काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा सम्बोधन गरेका छन्। भोटेकोशी बाढीपछि रास्वपा सभापति रविले संसदमा सम्बोधन गर्दै पीडितको पक्षमा उभिन, राजनीतिक सहमतिका साथ अघि बढ्न र देशका निम्ति संवेदनशील बन्न अपिल गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा सम्बोधन गर्दै पीडितलाई होच्याएर बोल्नेप्रति सरकार निर्मम बन्नुपर्नेमा जोड दिए। बाढीबाट आफन्त गुमाएकाहरुमाथि भएको साइबर बुलिङ निकृष्ठ काम भन्दै रविले सरकारलाई निर्ममतापूर्वक कारबाही गर्न अपिल गरेका हुन् ।
संसदको रोष्टममा उभिएका रविले भारी मन बनेको भन्दै बाढी पीडितको पीडामा मल्हम लगाउन जान मन लागेको भएपनि जिम्मेवारी निभाउनुपर्ने भन्दै आफू काठमाडौंंमै रहेको जिकिर गरे। पीडितलाई बजारीकरण गर्ने, होच्याउने जस्ता काममा असन्तुष्टी जनाएका रविले आफ्नै पार्टीका नेता कार्यकर्तालाई समेत चेतावनीपूर्वक रास्वपालाई अन्ध समर्थक नचाहिएको समेत भनेका छन्।
संसदमा सम्बोधनको क्रममा रास्वपा सभापति रविले सर्वदलीय संसदीय विशेष समितिको प्रस्ताव समेत गरेका छन्। जलवायु विपत्तिको घोषणासहित अघि बढ्ने समय आएको रविको भनाई छ।
विपत्तिमा विपक्षी दलहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै रविले सहकार्यको रजानीतिमा जोड दिनुपर्ने बनेका छन्। तर, विपद्को बेला राजनीतिक रोटी सेक्नेभन्दा पनि सहकार्यमै अघि बढ्नुपर्नेमा रविको जोड छ ।
सकारले केहि गरेन भन्ने प्रश्नलाई रविले राज्यसंगको अपेक्षा भन्दै राज्य नागरिकको प्राण खोज्ने काममा नै व्यस्त बनेको सन्दर्भ उल्लेख गरेका छन्। रविले सिमित स्रोत साधनकाबीच पनि काम गरिरहेको भनेका हुन् ।
जलवायु न्यायको ढोका ढकढक्याउने भनेका रविले विपद्मा सहयोगी राष्ट्रहरुले देखाएको सदासयतामाथि समेत कृतज्ञता व्यक्त गरेका छन्। जिम्मेवार शैलीमा पेश भएका रविले विपद्मा आएको सहयोगलाई आपसी सम्बन्धको रुपमा समेत अथ्र्याए।
उसोतः संसदको सम्बोधनमा रविले कर्मचारी, सुरक्षाकर्मी, निजी क्षेत्र लगायतले गरेको कामको सराहना गर्दै हातेमालो र सहकार्यले नयाँ ढोका खोल्नेमा समेत आशा व्यक्त गरे ।
यस्तै, सभापति रविले प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महसभामा भाग लिन जान लागेको विषयमा समेत संसदलाई जानकारी गराएका छन्।
रविले संसदमा गरेको सम्बोधनको समयमा प्रधानमन्त्री वालेन्द्र शाह समेत उपस्थित भएका थिए। नेपालले ठूला धक्का खाएर पनि उठेको भनेका रविले सहकार्य, आन्तरिक एकता र सर्वदलीय, सर्वपक्षीय संयन्त्रबाट नै अघि बढ्नुपर्नेमा जोड समेत दिए ।


