News 24 Television
वालेन्द्रको अमेरिका भ्रमण स्वीकृत, नेपाल–भारतबारे यस्तो निर्णय ?

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोगमा रिक्त अध्यक्ष र सदस्य पदमा समेत नियुक्त गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको असोज ६ देखि १० सम्मको अमेरिका भ्रमण स्वीकृत गरेको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको ८१ औं महासभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। उनले जलवायु परिवर्तन र यसको असरबारे सम्बोधन गर्ने भनिएको छ । 

यस्तै, मन्त्री परिषद् बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साललाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । 

अन्य निर्णय के छन् ?

– अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी अपराध नियन्त्रणका लागि नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने 

– काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहका १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूचीसमेत स्वीकृत गर्ने

– सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने

– सहसचिव उत्तरकुमार खत्रीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने

–नेपाल–इन्डिया इन्टरगभर्मेन्टल सबकमिटी आईजिएससीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने

 

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update