काठमाडौं । व्याप्त भ्रष्टाचार, कुशासन र नेतातन्त्रविरुद्धको आक्रोश गएको भदौ २३ गते सडकमार्फत पोखियो। भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलन सांझसम्म पुग्दा हिंसामा परिणत भइसकेको थियो।
प्रहरीको गोली लागेर ज्यान गुम्नेक्रम चलिरहेको थियो। यसले सरकारविरुद्धको आक्रोश मात्रै बढाएको थिएन, २४ गतेको विध्वंशलाई समेत निमन्त्रणा दिएको थियो ।
भ्रष्टचार, कुशासन र वेथितिविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै केहि युवाहरुले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिए। त्यसपछि आन्दोलनका लागि प्रशासनले काठमाडौंको माइतिघर क्षेत्रमा स्थान छुट्यायो।
माइतिघरमा चलेको शान्तिपुर्ण आन्दोलन विस्तारै बानेश्वरतर्फ लम्किन थाल्यो। त्यो आन्दोलनले प्रहरीको ब्यारिकेड तोड्दै जब बानेश्वर प्रवेश ग¥यो, त्यसपछि शुरु हुन्छ, सत्ता पलटको खेल। अब जेनजी आन्दोलनपछिका १० महत्वपूर्ण विषयलाई समयरेखामा हेरौं ।
१. भदौ २३ गते
जेनजी पुस्ताले आयोजना गरेको शान्तिपुर्ण आन्दोलन माइतिघरमा चल्यो। विहानदेखि चलेको आन्दोलनमा भ्रष्टचार नियन्त्रण, वेथिति अन्त्य, कुशासनको अन्त्य र नेपोकिडले प्राप्त गर्ने राज्य कोषमाथिको पकड गुम्नुपर्ने भनिएको थियो।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयले पनि आक्रोश थप्यो। यसलाई अभिव्कय्ति स्वतन्त्रतासंग जोडेपछिको स्थिति थप भयावह बन्दै गएको थियो । विस्तारै यो आन्दोलनमाइतिघरबाट नयाँ वानेश्वरतर्फ लाग्यो। संसद भवनसम्म पुग्ने गरि हिडेको आन्दोलन नै सत्ता पलटको प्रस्थान विन्दु बन्न पुग्यो । यता, सरकारले शुरुमा कम बल प्रयोग गर्ने भनेपनि नयाँ वानेश्वर पुगेपछि आन्दोलनकारीहरुले संसद भवन छिर्ने प्रयास गरे। आगजणी शुरु भए। त्यसपछि प्रहरीको गोलीबाट मृत्यु हुनेक्रम शुरु भयो।
२. भदौं २३ कै राति के भयो ?
भदौ २३ कै राति सरकारले सामाजिक सञ्जालना लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय ग¥यो । युवाहरुले ज्यान गुमाइसकेका थिए। स्कुले ड्रेसमा पुगेका विद्यार्थीहरु गोली लागेर मृत्यु वरण गरे। अस्पतालहरुमा गोलीबाट घाइते बनेकाहरु थपिनेक्रम बढेको थियो । सरकार नेपाली कांग्रेस र नेकपा एमालेको थियो। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए । तर, सरकारमा कांग्रेसले साथ नछोड्दा केपी ओली नेतृत्वको सरकारमाथिको आक्रोश यति बढेको थियो कि, सम्हाल्न सकिने स्थिति नै बन्न सकेको थिएन् ।
३. भदौ २४
भदौ २४ गते विहान १० बजेसम्म कफ्र्यू आदेशका कारण खास प्रभाव देखिएको थिएन्। तर, विस्तारै स्कुले विद्यार्थीको मृत्युका कारण सडकमा आक्रोश बढिरहेको थियो। सडकमा भीड जम्मा हुदै थियो। त्यो भीड स्कुले विद्यार्थी मारिएको आक्रोशका कारण अशान्त बन्दै थियो। सडकका गल्लीदेखि धेरै स्थानमा आगो बाल्ने, नारा जुलुस गर्ने काम चलिरहेको थियो। योक्रम यति छिटो फैलियो कि ११ बजेसम्म धेरै स्थानमा आगो शुरु भइरहेको थियो।
सिंहदरबार, सर्वोच्च अदालत, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति निवास जस्ता क्षेत्रहरुमा आगो बल्न थालिसकेको थियो। देशभर नै योक्रम बढेको थियो। निजी क्षेत्रमा समेत आगोको मुस्लो ह्वात्तै बढेको थियो। त्यसपछि प्रधानमन्त्रीबाट केपी ओलीले राजीनामा नै दिएर उनलाई नेपाली सेनाले हेलिकोप्टरमा सुरक्षित स्थानमा पु¥याएको थियो।
