सर्लाही । सर्लाहीमा लागुऔषध दुव्र्यसनीको संख्यामा दिनप्रतिदिन व्यापक बृद्धि भइरहेको छ । भारतसँगको खुल्ला सिमा र सिमापारीको बजारमा सहज रुपमा पाइने भएकाले पनि सीमावर्ती जिल्ला सर्लाहीमा दिन प्रतिदिन दुब्र्यवसनीको अवस्था भयावह बन्दै गएको छ । सर्लाही लागूऔषध सेवनकर्ताको लागि मात्र नभई कारोबारीको लागि पनि हब बन्दै गएको देखिन्छ ।
आर्थिक बर्ष २०८३\०८४को साउनदेखि हालसम्म ३ महिनाकै अन्तरालमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले २ हजार किलो भन्दा बढि गाजा, २३ ग्राम हेरोइन, करिब १४ हजार ५०० थान क्याप्सुल, ३ सय ५८ थान एम्पुल\बोतल तथा ८ सय ३७ लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको छ । सोही क्रममा लागुऔषध कारोबार गर्ने ३४ जना कारोबारी तथा ४९ जना सेवन कर्तालाई लागुऔषध सहित नियन्त्रणमा लिएर मुद्धा चलाइएको छ ।
प्रतिवादी मध्ये झण्डै २५ प्रतिसत लागुऔषध मुद्दामा थुनामा छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र पौडेलका अनुसार सर्लाहीमा लागु औषधको समस्या चिन्ताजनक रहेको छ । लागुऔषध नियन्त्रण गर्न सिमा पारी भारतीय प्रहरी युनिटसँग पनि समन्वय गरि कार्य भईरहेको प्रहरी उपरीक्षक पौडेलको भनाई छ ।
सर्लाहीमा लागुऔषधको समस्या भयावह रहेको । खुल्ला सिमाका कारण सिमापारी लागु औषध सजिलै पाउने मात्र नभई कारोबारीले सर्लाहीको जुनसुकै ठाउमा समेत रोजेको लागु औषध पुर्याइदिने समेत गरेको सुधारकेन्द्र सञ्चालकहरु बताउँछन् । समाजमा स्थानीय सराकारवाला निकायको बेवास्ताका कारण पनि लागुऔषध समस्याले सर्लाहीमा जडा गाडिदै गएको उनीहरुको तर्क छ ।
लागु औषध जस्तो बिकराल समस्यामा समेत स्थानीय तहहरुले ध्यान नदिएको स्थानीय युवाहरुको गुनासो छ । मलंगवा भारतसँगको सीमावर्ती पालिका भएकोले यसका लागि िबजेट बिनियोजन गरेर समस्या समाधन तर्फ अग्रसर हुनुपर्ने स्थानीयको सुझाव छ ।
सर्लाहीको प्रत्येक गाउ टोल विद्यालय होस्टेल जस्ता ठाउमा कलिलादेखि वयस्क युवाहरु दुब्र्यवसनीको शिकार बनेका छन् । करिब ५३ किलोमिटर खुल्ला सिमा रहेको सर्लाहीमा फैलिएको लागु औषधको समस्या प्रहरी र सुरक्षाकर्मीको कडाईले मात्र समाधान वा न्युनीकरण हुन नसक्ने जानकारहरु बताउछन् । राज्यका तिनै तहको सरकारले ठोस निति ल्याएर प्रभावकारी रुपमा कार्यान्वयन जरुरी छ ।


