News 24 Television
शताब्दी घरमा ‘लाखे नाच’ प्रदर्शन

पर्वत । कुश्मा बजारस्थित तीन सय वर्ष पुरानो 'शताब्दी घर'मा कुश्मा उपल्लो बजार क्षेत्रका नेवा: नवयुवा समूहले विशेष ‘लाखे नाच’ प्रदर्शन गरेका छन् । 

नेपालका मौलिक कला, संस्कृति र पहिचान झल्काउने परम्परागत नृत्य, गीत, सङ्गीत लगायतका चलन हराउँदै जान थालेको बेला कुश्माका नेवार समुदायले भने अहिलेसम्म आफ्नो कला— संस्कृतिको संरक्षण गरिरहेका छन् । यथा: विगतमा बाक्लै गरी देख्न पाइने नेवार समुदायको आकर्षक ‘लाखे नाच’ हेर्नको लागि आजभोलि भने विशेष पर्व वा लाखे नाचको समय नै कुर्नुपर्ने जस्तोभएको छ । 

लाखे नाचको इतिहास कुश्मामा करिब अढाई सय वर्ष पुरानो छ। भक्तपुरबाट बसाइँ सरेसँगै विभिन्न जिल्ला र गाउँ टोलसम्म पुग्दा आफ्नो संस्कार पनि सँगै ल्याएका थिए भन्ने उनीहरूको विश्वास छ। कुश्मा सरेका नेवार समुदायले पुरानो संस्कारहरूलाई निरन्तरता दिँदै ‘लाखे नाच’ सँग जोडिएका अरू धेरै नाचहरू भूते औँसीदेखि हरितालिका तीजसम्म प्रदर्शन गर्दै आएका छन्।

1dc29b6d-2b57-4b86-8498-4458958eef8e-1789462714.jpg
सदरमुकाम कुश्मा बजारमा हामीले जान्दैखेरी ‘लाखे नाच’ देखाउन सुरु गरिएको थियो । यसको निरन्तरता र नेवारी संस्कृतिको संरक्षण गर्न हरेक वर्ष यसरी नै लाखे नाच प्रदर्शन गर्दै आएका छौँ, अरूले सहयोग गर्लान्, यसो भन्लान् भनेर होइन, हामी रहेसम्म कुश्माबाट नेवारी संस्कृति हराउन दिन्नौँ।’ — कुनपा- ४,का जयन्द्रकुमार जोशीले बताए ।

कुश्मा बजारमा नेवाः समूहले लाखे निकाल्ने गरेको भए पनि त्यसमा सबै जातजातिहरूको सहभागिता रहने गरेको छ। लाखे बनेर नाच्ने काम नेवार समुदायका व्यक्तिबाट हुने भए पनि यसको तयारीमा जुट्ने, आवश्यक सहयोग गर्ने लगायतका काममा जातभन्दा माथि उठेर कुश्माबासीहरुले सहयोग गर्दै आइरहेको जोशी बताउँछन् । सदरमुकाम कुश्मा बसोबास गर्ने गैर नेवार समुदायका व्यक्तिहरू पनि लाखे तथा लाखे नचाउने समूहको सहयोगी बन्ने वाद्यवादनमा सघाउने लगायतका कामहरू गर्दा ‘लाखे नाच’ संरक्षणमा अन्य समुदायको पनि सहभागिता रहेको यसले आफूहरूलाई प्रोत्साहित गर्ने गरेको उनी बताउँछन्। 

सदरमुकाममा बसोबास गर्दै आएका नेवारहरूले जन्माष्टमीसम्म पाँच प्रकारका नाचहरू देखाउने गरेका छन्। स्थानीय संस्कृतिकर्मी शान्तिनारायण श्रेष्ठका अनुसार नाग पञ्चमीको दिनदेखि सुरु भएको ‘लाखे नाच’ कृष्ण जन्माष्टमीसम्म हरेक दिन बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ। जनपूर्णिमासम्म ‘लाखे नाच’ तथा त्यसपछि रोपाइँ जात्रा, गाईजात्रा, बाघ जात्रा र हनुमान नाच प्रदर्शन गरिने उनले बताए।