४. भदौ २४ देखि ५ दिन सरकारबिहीनताको स्थिति
भदौ २४ गते प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएपछि ५ दिन सरकारबिहीनताको स्थिति बन्यो । सबै कुराहरु नेपाली सेनाको मुख्यालयबाट समन्वय चलिरहेको थियो। सेनाले राजावादी शक्तिदेखि जेनजी अगुवाहरुसंग सल्लाह गर्दै थियो।
केहि जेनजी अगुवाहरुले नेपाली सेनासंग प्रजातन्त्रको कुरा गरेपछि बल्ल राष्ट्रपतिसंगको सम्वाद अघि बढेको समेत दाबी गर्ने गरेका छन्। त्यसपछि सेनाले तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने प्रयास गरेको थियो भने भदौ २४ गते नै देशभरका जेल ब्रेक गर्नेक्रम शुरु भएको थियो। यहिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि जेल ब्रेक गरेका थिए। यो विषय विवादास्पद बनेपनि उनी पुनः जेल फर्किएको दृश्य समेत धेरै पुरानो भइसकेको छैन्।
५. अन्तरिम सरकार गठन
भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरे। कार्कीले आफू प्रधानमन्त्री नियुक्त भएसंगै संसद विगटन गरेकी थिइन्। यो मुद्दा सर्वोच्च पुगेपनि अहिलेसम्म विचाराधीन अवस्थामै छ।
कार्कीको नियुक्तिमै फागुन २१ मा निर्वाचन गराउने सर्तसहित अघि बढाइएको थियो भने त्यो बेला प्रधानमन्त्री छान्न जेनजीहरुले डिस्कर्डमा मतदान गरेको समेत भनिएको थियो। वालेन्द्रले नमानेपछि कार्की प्रधानमन्त्री बनेकी थिइन्।
६. प्रधानमन्त्री कार्यालयको सकस
शुशीला कार्की प्रधानमन्त्री बनेपछि जेनजीका विभिन्न संगठनहरुसंग सम्झौता गरिन्। उनले गरेका सम्झौताहरु अहिले पनि का्रयान्वयन नभएको भन्दै त्यो बेला अघि सरेका अनुहारहरुले गुनासो गर्ने गरेका छन्। तर, कार्कीले निर्वाचन सम्पन्न गराउने भूमिकाका निम्ति काम गरिन्। निर्वाचन सम्पन्न गराएर उनी सरकारबाट बिदा समेत भइन्।
निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसलाई ल्याउने सकस भने देखिएको थियो। तर, आन्तरिक राजनीतिमा आएको बदलावका कारण कांग्रेस पनि निर्वाचनमा जाने स्थिति बनेपछि एमाले बाध्यात्मक बन्न पुगेको थियो।
७. वालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश
काठमाडौं महानगरपालिकाको मेयरबाट बाहिरिएर वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसंग ७ बुँदे सहमति गरेका थिए। अदालतको आदेशबाट रवि लामिछाने रिहा भएसंगै वालेन्द्रसंग गरेको सम्झौतामै वालेन्द्रलाई वरिष्ठ नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार भनिएकाले पनि रास्वपा नै जेनजी आन्दोलनको हिस्सेदार बन्ने स्थिति बन्दै गयो। र निर्वाचनमा होमिदा यसको परिस्थिति नै फेरियो ।
८. फागुन २१ को निर्वाचन
फागुन २१ को निर्वाचनमा रास्वपाले १८२ सिटमा जित हात पा¥यो। दुई तिहाईका लागि २ सिट कम भएपनि रास्वपाले प्राप्त गरेको जित अभूतपूर्व नै थियो। त्यसपछि वालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो समेत खुला भयो। रास्वपाभित्र केहिदिन अलमल देखिएपनि प्राप्त जनमतको कदर नगर्दा समस्या देखिने स्थितिकाबीच वालेन्द्र शाहले चैत्र १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। चर्को निराशा, तीब्र आकांक्षा र आक्रोशको भुङ्ग्रोबाट अघि बढेको नेपाली समाजलाई शान्त पार्दै लयमा लैजाने गरि आएका वालेन्द्र शाहले अहिले आफ्नो कार्यकाल चलाइरहेका छन्।
