News 24 Television
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोल, पर्यटनमा नयाँ आशा

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै तीन वर्षपछि फ्लाई दुबईको जहाज अवतरण गरेसँगै पोखरामा फेरि अन्तर्राष्ट्रिय हवाई उडानको आशा जागेको छ । लामो समयदेखि अन्तर्राष्ट्रिय विमानस्थल भएर पनि नियमित व्यावसायिक उडानको अभाव झेल्दै आएको पोखरामा विदेशी विमानको आगमनले पर्यटन व्यवसायी, निजी क्षेत्र र स्थानीय नागरिकमा उत्साह थपेको छ । यो उत्साह केवल एउटा विमान पोखरा ओर्लिएको खुसीमा सीमित छैन, वर्षौंदेखि प्रतीक्षामा रहेको पोखराको अन्तर्राष्ट्रिय हवाई सपना पूरा हुने सम्भावनासँग जोडिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मूल उद्देश्य नै पोखरालाई विश्वका प्रमुख पर्यटकीय गन्तव्यसँग प्रत्यक्ष हवाई सञ्जालमा जोड्नु थियो । तर विमानस्थल सञ्चालनमा आएपछि अपेक्षाअनुसार नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेन । उद्घाटनपछि अन्तर्राष्ट्रिय व्यावसायिक उडानको निरन्तरता नहुँदा विमानस्थलको उपयोगिता, सञ्चालन मोडल र लगानीको औचित्यमाथि समेत प्रश्न उठ्दै आएको थियो । विगतमा हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडानको प्रयास गरेपनि यात्रु अभावका कारण सेवा निरन्तर हुन नसक्नु त्यसको एउटा उदाहरण हो । 

यस्तो पृष्ठभूमिमा फ्लाई दुबईको जहाज पोखरा अवतरण गर्नुले पर्यटन क्षेत्रलाई मनोवैज्ञानिक रूपमै ठूलो ऊर्जा दिएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलका अनुसार नियमित अन्तर्राष्ट्रिय उडानले पोखरालाई विश्वका पर्यटकीय गन्तव्यसँग प्रत्यक्ष जोड्नुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ । उनले पोखराको पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय उडानलाई मेरुदण्डकै रूपमा लिनुपर्ने  बताएका छन् ।

फ्लाई दुबईको आगमनको अर्को महत्वपूर्ण पक्ष यसको अन्तर्राष्ट्रिय सञ्जाल हो । दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट केन्द्रमध्ये एक भएकाले पोखराबाट दुबई हुँदै विभिन्न मुलुकमा पुग्न सकिने सम्भावनाले पोखराको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न सक्छ । पर्यटन व्यवसायी गोपी भट्टराईका अनुसार यसले लामो समयदेखि विमानस्थलको क्षमता र अन्तर्राष्ट्रिय उडान सम्भावनाबारे उठ्दै आएका आशङ्कालाई समेत कम गर्ने आधार दिएको छ । नियमित उडान हुन सके होटल, यातायात, रेस्टुरेन्ट, पदयात्रा तथा अन्य पर्यटन व्यवसायमा नयाँ चहलपहल आउन सक्छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल हुनु र त्यहाँ अन्तर्राष्ट्रिय विमान अवतरण गर्नु दुई फरक उपलब्धि हुन् । पहिलोले पूर्वाधार तयार भएको प्रमाणित गर्छ भने दोस्रोले त्यसको व्यावसायिक सम्भावना देखाउँछ । अबको वास्तविक परीक्षा भने उडानलाई निरन्तरता दिन सकिन्छ कि सकिँदैन भन्नेमा हुनेछ । एउटा वा केही चार्टर्ड उडानले विमानस्थलको दीर्घकालीन समस्या समाधान गर्दैन । नियमित तालिका, पर्याप्त यात्रु, प्रतिस्पर्धी भाडा र स्थिर बजार सुनिश्चित गर्न सके मात्र अहिले देखिएको उत्साह दीर्घकालीन उपलब्धिमा परिणत हुन सक्छ । यसका लागि विदेशमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले ‘जाऊँ है पोखरा’ अभियानलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । 

अन्तर्राष्ट्रिय उडानले पोखरामा पर्यटकको संख्या मात्र बढाउने होइन, उनीहरूको बसाइ अवधि र खर्चसमेत बढाउन सक्ने अपेक्षा गरिएको छ । पर्यटक काठमाडौं हुँदै पोखरा आउनुपर्ने बाध्यता घटेमा यात्राको समय कम हुन्छ र पोखरालाई मुख्य गन्तव्यका रूपमा प्रस्तुत गर्न सहज हुन्छ । दसैँ, तिहार र नयाँ वर्षजस्ता पर्यटकीय गतिविधि बढ्ने समयको आसपास उडान सुरु हुनुले पनि यसको व्यावसायिक सम्भावना परीक्षण गर्ने अवसर दिएको छ । तर उत्साहसँगै चुनौती पनि उत्तिकै छन् । उडान सञ्चालनका लागि एयरलाइन्सलाई आकर्षित गर्ने, यात्रु सुनिश्चित गर्ने, अन्तर्राष्ट्रिय बजारमा पोखराको प्रचार गर्ने र विमानस्थलसम्म आवश्यक सेवा तथा प्रशासनिक प्रक्रिया सहज बनाउने काम समानान्तर रूपमा अघि बढाउनुपर्नेछ । श्रम स्वीकृति लगायतका प्रक्रियासमेत पोखराबाटै सहज बनाउन सके विमानस्थलको उपयोगिता अझ बढ्न सक्छ ।

त्यसैले फ्लाई दुबईको जहाजको अवतरणलाई पोखराको अन्तर्राष्ट्रिय उडान यात्राको उपलब्धिभन्दा पनि नयाँ सुरुआतका रूपमा हेर्नुपर्ने देखिन्छ । वर्षौंदेखिको प्रतीक्षापछि विमानस्थलमा देखिएको यो चहलपहललाई नियमितता, यात्रु र बजारसँग जोड्न सके मात्रै पोखराको अन्तर्राष्ट्रिय विमानस्थल साँच्चिकै उद्देश्यअनुसार सञ्चालनमा आएको मानिनेछ। अहिले पोखरामा छाएको उत्साहको वास्तविक अर्थ पनि यही हो—विमान अवतरण भएको छ, अब त्यसलाई निरन्तर उडाइराख्ने चुनौती बाँकी छ । 
 

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update