News 24 Television
नेपाल–चीन सहकार्यमा नयाँ क्षितिज, हिमाली विपदमा हातेमालो

काठमाडौं । नेपाल चीन सम्बन्धलाई थप व्यावहारिक र बहुआयामिक बनाउने विषयमा काठमाडौँमा काष्ठमण्डप संवादको तेस्रो श्रृंखला सुरु भएको छ । संवादमा हिमाली वातावरण, प्राकृतिक विपद्, सीमापार सहकार्य, बीआरआई, व्यापार, पूर्वाधार र प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिँदै दुवै देशबीच सहकार्य विस्तारमा जोड दिइएको छ । 

शनिवारदेखि काठमाडौँमा नेपाल–चीन सम्बन्ध, क्षेत्रीय सुरक्षा, वातावरणीय चुनौती र द्विपक्षीय सहकार्यका विविध आयामबारे छलफल गर्ने उद्देश्यले काष्ठमण्डप संवादको तेस्रो श्रृंखला शुरु भएको छ । 

नेपाल चीन सम्बन्धः सहकार्यका क्षितिजहरुको विस्तार विषयक संवादको आयोजना फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसियालिजमले गरेको संवाद कार्यक्रममा दुवै देशका मन्त्री, कूटनीतिज्ञ, शीर्ष राजनीतिज्ञ तथा विषयविज्ञहरूले आपसी हित, आर्थिक विकास र बहुआयामिक सहकार्य सुदृढ बनाउने विषयमा आ–आफ्ना विचार प्रस्तुत गरेका छन् । 

कार्यक्रममा सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय परिवर्तन तथा प्राकृतिक विपद् कुनै एक मुलुकको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताए । 

हालै भोटेकोशी क्षेत्रमा आएको विपद्पश्चात् चीन सरकार र चिनियाँ जनताले पु¥याएको मानवीय सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्री खनालले परम्परागत सीमा व्यवस्थापनसँगै पारिस्थितिक सीमा व्यवस्थापनको अवधारणालाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए । 

परराष्ट्रमन्त्री खनालले नेपाल एक चीन नीतिप्रति पूर्ण दृढ रहेको दोहो¥याउँदै नेपाली भूभाग चीनको वैध सुरक्षा हितविपरीत प्रयोग हुन नदिने स्पष्ट स्पष्ट पारे । 

सन् २०१९ मा कायम भएको रणनीतिक साझेदारीलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्दै सीमापार कनेक्टिभिटी, सहज व्यापार, प्रविधि हस्तान्तरण, र नवप्रवर्तनमा सहकार्य बढाउनुपर्ने उनको भनाइ छ । 

यसैगरी, पूर्वप्रधानमन्त्री झलनाथ खनालले हिमाली क्षेत्रमा देखिँदै आएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्लाई नेपालको आन्तरिक समस्या मात्रका रूपमा हेर्न नहुने उल्लेख गर्दै नेपाल र चीनबीचको सम्बन्ध सदियौँदेखि समस्यारहित, विश्वासिलो र प्रगाढ रहँदै आएको बताए ।

दुई देशबीच तय गरिएका रणनीतिक तथा आर्थिक साझेदारीका आयोजनाहरूलाई द्रुत गतिमा कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ । विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका पूर्वाधार विकास, सडक तथा रेल सञ्जालको विस्तार र सीमावर्ती व्यापारिक नाकाहरूको आधुनिक स्तरोन्नति नेपालको आर्थिक समृद्धिका लागि अत्यावश्यक रहेको खनालले बताए । 

कार्यक्रममा चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताए । 

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम कुनै देशको सीमाभित्र मात्र सिमित नरहने भन्दै विपद् व्यवस्थापनमा क्षेत्रीय तथा सीमापार सहकार्य आवश्यक रहेकोमा राजदुत माओमिङले जोड दिए । चिनियाँ राष्ट्रपति सी जिनफिङको भनाइ उद्धृत गर्दै उनले कुनैपनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना कुनै मुलुकले एक्लैले गर्न नसक्ने बताए । 

नेपालको सार्वभौमिकता, स्वतन्त्रता र आर्थिक विकासका प्रयासहरूमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । बीआरआई परियोजनाहरूको कार्यान्वयन, सीमापार पूर्वाधार निर्माण, व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण तथा विपद् व्यवस्थापनमा चीन नेपालसँग मिलेर काम गर्न सधैँ तत्पर रहेको राजदूत माओमिङले बताए । 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  ०९:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update