९. शैलीका कारण विवाद
प्रधानमन्त्री बनेपछि संसदमा समेत खास वास्ता नगर्दा प्रधानमन्त्री वालेन्द्र शाह विवादमा पर्ने गरेका छन्। बजेट निर्माणदेखि अन्य विषयमा समेत रास्वपाकै नेता तथा सांसदहरुले विरोध जनाउने गरेका बेला संसदमा उनले नेपाल–भारत सीमा विवादबारे बोल्दा समेत ठूलो आलोचना भोगे। पार्टीको विधानमा सभापति रवि लामिछानेलाई सर्वशक्तिमान बनाउने विषयदेखि अन्य विषयले विवाद सिर्जना गरेपनि वालेन्द्रले आफ्नो शैलीमै सरकार सञ्चालन गरिरहेका छन्। तर, शक्ति राष्ट्रहरुले वालेन्द्रभन्दा रवि लामिछानेलाई नै च्याप्न थालेको देखिन्छ। भारतमा उच्च सम्मान प्राप्त गरेका रविलाई चीनले समेत रेड कार्पेट विछ्याउने तयारी गरिरहेको छ। भने अमेरिकी विदेशमन्त्री मार्को रुबियोले समेत रविलाई नै सम्पर्क गरिरहेका छन्। कुनैबेला अमेरिकामा सामान्य स्टोरमा काम गरेका रविले राजनीतिक शक्ति आर्जनमार्फत आफू पार्टीको नेतृत्वमा हुँदा समेत सरकारभन्दा धेरै अटेन्सन प्राप्त गरेकाले पनि जेनजी आन्दोलनपछिको पदचापलाई वालेन्द्रभन्दा रविले नै आत्मसाथ गर्दै लग्न थालेको भान हुन थालेको छ।
१०. भिषण बाढी
भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण नेपालले ठूलो क्षति व्यहोर्न पुग्यो। यो बाढीका कारण सरकारविरुद्ध भइरहेका भूराजनीतिक चलखेल तत्काललाई शान्त बन्ने स्थिति बन्यो। प्रधानमन्त्री वालेन्द्र शाहले अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्ने र फर्किने तयारी गरेको बताइन्छ। तर, उनले विश्वकै नजरमा नेपाल परेको बेला शक्ति आर्जन र नेपाललाई विश्वव्यापी रुपमा एक्सपोज गराउने अवसरका बेला समेत मौनता नै साँध्ने त होइनन भन्ने शंका बढेको छ। जेनजी आन्दोलनबाट एक वर्षकैबीचमा आएका यी सबै फेरबदलमा वालेन्द्र शाहको सामाजिक सञ्लालका पोस्टहरुले ठूलो भूमिका खेल्दै आए। तर, उनी औपचारिक सम्बोधन वा अन्य विषयभन्दा पनि मौनतामै बस्ने र शक्तिअभ्यासमा पनि कताकता हराउने गर्नाले उनको शासनकाल कस्तो बन्ला ? जेनजी आन्दोलनदेखि आजसम्म देखिएका र देखाइएका सपना पुरा होलान ? प्रश्न, चासो र आक्रोश उत्तिकै देखिन थालेका छन्। दैनिक उपभोग्य बस्तुको अभाव, विभिन्न प्रकरणमा चलिरहेका विवाद र सचिवालयको हस्तक्षेप कतै ओली सरकारको बेला भनिएका जस्ता यति, ओम्नी, एनसेल वा अन्य प्रकरणकै जस्तो प्रारुप त बन्दैन? सरकारले सोच्नैपर्ने बेला आएको छ।
जेनजी आन्दोलनबारे बनेको आयोगको प्रतिवेदन कार्यान्वयन, सुरक्षा निकायको हकमा भन्दै फेरि गठन गरिएको आयोगको प्रतिवेदन नै बुझ्न सरकारले गरिरहेको आनाकानी नै गलपासो त बन्दैन? पुराना दल र नेताहरुले नै गर्ने गरेका व्यवहार दोहोरिदा फेरि आक्रोश यसरी नै व्यक्त हुने त होइन ? तमाम विषयहरु छताछुल्ल बनेका छन्। तर, सरकारको कोर्टमै बल रहेकाले गोल कसरी गर्ने भन्ने निर्णय पनि वालेन्द्र शाहकै हुनेछ।


