News 24 Television
वालेन्द्र शाह सरकारका को मन्त्री विवादमा ? राजीनामा नै तीन कसरी ?

काठमाडौं । सरकारका मन्त्रीहरु विवादमा परिरहेका छन् । कानूनमन्त्रीदेखि गृहमन्त्रीसमेत विवादमा पर्दै गर्दा उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा नै दिएकी छन् । किन मन्त्रीहरु यसरी विवादमा तानिदैछन ? 

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहका मन्त्रिपरिषद्का सदस्यहरु विवादमा तानिदै आएका छन् । 

सरकार बनेको छोटो समयमै दीपक साहले पदबाट राजीनामा दिन लगाउने स्थिति बनेको थियो भने गृहमन्त्री सुधन गुरुङले पनि राजीनामा दिएर पुनः मन्त्री नियुक्त भएका थिए । यसरी हेर्दा वालेन्द्र सरकारका मन्त्रीहरु जो विवादमा आए, उनीहरु किन यस्तो विवादमा तानिदैछन ?

१. सुधन गुरुङ

गृहमन्त्री सुधन गुरुङ अघिल्लो समय विवादास्पद सेयर कारोबारदेखि अन्य व्यापारीहरुसंगको कनेक्सन आरोपका कारण पदबाट राजीनामा दिएका थिए। तर, उनलाई फेरि गृहमन्त्रीमा नै फर्काइएको थियो। 

यसरी गृहमन्त्रीमा फर्किएका सुधन फेरि विवादमा तानिएका छन्। गृहमन्त्री सुधन गुरुङले पत्रकारलाई सुध्रिन चेतावनी दिएपछि यो विवादले उग्र रुप लिएको छ । जसमा उनले पत्रकारलाई कडा शब्दमा चेतावनी दिदै सुध्रिन भनिरहेका छन् ।

धेरै पत्रकार राम्रो रहेपनि कहि खराब रहेको भन्दै सुधनले आक्रोश पोखेका थिए । यो अभिव्यक्ति पछिल्लो समय विवादमा तानिएको छ । 

२. सोविता गौतम

कानूनमन्त्री सोविता गौतमले राष्ट्रियसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको भन्दै कानून निर्माणमा बाधा पुगेको दाबी गरेकी थिइन् । त्यसपछि कानूनमन्त्रीलाई सांसदहरुले प्रश्न गर्दै कानून निर्माणमा राष्ट्रियसभाले कहिले बाधा पु¥यायो भन्दै प्रश्न गरेका छन्। 

उनीहरुले कानूनमन्त्रीलाई रास्वपाले कारबाही गर्नुपर्ने भनिरहेका छन् । कि कुन कानून निर्मणमा बाधा पुग्यो, त्यो भन्न चुनौती दिइरहेका छन् । यसकारण कानूनमन्त्री सोविता गौतम विवादमा तानिएकी हुन् । 

३. गौरीकुमारी यादव

ग्यास व्यवसायीमाथि सार्वजनिक रुपमै आक्रोश पोख्दा उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट नै राजीनामा दिने स्थिति बनेको छ । 

उद्योगमन्त्री यादवले उद्योगीकै कारण ग्यास अभाव भएको भन्दै लाइसेन्स खारेजी गर्नेदेखि कर्मचारीमाथि समेत आक्रोश पोखेकी थिइन् । त्यसपछि ग्यास उद्योग व्यवसायीहरुले विरोध चर्को पार्दै लगेका थिए । यस्तो विवादका कारण उनले राजीनामा नै दिने स्थिति बन्यो । 

४. सुनिल लम्साल

अनुगमनको क्रममा कडा अभिव्यक्ति दिने गरेका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल पनि विवादमा आइरहन्छन्। ठेकेदारमाथिको आक्रोशमा अनियन्त्रित बन्दा उनी आलोचनाको शिकार बन्ने गरेका छन्। तर, उनी विवादमा परेपनि सार्वजनिक रुपमा वा अन्य फोरमको सामना विरलै गर्ने गरेका कारण अन्य विवादमा भने तानिएको देखिन्न। 

५. डा. स्वर्णिम वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि बजेट निर्माणको क्रममा विवादमा परेका थिए। समता करको रुपमा शिक्षा र स्वास्थ्यमा लगाएको कर नै प्रधानमन्त्री वालेन्द्र शाहले खारेज गर्ने घोषणा गर्दै कार्यान्वयनमा लगेका छन्। 

विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटमा रास्वपाकै सांसदहरुले प्रश्न उठाइरहने गरेका छन भने प्रधानमन्त्री शाहसंगको केहि टकरावका कारण समेत विवादमा आउने गरेका छन् । 

६. दीपक साह

श्रममन्त्री बनेको छोटो समयमै मन्त्री दीपक साहलाई फिर्ता बोलाउन रास्वपाले पत्र नै पठाएको थियो। आफु मन्त्री हुँदा श्रीमतिलाई स्वास्थ्य बीमा बोर्डमा ल्याएको भन्दै चलेको विवादमा उनले दिएको विवादास्पद अभिव्यक्तिका कारण उनको मन्त्री पद गुमेको थियो ।

१७ सदस्यीय मन्त्रिपरिषद्का तीन मन्त्रीले राजीनामा नै दिएका छन भने राजीनामा दिएका सुधन फेरि गृहमन्त्रीमै फर्किएका छन्। उसोतः प्रधानमन्त्री वालेन्द्र शाहमाथि पनि सीमा विवादमा आलोचना र विरोध नभएको होइन्। 

संसद नै लामो समय अवरुद्ध बन्ने स्थिति बनेको थियो। तर, सरकार निर्माणको छोटो समयमै मन्त्रीहरु विवादमा तानिदा र उनीहरुको कार्यसम्पादनमा त्रुटी देखिदा सरकार र प्रधानमन्त्रीमाथि नै प्रश्न उठ्ने भएकाले पनि यस्ता विषयका चासोहरु बढ्ने गरेको देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update