कुश्माका नेवार समुदायको लाखे नाच अन्तर्गत भदौरे जात्रामा लाखे नाचसहित गाईजात्रा, नागा नाच, रोपाइँ जात्रा, बाघ जात्रा, कृष्ण जात्रा, हनुमान नाच, बकुल्ला नाच, एक्लो हनुमान नाच पर्छन्। यीमध्ये बकुल्ला नाच र हनुमान नाच भने लोप हुने अवस्थामा छन्। विगतका वर्षमा झैं यो वर्ष पनि लाखे नचाउँदै नगर परिक्रमा गर्ने, विविध परम्परागत भेषभूषा र चरित्रमा लाखेजात्रा देखाइएको 'जिरो—के एम' लाखे एकिकृत समाजका कार्यक्रम संयोजक रजतमान श्रेष्ठले बताए ।

823e1b66-b0f8-4fec-a1c4-9e01106d540e-1789462740.jpg
नेवार समुदायमा रहेको किंवदन्ती अनुसार भूतप्रेतहरू मानिसमा लागेर सताउने भएकाले उनीहरूले मानिसलाई दुःख नदिउन् भन्नका लागि ‘लाखे नाच’ को प्रचलन सुरु भएको थियो। लाखे भूतकै अवतारमा आएको देख्दा भूतले मानव जातिले आफूलाई समर्थन गरेको बुझ्दा मानिसलाई दुःख नदिने विश्वास रहेको छ ।

स्थानीय शम्भू जोशी भन्छन् — ‘हाम्रा परम्पराको संरक्षण र सम्बद्र्धनमा सम्पूर्ण नेवार समुदायको महत्त्वपूर्ण भूमिका रहन्छ। संस्कृति जगेर्नाको आत्मानुभूति हुनुपर्‍यो, पश्चिमा शैलीका नाच र वाद्यवादनले मात्रै लाखेनाच हुँदैन। एकजनाले मात्रै संस्कृति जगेर्ना हुँदैन,’ जोशी थप्छन— ‘परम्परा, संस्कृतिलाई पुस्तान्तरण गर्न सकिए, नेवारी संस्कारको संरक्षण र प्रवद्र्धन गर्न सकिएमात्रै लाखे संस्कृतिको अस्तित्वलाई सार्थकता दिन सकिन्छ। हामी कुश्माका नेवा: समुदय यही मौलिक परम्पराको बाटोमा छौँ ।' 

लाखे नाच कुश्माको मात्र होइन, नेपालकै अमूर्त सांस्कृतिक सम्पदा हो । अढाई सय वर्षअघि भक्तपुरबाट आएको यो परम्परालाई जोगाउन अब नेवार समुदायको सक्रियता मात्र पर्याप्त छैन । यसका लागि राज्यले नीतिगत हस्तक्षेप र दीर्घकालीन सहयोग गर्न आवश्यक रहेकाे संरक्षणकर्मी आरके अदीप्त गिरी बताउँछन् ।

सदियौँदेखि मनाउँदै आइएका स्थानीय मौलिक कला, संस्कृति, मेला पर्व, परम्परा र भेषभूषाको संरक्षण एवं सम्वद्र्धन र प्रचारप्रसार गर्न 'लाखेनाच' कार्यक्रमको सोच बनाएको शताब्दी घरका परिकल्पनाकार एवं संरक्षक गिरीले बताए । उनले केही समयमै विभिन्न समुदायका 'नाचगान'लाई जोडेर मासिक शृङ्खला संचालन गर्ने गृहकार्यमा आफू रहेको उनले बताए । एक्लैको प्रयासले केही होला धेरै हुँदैन, स्थानीय सरकारले पनि कला, संस्कृति र पूरा सम्पदा संरक्षणमा ध्यान दिनुपर्छ । कुश्माको नेवार समुदायको संस्कृतिलाई 'फोटो— भिडियो आर्काइभ' गर्न यस कार्यक्रमको आयोजना गरेको गिरीले बताए ।

नेपालका मौलिक नाचहरूमध्येको ‘लाखे नाच’ हरेक वर्ष प्रदर्शन गर्दै आएका लाखे एकिकृत समाजले यस वर्ष शताब्दी घरमा आफ्नो अन्तिम प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update