयारी भाद्र २८ गतेभित्र गर्ने संकल्प गरिएको छ । पालिका र वडा अधिवेसन तयारी गठन असोज ३ गते गर्न दाबी गरिएको छ । यसरी संस्थापन इतर पक्षले महाधिवेसनलाई पूर्णना दिन लागि परेको हो । 

संस्थापन पक्षले असोज १६ देखि १९ को महाधिवेशनको तयारी तीब्र पारिरहँदा छुट्टै महाधिवेशन घोषणा गरिनुले इतर पक्षले पछि नहट्ने बरु पार्टी फुटाउने रणनीतिमा रहेको स्पष्ट देखिन्छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update