News 24 Television
नेपाली फूलको सुगन्ध विदेशसम्मः पाँच कठ्ठाबाट शुरु, १० बिगाहमा फैलियो

काठमाडौं । तिहार नजिकिएसँगै नेपाली बजारमा सयपत्री र मखमली फूलको माग बढिरहेको छ । यसैबीच चितवनका किसानले उत्पादन गरेका फूलका माला विदेशमा समेत निर्यात हुन थालेका छन् । पाँच कठ्ठाबाट सुरु भएको फूलखेतीबाट अहिले वार्षिक ८० लाख रुपैयाँसम्मको कारोबार भइरहेको छ । 

तिहारमा घरआँगन सजाउने सयपत्री र मखमली फूलका माला अब चितवनबाट विदेशसम्म पुग्न थालेका छन् । कालिका नगरपालिका–१ पदमपुरका गोविन्द बाँस्तोलाको परिवारले उत्पादन गरेका करिब सात लाख रुपैयाँ मूल्यका फूलमाला हङकङ र दुबई निर्यात गरेको छ । पाँच कठ्ठाबाट सुरु भएको बास्तोला परिवारको फूलखेती अहिले १० बिघामा विस्तार भएको छ । 

कोरोना महामारीका बेला रोजगारी गुमेपछि बाँस्तोला परिवारले सात वर्षअघि फूलखेती सुरु गरेको थियो । सुरुमा तीन जनाको सहकार्यमा थालिएको व्यवसाय अहिले चार दाजुभाइले सम्हालिरहेका छन् । बिहीबार मात्रै हङकङका लागि पाँच लाख र दुबईका लागि दुई लाख रुपैयाँबराबरका सयपत्री तथा मखमली माला पठाइएको हो ।

तिहारलाई लक्षित गरी यस वर्ष पाँच बिगाहमा फूलखेती गरिएको छ । करिब ३० हजार माला उत्पादन गर्ने लक्ष्य राखिएको परिवारले तिहारकै समयमा २५ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरेको छ । वर्षभरिमा भने ७० देखि ८० लाख रुपैयाँसम्मको कारोबार हुँदै आएको बाँस्तोला बताउँछन् ।

फूलखेतीले बाँस्तोला परिवारको आम्दानी मात्रै बढाएको छैन । गाउँमै रोजगारीसमेत सिर्जना गरेको छ । तिहारको समयमा २० देखि २५ जनाले काम पाइरहेका छन् । 

उत्पादनको करिब ४० प्रतिशत चितवनमै खपत हुन्छ भने बाँकी काठमाडौं, पोखरा, बुटवल, धनगढी र बागलुङलगायतका सहरमा पुग्छ । तर किसानले प्राकृतिक प्रकोप र उत्पादन लागतको चुनौती पनि खेपिरहेका छन् । केही दिनअघि परेको वर्षाले डेढ बिगाहको फूल नष्ट भएको छ । मल, बीउ र सिँचाइको समस्या पनि कायमै छ । नगरपालिकाले कृषि उपकरण र टनेललगायतका सामग्रीमा सहयोग गर्दै आएको जनाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाली फूल विदेशी बजारमा पुग्नु किसानका लागि उत्साहजनक उपलब्धि भएको बताएका छन् । 

पढेपछि जागिर खानैपर्छ वा विदेश जानैपर्छ भन्ने सोच बदल्दै स्वदेशमै उद्यम गरेर राम्रो आम्दानी गर्न सकिने उदाहरण फूलखेतीले दिएको उनको भनाइ छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न प्रशासनले प्लास्टिकका फूलको बिक्रीवितरण र प्रयोगमा रोक लगाएको पनि उनले बताए ।

पाँच कठ्ठाबाट सुरु भएको खेती १० बिगाहमा विस्तार गर्दै नेपाली फूलको माला अन्तर्राष्ट्रिय बजारसम्म पु¥याएको बाँस्तोला परिवारको प्रयास स्वदेशमै उद्यम, रोजगारी र आत्मनिर्भरताको उदाहरण बनेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update