News 24 Television
तराईमा मात्रै होइन, काठमाडौं पड्किरहेछ पटका

काठमाडौं । नेपालमा आतिसबाजी, भुइँचम्पा, रकेट लगायतका कुनै पनि जोखिमयुक्त विस्फोटक पदार्थ प्रयोग गर्न प्रतिबन्ध छ । तिहारमा विशेष रुपमा प्रयोग हुने यस्ता विस्फोटक पदार्थमा रोक लगाए पनि भारतसँगको खुला सीमाका तराईका जिल्लाहरुमा मात्र होइन, संघीय राजधानी काठमाडौंमा समेत प्रचुर मात्रामा पटकाहरु पड्किएका छन् । झण्डै एक दशकदेखि निषेधित यस्ता वस्तु हरेक वर्ष कसरी पुग्छ बजारमा ? कसरी भित्रिएका छन्, काठमाडौंमा समेत यस्ता विस्फोटक पदार्थहरु ? 

नेपालमा पटका अर्थावा विस्फोटक पदार्थको गैरकानुनी आयात, भण्डारण, बिक्री–वितरण र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको ८ वर्ष भयो । मुलुकी अपराध संहिता,२०७४ अनुसार, पटका जस्ता विस्फोटकजन्य सामग्रीहरू आयात तथा प्रयोगमा कडा प्रतिबन्ध छ । 

अझ अपराध संहिता २०७४ अघि नै दुई दशकदेखि नै प्रशासनिक निर्णयबाट यस्ता विस्फोटक पदार्थ विक्री तथा प्रयोगमा प्रतिवबन्ध लगाउने गरिएको हो । तर तराईका जिल्लाहरुमा मात्र होइन, संघीय राजधानी काठमाडौंमा समेत प्रतिबन्धित वस्तुहरु भित्रिरहेका छन् । प्रहरीको कडाइका बाबजुद काठमाडौं छिर्ने विभिन्न नाकाबाट कसरी छिर्ने गरेका छन् त यस्ता वस्तुहरु ? भन्नेमा प्रहरीसँग स्पष्ट जवाफ छैन । गोलमटोल जवाफ जवाफ दिन्छन् प्रहरी । 

मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ७ दफा १३८–१४६ विस्फोटक सम्बन्धी अपराधमा केन्द्रित छ । विष्फोटक पदार्थ उत्पादन गर्न नहुने भन्दै दफा १३८ (१) मा भनिएको छ– ‘कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका शर्त र बन्देज विपरीत हुने गरी कुनै पनि किसिमको विष्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन ।’

विष्फोटन भई क्षति पुर्याउने आइ.इ.डीस टी.एन.सी. एमाटोल, बारोटोल, पेन्टोलाइट, रÞ्यापिड डिटोर्नेटिभ एक्स्प्लोसिभ आर.डी. एक्स, टोर फेक्स, ब्लाष्टिक एक्स्प्लोसिभ, डाइनामाइट, बारुद, नाइट्रोग्लिसिरिन, जेलेग्नाइट, स्टेमाइट, सेल्साइट, डिटोनेटर, ब्लाष्टिक क्याप, विद्युतीय ब्लाष्टिक क्याप, फ्यूज, आतिसवाजी, पटाका, गन कटन, गन पाउडर ब्लास्टिक पाउडर, पारो (मर्करी) वा अन्य कुनै धातुको फुल्यूनेट, सोही प्रकृतिका विष्फोटन हुने अन्य कुनै पदार्थ वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कुनै पदार्थलाई विस्फोटन पदार्थको रुपमा संहितामा परिभाषित गरिएको छ ।  पटका र आतशबाजीको खरिदबिक्री, प्रयोग, सञ्चय, भण्डारण, ओसारपसार, आयातनिर्यात गरे तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना तोकिएको छ । प्रत्येक वर्ष गृह मन्त्रालयदेखि हरेक जिल्ला प्रशासन कार्यालयहरुबाट सूचना प्रवाह गरिन्छ । तर प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । 

तिहार र छठ दुवै उज्यालो र आस्थाका पर्व हुन्, तर तिनको मूल धार्मिक परम्परामा पटका अनिवार्य होइन । तर आवाज र चमकलाई उत्सवको अभिन्न हिस्सा मान्ने प्रवृत्ति बढेको छ । बालबालिका र युवाका लागि यो क्षणिक रोमाञ्च हो । खुला सीमाका बजारबाट पाइने सहजताले पनि यसलाई फैलाएको छ । 

यस्ता वस्तुहरुको प्रयोगले वर्सेनि दुर्घटनाहरु निम्त्याएका छन् । यो वर्ष पनि पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पड्काउने क्रममा छर्रा लागेर स्थानीय रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनीको मृत्यु भयो । यस्ता दुर्घटनाका बाबजुद पनि क्षणिक रमाइलोका लागि यस्ता वस्तुहरुको प्रयोग भइ रनै रहेका छन् । 

यस्ता वस्तुहरु प्रयोग, विक्री वितरण नियन्त्रणका लागि नियमनकारी निकायको भूमिका थप प्रभावकारी हुन जरुरी छ भने हरेक नागरिक जिम्मेवार हुन जरुरी छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update