काठमाडौँ । ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित ‘तपाईंको बजार’ले राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ । तपाईंको बजार र भेट्रा मोटर्स प्रालिको सहकार्यमा सार्वजनिक गरिएको स्कुटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।
कम्पनीका अनुसार राइड सेयरिङमा आबद्ध व्यक्तिलाई सवारीसाधन भाडामा उपलब्ध गराउनेभन्दा पनि आफ्नै स्कुटरको मालिक बनाउने उद्देश्यले योजना ल्याइएको हो । योजनाअन्तर्गत राइडरले शून्य डाउनपेमेन्टमा स्कुटर खरिद गर्न सक्नेछन् । दैनिक आम्दानीबाट किस्ता तिर्दै अन्ततः स्कुटरको स्वामित्व लिन सकिने कम्पनीको दाबी छ ।
हाल राइड सेयरिङका लागि बजारमा दैनिक ८ सयदेखि १ हजार रुपैयाँसम्ममा बाइक तथा स्कुटर भाडामा उपलब्ध हुने गरेको अवस्थामा सोही हाराहारीको रकममा आफ्नै सवारीसाधनको मालिक बन्न सक्ने अवसर प्रदान गर्न खोजिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी थिए । उनले विद्युतीय सवारीसाधनको प्रयोग विस्तारसँगै स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न यस्ता योजनाले योगदान पुर्याउने बताए ।
तपाईंको बजारकी प्रमुख कार्यकारी अधिकृत माया लामाले ५ हजार जनालाई स्वरोजगारमा जोड्ने योजना दुई वर्षअघि नै सुरु गरिएको जानकारी दिइन् । विभिन्न बाधाका कारण योजना अघि बढाउन नसकिए पनि अहिले बेस्ट फाइनान्स र याङ्गोको सहकार्यमा कार्यक्रम सुरु गर्न सफल भएको उनको भनाइ छ ।
कम्पनीले राइड सेयरिङ क्षेत्रमा विद्युतीय स्कुटरको प्रयोग बढाउँदै छुट्टै विद्युतीय राइडिङ इकोसिस्टम विकास गर्ने योजना अघि सारेको छ । नेपालभर अधिकृत डिलर नियुक्तिका लागि आवेदन खुला गरिएको पनि कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘भेट्रा एरोन’ले एकपटक पूर्ण चार्ज गर्दा २५० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ । नेपाली सडक र भौगोलिक अवस्थालाई लक्षित गरी तयार गरिएको स्कुटरमा १६५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ५ हजार वाटको मोटर तथा १२० एम्पियर क्षमताको एलएफपी ब्याट्री रहेको छ ।
भेट्रा मोटर्सका निर्देशक मनिष श्रेष्ठले नेपाली सडकका उकाली–ओरालीलाई ध्यानमा राखेर स्कुटर तयार गरिएको बताए । विशेषगरी राइड सेयरिङ तथा राइड–हेलिङ व्यवसायका लागि स्कुटर उपयोगी हुने कम्पनीको दाबी छ ।
पानीपोखरीस्थित तपाईंको बजारको कार्यालयमार्फत शून्य प्रतिशत डाउनपेमेन्टमा स्कुटर उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसका लागि तपाईंको बजार र बेस्ट फाइनान्सबीच सहकार्य भएको कम्पनीले जनाएको छ ।

तपाईंको बजारका प्रबन्ध निर्देशक सुशिल सङ्ग्रौलाका अनुसार कम्पनीले हाल नेपालभर इलेक्ट्रिक भ्यान तथा बसमा वित्तीय सुविधा र बिक्री–वितरण गर्दै आएको छ । राइड सेयरिङका लागि इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने योजना त्यसकै विस्तार भएको उनको भनाइ छ ।
स्कुटर खरिदका लागि राष्ट्रिय परिचयपत्र, प्यान कार्ड, सवारीचालक अनुमतिपत्र र फोटो आवश्यक पर्नेछ । पानीपोखरी, बुटवल र बिर्तामोडस्थित शोरुमबाट ‘भेट्रा एरोन’सम्बन्धी सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।




