काठमाडौं । ऐतिहासिक विरासत बोकेको नेपाली कांग्रेस यतिबेला विचारको बहस होइन, समानान्तर महाधिवेशनको गुटगत अस्तित्वको लडाइँमा फसेको छ ।
जेन–जी विद्रोहपछि दुई चिरा परेको कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवाको संरक्षण र शशांक कोइरालाको संयोजकत्वमा रहेको असन्तुष्ट चुनदेवी समूह यतिबेला आफ्नै कार्यतालिकाको पासोमा परेको छ ।
तोकिएको मितिमा वडादेखि जिल्लासम्म कतै पनि अधिवेशन सम्पन्न गर्न नसकेर यो समूह अहिले रक्षात्मक बनेको छ । दाबी उत्साहको, तर नतिजा शून्य! आखिर किन भयो देउवा–शशांक समूहको कार्यतालिका फेल ?
कात्तिक १५ गतेभित्र देशका ७७ वटै जिल्लाको अधिवेशन सक्ने र मंसिर २१ देखि २३ मा केन्द्रीय महाधिवेशन गर्ने घोषणा, सुन्दा निकै आक्रामक र व्यवस्थित लाग्ने यो कार्यतालिका अहिले बालुवाको घरजस्तै ढलेको छ ।
असोज १५ बाट वडा अधिवेशन थालेको असन्तुष्ट समूहले असोज २० भित्र पालिका र २३ भित्र प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रको अधिवेशन सक्ने दाबी गरेको थियो । तर कात्तिक १५ बितिसक्दा पनि आधाभन्दा बढी जिल्लामा अधिवेशनको अत्तोपत्तो छैन । ७७ मध्ये जम्मा ३३ जिल्लामा मात्रै अधिवेशन भएको चुनदेवी समूहको भनाइ छ ।
बाँकी जिल्लामा नेतृत्व चयन प्रक्रिया सुरु समेत हुन सकेको छैन । कार्यतालिका किन भयो त ध्वस्त ? नेतृत्वसँग यसको तयारी थियो वा गगन समूहलाई चुनौती दिन हतारमा चालिएको स्टन्ट मात्रै थियो ? चुनदेवि समूहका नेता प्रकाशशरण महत यसो भन्छन् ।
कात्तिक १५ गतेसम्म पालिका तहम्मको अधिवेशन सक्ने दाबी गरिएको थियो । ७५३ स्थानीय तहमध्ये असोज २० मै सक्ने भनिएको पालिका अधिवेशन अझै १३५ पालिकामा अलपत्र छ ।
३३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये १०२ क्षेत्रमा अधिवेशन हुन सकेको छैन । १६५ प्रतिनिधिसभा क्षेत्रमध्ये ५१ निर्वाचन क्षेत्र अझै नेतृत्वविहीन छन् । र सबैभन्दा मुख्य कुरा ७७ जिल्लामध्ये जम्मा ३३ जिल्लामा मात्रै अधिवेशन सकिएको छ भने ४४ जिल्लामा अझै अन्योल छ । तर चुनदेवी कांग्रेस भन्छ अन्य नेता कार्यकता थपिने कार्य बढेकोले थप ढिलाइ भएको हो ।
यसको जरो गत वर्ष भदौ २३ र २४ को जेन–जी विद्रोहसँग जोडिन्छ । नेतृत्व परिवर्तनको चर्को दबाबपछि विशेष महाधिवेशनको माग उठ्यो । शेखर कोइरालाले सुरु गरेर पछि छाडेको त्यो एजेन्डालाई गगन थापा र विश्वप्रकाश शर्माले वारपारको लडाइँ बनाए । पुसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्व स्थापित भयो, जसलाई निर्वाचन आयोगले समेत वैधानिकता दियो ।
संस्थापन पक्षले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरिसक्दा पनि देउवा समूह भने अदालतको निस्सा देखाउँदै समानान्तर अधिवेशनको हठ पालेर बस्यो । तर स्रोत साधनको अभाव, कार्यकर्ताको अन्योल र फितलो तयारीका कारण देउवा–शशांक समूहको यो महाधिवेशन अहिले आफ्नै लागि गलपासो बनेको छ ।
एकातिर संस्थापन समूहले जिल्ला र प्रदेश नभ्याई केन्द्र चुन्यो, अर्कातिर चुनदेवी समूह केन्द्रसम्म पुग्नै नसक्ने गरी तल्लो तहमै थला प¥यो । पार्टीको वैधानिकता अदालत र आयोगले एउटा समूहलाई दिइसकेको अवस्थामा इगो र अस्तित्वको लडाइँ लडिरहेको चुनदेवी समूह यतिबेला कार्यतालिकाको भारीले थिचिएको छ ।
आफ्नै क्यालेन्डर कार्यान्वयन गर्न नसक्ने यो समूहले मंसिर २१ मा केन्द्रीय महाधिवेशन कसरी गर्ला ? वा यो अधिवेशन पार्टी विभाजनको औपचारिक बहाना मात्रै बन्नेछ ? प्रश्न अहिले कांग्रेसको तल्लो तहका कार्यकर्ताको मनमा उब्जिएको छ ।


