News 24 Television
देशैभरका स्थानीय जनप्रतिनिधिको मुस्ताङमा जमघट

मुस्ताङ । भदौ १० गतेको तिब्बततर्फबाट भोटेकोशीमा आएको आकस्मिक बाढीले सबैलाई झस्काएको छ । यो बाढीले ठूलो धनजनको क्षति भयो । बाढीमा परेर अझै ५ हजार बढी नागरिक बेपत्ता छन् । खर्बौंको भौतिक संरचना क्षति भएका छन् । 

जलवायु परिवर्तनको प्रभावले प्राकृतिक विपद् निम्तिएपछि यतिबेला स्थानीय तहले सक्रियता देखिएका छन् । हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘जलवायु परिवर्तन सम्मेलन–२०८३’ आयोजना गरि विश्व समुदायलाई झक्झक्याउन  खोजेको हो ।  

विश्वका शक्ति राष्ट्रहरुले उत्सर्जन गर्ने हरित ग्यासका कारण विश्व तापमान बढ्दै गएर हिमालहरु पक्लिँदै गएका छन् । ठूला राष्ट्रहरुले उत्पन्न गरेको हरित ग्यास उत्सर्जनका कारण ग्यास उत्सर्जनमा भूमिका नभएका कम विकसित राष्ट्रहरुले प्राकृतिक विपद् भोग्नु परिरहेको छ । जलवायु परिवर्तनकै कारण गत भदौ १० गते भोटेकोशी र त्रिशुलीमा आएको आकस्मिक बाढीले ठूलो क्षति पु¥यायो । 

त्यसैले विश्व समुदायको ध्यान आकर्षित गर्नकै लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना गरेको छ । 

सम्मेलनमा देशैभरका स्थानीय तहका जनप्रतिनिधि सहभागी छन् । घरपझोङ गाउँपालिकाले देशैभरका ७५३ स्थानीय तहलाई सम्मेलनमा सहभागिताका लागि पत्राचार गरेकोमा मंगलबारसम्म ४२१ स्थानीय तहका प्रमुखको सहभागिता रहेको छ । 

त्यस्तै, ७७ जिल्ला समन्वय समितिलाई पत्राचार गरिएकोमा ४१ जिल्लाबाट प्रतिनिधित्व भएको छ । सम्मेलनको उद्घाटन गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले ‘जलवायु परिवर्तन किन र यसको असर न्यूनीकरणका लागि स्थानीय तहको साझा बहस आवश्यक रहेको बताइन् । उनले सबै पालिकाको आवाजलाई एकीकृत गरेर बलियो आवाजका रूपमा अघि बढाउन सम्मेलन महत्वपूर्ण हुने विश्वास ब्यक्त गरिन् ।  

जलवायु परिवर्तनका कारण सबैभन्दा बढी प्रभावित हिमाली क्षेत्रको समस्या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बलियो ढंगले उठाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो  । जलवायु परिवर्तनका कारण मुस्ताङसहित हिमाली क्षेत्रमा मौसमको चक्रमै परिवर्तन देखिन थालेको छ । विगतमा जाडोयाममा पर्ने हिउँ पछिल्ला वर्षमा चैत–बैशाखतिर पर्न थालेको, तापक्रममा परिवर्तन आएको तथा हिमाली क्षेत्रमा जलवायुजन्य जोखिम बढ्दै गएको छ । 

जलवायु परिवर्तनको असरबारे सम्मेलन आयोजना गर्ने तयारी भइरहेका बेला भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसले निम्त्याएको क्षतिले सम्मेलनको सान्दर्भिकता झनै पुष्टि गरेको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको भनाइ छ ।

सम्मेलनमा स्थानीय तहले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, अनुकूलनका प्रयास, विपद् जोखिम न्यूनीकरण तथा हिमाली क्षेत्रमा देखिएका वातावरणीय परिवर्तनबारे छलफल हुनेछन् । सम्मेलनमा देशभरका स्थानीय तहका प्रमुखसहित जिल्ला समन्वय समितिका पदाधिकारी, सम्बन्धित सरकारी निकाय तथा विज्ञहरूको सहभागिता रहेको छ ।  

स्थानीय तहबाट उठेका जलवायुजन्य समस्या र समाधानका उपायलाई एकीकृत गरी आगामी दिनमा नीतिगत तहमा लैजाने सम्मेलनको उद्देश्य रहेको छ । 

घरपझोङ गाउँपालिकाले गत वर्ष नै जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने तयारी गरेको थियो । तर तत्कालीन ‘जेनजी’ आन्दोलनका कारण सम्मेलन स्थगित भएको थियो । स्थगित भएको सम्मेलनलाई यस वर्ष पुनः आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । 

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रत्यक्ष असर बढ्दै गएको अवस्थामा मुस्ताङबाट देशभरका स्थानीय तहलाई एउटै मञ्चमा ल्याएर जलवायु संकटबारे साझा धारणा निर्माण गर्न सम्मेलन आयोजना गरिएको हो । सम्मेलनले हिमाली क्षेत्रले भोगिरहेका जलवायुजन्य समस्या राष्ट्रिय बहसको केन्द्रमा ल्याउने अपेक्षा गरिएको छ ।

मुस्ताङमा भएको जलवायु सम्मेलनले मुस्ताङ मात्र नभई देशभरकै आवाजलाई बुलन्द बनाउने प्रयास गरिएको हो । सम्मेलनको सन्देश देशमा मात्र नभएर विश्व समुदायलाई पनि दिन खोजिएको हो । मुस्ताङ घोषणापत्र जारी गर्दै बुधबार सकिने सम्मेलनले विश्व समुदायलाई झकझकाउने विश्वास  लिइएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update