काठमाडौं । पशुपन्छीदेखि प्रकृति, धनसम्पत्ति, आफ्नै शरिर र दाजुभाइ–दिदीबहिनीको सम्बन्धसम्मलाई सम्मान गर्ने तिहार धार्मिक आस्था र सांस्कृतिक विविधताको एक विशिष्ट पर्व हो ।
शनिवारदेखि शूरु भएको पाँच दिनसम्म मनाइने यमपञ्चकले मानव र प्रकृतिबीचको सम्बन्धसँगै सामाजिक सद्भाव, आत्मसम्मान र पारिवारिक प्रेमको सन्देश दिन्छ ।
पाँच दिन पशुपन्छी, प्रकृति, धनसम्पत्ति र आफ्नै आत्मादेखि दिदीबहिनी तथा दाजुभाइको सम्बन्धसम्मलाई सम्मान गर्ने तिहार धार्मिक सहअस्तित्व र मानवीय संवेदनाको अनुपम सांस्कृतिक उत्सव हो ।
मानिसले आफ्नो खुसीका लागि उत्सव मनाउँछन् । तर तिहार एउटा यस्तो पर्व छ जहाँ मानिसले आफ्नो उत्सवको सुरुवात आफैँबाट मात्रै गर्दैन । सन्देशवाहक मानिएको कागदेखि घरको पहरा दिने कुकुरसम्म, जीवन पोषण गर्ने गाईदेखि कृषि कर्ममा सघाउने गोरुसम्मलाई तिहामा सम्झिइन्छ । अनि दिदीबहिनी र दाजुभाइको सम्बन्धलाई प्रेमको धागोले बाँध्ने काम पनि तिहारले गर्छ । यही विशेष पर्व हो तिहार अर्थात् यमपञ्चक । यमपञ्चकको पहिलो दिन काग तिहार ।
बिहानै घरआँगनमा कागलाई बोलाएर मिठा परिकार दिने र पूजा गर्ने परम्परा छ । धार्मिक मान्यताअनुसार कागलाई यमराजको सन्देशवाहक मानिन्छ । कागले शुभ समाचार ल्याओस् भन्ने कामनासहित पूजा गरिन्छ । दोस्रो दिन कुकुर तिहारमा मानिसको विश्वासिलो साथी कुकुरलाई माला, टीका र मिठा परिकार दिएर सम्मान गरिन्छ ।
यमलोकका द्वारपाल मानिने श्याम र सबल नामका कुकुरको पौराणिक प्रसंगले पनि यसको धार्मिक महत्व दर्शाउँछ । तेस्रो दिन गाई तिहार र लक्ष्मीपूजा मनाइन्छ । हिन्दु दर्शनमा गाईलाई माता र समृद्धिको प्रतीक मानिन्छ ।
कृषि सभ्यतामा गाईको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै पूजा गरिन्छ । साँझ धनधान्यकी देवी लक्ष्मीको स्वागतमा घरआँगन सफा गरी दीप बालिन्छ । अन्धकार हटाएर उज्यालो भित्र्याउने यो परम्पराले सुख, शान्ति र समृद्धिको कामना गर्छ ।
चौथो दिन गोवर्धन पूजा गरिन्छ । पौराणिक कथाअनुसार भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर इन्द्रको घमण्ड तोड्दै गोकुलवासी र गाईवस्तुको रक्षा गरेका थिए । यमपञ्चकको अन्तिम दिन हो भाइटीका ।
पौराणिक कथाअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई सप्तरङ्गी टीका लगाएर दीर्घायुको कामना गरेकी थिइन् । त्यसैको सम्झनामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने र दीर्घायुको कामना गर्ने परम्परा बसेको विश्वास गरिन्छ । तिहारको विशेषता दीपावलीको झिलिमिलीमा मात्रै सीमित छैन । काग, कुकुर, गाई र गोरुको पूजाले प्रकृति र जीवप्रतिको सम्मान गर्न सिकाउँछ ।
नेपाल सम्वत्, म्हः पूजा र किजापूजाको सांस्कृतिक महत्त्व
नेवार समुदायले तिहारकै अवधिभित्र नेपाल सम्वतको नयाँ वर्षलाई स्वागत गर्दै, म्हः पूजा र किजापूजा मनाउँछन् । नेपाल सम्वतको पहिलो दिन अर्थात् कछलाथ्व पारुका अवसरमा नेवार समुदायले आफ्नो शरिर अर्थात् आत्माको सुस्वास्थ्य, दीर्घायू र समृद्धिको कामना गदैए म्हः पूजा मनाउँछन् । म्हः पूजाका क्रममा मण्डप बनाएर सगुन, फूल, फलफूल र विभिन्न परिकारसहित गरिने यो पूजाले मानिसले आफ्नै अस्तित्व र जीवनको सम्मान गर्नुपर्ने सन्देश दिन्छ ।
त्यसैगरी नेपाल सम्वत्को सुरुवात राष्ट्रिय विभूति शंखधर साख्वाले जनताको ऋणमोचन गरी सुरु गरेको मान्यता छ । अन्तिम दिन किजापूजामा दिदीबहिनीले दाजुभाइको पूजा गरी सुख, शान्ति र दीर्घायुको कामना गर्छन् ।
यी पर्व नेवार समुदायको धार्मिक आस्थासँगै सामाजिक एकता, आत्मसम्मान र पुस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदाका जीवन्त प्रतीक हुन् ।


