काठमाडौँ । गफ, टुक्का र छेडछाडका लागि चर्चित एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि अरुलाई अर्ती दिन छाडेका छैनन् । सत्ताबाट किनारामा पुगिसक्दा पनि उनको गफ दिने र भाषण गर्ने, अरुलाई होच्याउने र कटु टिप्पणी गर्ने शैली उस्तै छ । सोमबार एक कार्यक्रममा बोल्दै ओलीले नागरिकलाई कुरा मात्र गर्ने ‘बात बहादुर’भन्दा काम गर्ने ‘काम बहादुर’ बन्न अर्ती दिए । तर, विगतमा पटक–पटक सत्तामा पुगेर पानीजहाज, घरघरमा ग्यास पाइपलाइन र रेलका ठूला सपना देखाए पनि व्यवहारमा काम देखाउन नसकेको भन्दै ओलीको यो भनाइमाथि नागरिक तहबाटै व्यंग्य र आलोचना सुरु भएको छ ।
‘सांस्कृतिक चेतना कमजोर हुँदा राजनीति खलबलियो’
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले समाजमा परोपकार र निर्माणको भावनाभन्दा तोडफोड र स्वार्थको प्रवृत्ति बढ्दा राजनीतिसमेत प्रभावित भएको टिप्पणी गरे । संसद् भवन निर्माण गर्नुपर्नेमा आगजनी गर्ने र सार्वजनिक तथा निजी सम्पत्ति नष्ट गर्नेहरू नेपाली समाजका कलंक भएको उनँको भनाइ छ । जेनजी आन्दोलनका क्रममा भाटभटेनीका २१ वटा स्टोरमा भएको लुटपाट र आगजनीको प्रसङ्ग उल्लेख गर्दै उनले आफ्नो नेतृत्वको सरकारले गोदावरीको अन्तर्राष्ट्रिय सभागृह, दशरथ रङ्गशाला र पोखरा रङ्गशालाको पुनर्निर्माण गरेर विकासको उदाहरण प्रस्तुत गरेको दाबी गरे ।
ओलीको प्रश्न उनैतर्फ
ओलीले ‘बात बहादुर होइन, काम बहादुर बनौँ’ भनेर नागरिकलाई उपदेश दिए पनि स्वयं उनकै राजनीतिक छवि भने ‘गफाडी’ का रूपमा बदनाम रहेको टिप्पणी हुने गरेको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा दिएर रेल, पानीजहाज र घरघरमा ग्यास लगायत ठूदा कुरा गर्ने तर कार्यान्वयनमा शून्य नतिजा दिने ओलीले अरूलाई काम गर्ने बन्न अर्ती दिनु हास्यास्पद रहेको विश्लेषकहरू बताउँछन् । भ्रष्टहरू र बिचौलियालाई संरक्षण दिएको आरोप खेप्दै आएका शासकहरूले नै नागरिकलाई अर्ती दिने तर आफूले व्यवहारमा लागू नगर्ने प्रवृत्तिका कारण देशको अवस्था बिग्रिएको भन्दै आलोचना हुँदै आएको हो ।
रास्वपा सांसदलाई ‘नक्कली स्याल’को उपमा
यसैबीच ओलीका प्रिय पात्र मानिने एमाले सचिव महेश बस्नेतले भक्तपुरको विकास बजेट र जनप्रतिनिधिको क्षमतामाथि गम्भीर प्रश्न उठाएका छन् । रास्वपाबाट भक्तपुर क्षेत्र नं. २ मा निर्वाचित सांसद राजीव खत्रीप्रति लक्षित गर्दै बस्नेतले १ लाख रुपैयाँको बजेटसमेत ल्याउन नसक्ने व्यक्ति चुनाव जितेर गएको आरोप लगाए । हिजो करोडौँको बजेट माग्ने भक्तपुरवासीले आज १० लाख माग्न पनि नसक्ने हैसियतमा पुगेको भन्दै उनले यस्ता ‘नक्कली स्याल’ र ‘भेडाको छाला ओढेका ब्वाँसा’ हरूको पर्दाफास गर्नुपर्ने दाबी गरे ।
चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा एमाले नेताहरूले सांस्कृतिक पुनर्जागरण र विकासका ठूला कुरा गरे पनि ओली र बस्नेतका अभिव्यक्ति राजनीतिक प्रतिशोध र आफ्ना कमजोरी ढाकछोप गर्नेतर्फ लक्षित देखिन्छन् । काम नगरी गफ मात्र दिने पुराना नेताहरूको कार्यशैलीबाट आजित भइसकेका नागरिकले गत निर्वाचनबाट भोट अन्तै मोडेका थिए । तर तिनैका अगाडि ओलीले दिएको ‘काम बहादुर’ बन्ने उपदेशले उल्टै नेताहरूकै पतन र राजनीतिक विकृतिलाई उजागर गरिदिएको छ ।


