काठमाडौँ । ऊर्जा पेय (एनर्जी ड्रिंक) 'रेड बुल'को मातृ कम्पनी टीसीपी ग्रुपले नेपालका बाढी तथा पहिरो प्रभावितहरूका लागि १० लाख थाई भाट (सहयोग रकम) प्रदान गरेको छ। नेपालमा रेड बुलको संयुक्त उद्यम साझेदार 'सारस बेभरेजेज'सँगको सहकार्यमा टीसीपी ग्रुपले थाई रेडक्रस सोसाइटीमार्फत नेपाल रेडक्रस सोसाइटीलाई सो राहत रकम हस्तान्तरण गरेको हो।
नेपालमा स्थानीय रूपमै रेड बुल उत्पादन तथा बिक्री गर्दै आएको सारस बेभरेजेजमार्फत टीसीपी ग्रुपले लामो समयदेखि आफ्नो लगानी, उत्पादन र रोजगारीमा योगदान दिँदै आएको छ। विपद्को यस घडीमा उपलब्ध गराइएको सहयोगले नेपाली बजार र समुदायप्रतिको दायित्वलाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ।
टीसीपी ग्रुपका अन्तर्राष्ट्रिय व्यापार निर्देशक आन्द्रास डोनाउर र कर्पोरेट मामिला निर्देशक अर्जारी सुवाङ्गुलले थाई रेडक्रस सोसाइटीका कोष सङ्कलन ब्युरोका निर्देशक खान प्रचुआबमोह र उप-निर्देशक जनप्रपा विचित्रचोलचाइलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको थियो। सो रकम नेपालका प्रभावित क्षेत्रमा राहत तथा पुनस्थापनाका लागि प्रयोग गरिनेछ।


