काठमाडौँ । नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा ‘२०२६ PMGO साउथ एसिया फाइनल्स’ काठमाडौँमा आयोजना हुने भएको छ। भदौ ३१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्ड हलमा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो।
यस प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ रहेको छ। यस प्रतियोगिताले नेपालमा पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको गेमिङ तथा ई-स्पोर्ट्सप्रतिको आकर्षणलाई थप ऊर्जा र उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगितालाई थप रोमाञ्चक बनाउन दर्शक तथा सहभागीहरूका लागि ‘एक्स्ट्रिम फन एन्ड एक्सपेरियन्स जोन’, ‘वाच पार्टी जोन’, ‘एक्स्ट्रिम गेमिङ च्यालेन्ज’ तथा ‘एक्स्ट्रिम फोटो र कन्टेन्ट जोन’ सञ्चालन गरिनेछ। उक्त क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, फोटो खिच्ने अवसर र तत्काल उपहार वितरण जस्ता कार्यक्रमहरू समावेश गरिएका छन्।
चार दिनसम्म सञ्चालन हुने यस बृहत् प्रतियोगिताले केवल गेमिङ प्रतिस्पर्धा मात्र नभई दर्शकहरूलाई मनोरञ्जन र नयाँ अनुभवको अवसर दिँदै नेपालमा ई-स्पोर्ट्स संस्कृतिलाई थप उँचाइमा पुर्याउने विश्वास आयोजकले लिएको छ।




