News 24 Television
सुध्रिँदै रवि–गगन सम्बन्ध, नयाँ राजनीतिक कोर्ष शुरु !

काठमाडौँ । २०७९ सालको आम निर्वाचन पछिको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा रवि लामिछाने गृहमन्त्री  बने । पहिलो निर्वाचनमै रास्वपालाई तेस्रो ठूलो दलको हैसियत बनाएका रविले दुई पटकसम्म गृहमन्त्री बन्ने अवसर पाएका थिए । तर यो बखत तत्कालीन सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच सँधै टकराव चलिरह्यो । जुन टकरावको प्रमुख कारक थिए, रवि लामिछाने नै । रविको दोहोरो नागरिकता प्रकरण तथा सहकारी ठगी प्रकरणमा संलग्नता रहेको विषयकै कारण काँग्रेस र तत्कालीन गृहमन्त्री रविबीच सदन र सडकमा चरम संघर्ष चल्यो । उक्त बखत काँग्रेसको तर्फबाट प्रमुख रुपमा गगन थापाले रविलाई सहकारी प्रकरणमा गहन आरोप लगाइरहे ।  

तर रवि भने गगनको आरोपलाई सँधै खण्डन गर्दै आइरहे । तत्कालीन सहकारीको मुद्धाकै कारण रवि र गगनबीच पानी बाराबारको स्थिति भयो । यसपछि सत्ता समीकरण बदलिदै आँउँदा काँग्रेस र एमालेले नै नयाँ सरकार गठन गरे । तर यो गठबन्धनको सरकार पनि लामो समय टिकेन । फलतः जेनजी आन्दोलनका कारण काँग्रेस एमालेको सरकार ढल्यो । यसपछि नेपालको राजनीतिक कोर्ष नै फेरिएको छ । दोस्रो विशेष महाधिवेशनपछि काँग्रेसको नेतृत्वमा गगन थापा आए भने, उता रास्वपाले पनि फागुन २१ को निर्वाचनमा झण्डै दुई तिहाईँको मत प्राप्त गर्दै सरकार हाँकी रहेको छ । यसपछिको राजनीतिक स्थितिमा गगन र रविको सम्बन्ध पनि सुध्रिदै गएको देखिन्छ । पछिल्लो समय हेर्ने हो भने, रवि र गगनको सम्बन्ध उच्चतम र विशिष्टकृत नै देखिन्छ । रविले बोलाएको हरेक कार्यक्रममा गगन पुग्छन्, गगनले बैठकमा राखेका हरेक मुद्धा पनि रविले गम्भीरतापूर्वक सुन्छन् । 

असार ७ ले जोड्यो रवि–गगन सम्बन्ध !

गत असार ७ मा सम्पन्न रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न हुँदा गनगले रविसँग एकै मञ्च शेयर गरेका थिए । त्यहीँ मञ्चबाट आफ्ना राजनीतिक र पार्टीको ऐतिहासिक धारणा राख्दै रविलाई गगनले देश विकासका लागि उच्च राजनीतिक संस्कार, पार्टी–पार्टीबीच हातेमालो र समझदारी कायम हुनुपर्ने विषय उठाए ।  

त्यसयता दुवै नेताको शौहार्दता र मिलन राम्रै किसिमको देखिन्छ । त्यसयता रविले सत्तारुढ दलको नेताको हैसियतमा पटक पटक सर्वदलिय बैठक बोलाए । उक्त बैठकहरुमा पनि गनग कहिल्यै गयल भएका छैनन् । सुनसरीमा सल्किएको धार्मिक द्वन्द्का बेला होस् वा भोटेकोशी बाढीपछि मुलुकमा आएको संकटका बेला नै किन नहोस् रविले सबै दललाई बैठकमा बोलाउँदा गगन उपस्थित भइ नै रहे । जुन कारण पनि रवि र गगनबीच पछिल्लो सयम सौहार्द र सकारात्मक समबन्ध रहेको देखिन्छन् । 

काँग्रेस महाधिवशेनमा पनि रविलाई निम्तो !

काँग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि काठमाडौंमा आयोजना हुँदैछ । उक्त महाधिवेशनका लागि गगनले सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेलाई पनि निम्तो दिएका छन् । असोज १६ देखि आयोजना हुने हाधिवेशनको उद्घाटन समारोहमा रवि लामिछाने पनि उपस्थित हुने पक्काजस्तै छ । रविको यो आगमनले दुई पार्टी र रवि–गगनबीचको सम्बन्धमा थप उचाइ मिल्ने निश्चित छ । यो केही तत्थ्यले पछिल्लो बदलिँदो राजनीतिमा अब पुरानाभन्दा पनि नयाँ र युवा पुस्ताको नेतृत्वनै जबरजस्त बन्दै गएको विषयलाई पनि प्रष्ट पारेको पार्दछ भने, अबको नेपाली राजनीतिमा गगन–रवि युगको आरम्भ भएको होइन ? जस्ता प्रश्न उठ्न थालेका छन् । तर यो राजनीतिक जोडीले पनि नेपाली जनताको नयाँ आकांक्षालाई पूरा गर्लान् त ? भन्ने प्रश्न पनि सँगै उठ्ने देखिन्छ । 
 

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update