बर्दिया । चाडपर्वमा हुन सक्ने सवारी दुर्घटना र यात्रु ठगी नियन्त्रण गर्न बर्दिया ट्राफिक प्रहरीले सुरक्षा जाँचमा कडाइ गरेको छ । हुलाकी सडकदेखि पूर्वपश्चिम राजमार्गसम्म सवारीसाधनको कागजपत्र, मापसे र क्षमताभन्दा बढी यात्रु बोके नबोकेको जाँच भइरहेको छ ।
चाडपर्वको समयमा सवारी दुर्घटना, यात्रुको असुरक्षा र यात्रु ठगीका घटना बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बर्दिया ट्राफिक प्रहरीले सडक सुरक्षा चेकजाँचलाई तीव्र बनाएको छ । नेपालगञ्जदेखि बर्दिया सदरमुकाम गुलरिया हुँदै पश्चिममा कैलाली जोड्ने हुलाकी सडक तथा पूर्वपश्चिम राजमार्गमा ट्राफिक प्रहरीले निगरानी बढाएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले नेपाल प्रहरीसँगको सहकार्यमा मोटरसाइकल, साना सवारीदेखि यात्रुवाहक ठूला सवारी साधनसम्मको नियमित जाँच गरिरहेको छ ।
चेकजाँचका क्रममा सवारीसाधनको कागजपत्र, चालकले मादक पदार्थ तथा लागू पदार्थ सेवन गरे नगरेको र क्षमताभन्दा बढी यात्रु बोके नबोकेको विषयमा समेत निगरानी गर्ने गरिएको छ ।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने र सवारी चालकले लापरबाही गर्दा दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले चेकजाँचलाई प्राथमिकता दिइएको ट्राफिक प्रहरीले जनाएको छ । हुलाकी सडक र पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा विगतको तुलनामा चेकजाँच बढाइएको स्थानीयको भनाइ छ । यात्रुहरूले पनि सडकमा हुने सुरक्षा जाँचलाई सकारात्मक रूपमा लिएका छन् ।
सवारी साधन सञ्चालन गर्दा क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी सवारी चलाउने र चाडपर्वको मौका छोपेर यात्रुसँग बढी भाडा असुल्ने सम्भावनालाई समेत ध्यानमा राखेर निगरानी बढाइएको ट्राफिक प्रहरीको भनाइ छ । गुलरियाबाट पूर्वतर्फ नेपालगञ्ज जाने तथा पश्चिमतर्फ राजापुर हुँदै कैलाली पुग्ने सवारी साधनलाई हुलाकी सडकमा जाँच गर्ने गरिएको छ । त्यस्तै पूर्वमा मानखोलादेखि पश्चिममा चिसापानीसम्म पूर्वपश्चिम राजमार्गमा पनि सुरक्षा निगरानी बढाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका अनुसार सम्भावित दुर्घटना न्यूनीकरण गर्न सवारी साधनका कागजपत्र जाँच गर्नुका साथै चालकको मापसे परीक्षणलाई समेत प्राथमिकता दिइएको छ । चाडपर्वमा यात्रुको आवागमन बढ्ने भएकाले ट्राफिक प्रहरीलाई विभिन्न सडक खण्डमा परिचालन गरिएको छ ।
ट्राफिक प्रहरीको सुरक्षा जाँचलाई यात्रु तथा सवारी चालकले सकारात्मक रूपमा लिए पनि यस्तो अभियान चाडपर्वमा मात्रै सीमित गर्न नहुने उनीहरूको सुझाव छ । सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको सुनिश्चितताका लागि नियमित अनुगमन तथा चेकजाँच आवश्यक देखिएको छ ।


