कुवेत। युवा शक्ति कुवेतको आयोजनामा कुवेतस्थित महाबुला ब्लक–२ सी साइड क्षेत्रमा वृहत् सरसफाइ अभियान सफलतापूर्वक सम्पन्न भएको छ।
'इको वारियर्स' संस्थाको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानमा नेपाली समुदायका करिब ७० देखि ७५ जना दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
समुद्री तटीय क्षेत्रलाई सफा, स्वच्छ तथा आकर्षक बनाउनुका साथै वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा एनआरएनए कुवेतका अध्यक्ष विकास सिंह ठकुरीको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमबारे जानकारी दिँदै युवा शक्ति कुवेतका युवा संयोजक नवराज विश्वकर्माले वातावरण संरक्षण र सरसफाइप्रति नेपाली समुदायको जिम्मेवारीबोध अभिवृद्धि गर्न अभियान आयोजना गरिएको बताउनुभयो।
अभियानका क्रममा सहभागीहरूले समुद्री किनार तथा आसपासका क्षेत्रमा सरसफाइ गरेका थिए। यस्ता सामाजिक गतिविधिले वातावरण स्वच्छ राख्न सहयोग पुर्याउनुका साथै विदेशमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, एकता र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
कार्यक्रम सफल बनाउन सहकार्य गर्ने इको वारियर्स संस्था, उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व तथा सक्रिय सहभागिता जनाउने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति युवा शक्ति कुवेतले हार्दिक आभार व्यक्त गरेको छ।



