चितवन । सौराहास्थित ‘रोयल टुलिप चितवन’ रिसोर्टले पर्यटन विभागको स्थलगत निरीक्षणपछि ‘पाँचतारे डिलक्स’ को मान्यता पाएको छ। केटीएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित यस रिसोर्टले भौतिक पूर्वाधार, सेवा सुविधा र सुरक्षा व्यवस्थाका मापदण्ड पूरा गरेपछि उक्त वर्गको स्तरीकरण प्राप्त गरेको हो। नेपालमा हालसम्म अन्य तीन होटलले मात्र यो स्तरको मान्यता पाएका छन्।
४.१२ एकड क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा काठ, ढुंगा, जुट र स्थानीय हस्तकलाका सामग्री प्रयोग गरी नेपालीपन झल्काइएको छ। अन्तर्राष्ट्रिय ब्रान्ड ‘लुभ्र होटल्स ग्रुप’ सँगको सम्झौताअनुसार सञ्चालित ६५ कोठाको यस रिसोर्टमा अत्याधुनिक सेवाका साथै नेपालमै पहिलोपटक 'तनावीबार' र मध्यरातका लागि 'स्पोर्ट्सबार' लगायतका सुविधा उपलब्ध छन्।
रिसोर्टले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै वातावरणमैत्री ढङ्गले नेपाली आतिथ्यताको नयाँ मानक स्थापना गरेको पर्यटन विभागका अधिकारीहरूले बताएका छन्। पर्यटन व्यवसायीहरूका अनुसार यस उच्चस्तरीय स्तरीकरणले सौराहालाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न र समग्र चितवनको पर्यटन उद्योगमा सकारात्मक सन्देश प्रवाह गर्न ठूलो सहयोग पुग्नेछ।
सञ्चालक कम्पनी केटीएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ५० हजार कित्ता (१५ करोड ५० लाख रुपैयाँ बराबर) आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। यस आईपीओका लागि गराइएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ।
करिब १ अर्ब ७० करोड ५ लाख रुपैयाँ कुल परियोजना लागत रहेको यस रिसोर्टको नेतृत्व केटीएम ग्रुप होल्डिङ्सका अध्यक्ष रामेश्वर शाहले गरिरहेका छन्। वि.सं. २०८१ असारमा पब्लिक लिमिटेडमा रुपान्तरण भएको यस कम्पनीको सबल पक्षका रूपमा अन्तर्राष्ट्रिय ब्रान्डसँगको आबद्धता र अनुभवी प्रवर्द्धक समूहलाई औंल्याइएको छ।


