काठमाडौं । सामाजिक न्याय र मानवीय सेवाको अनुपम उदाहरण प्रस्तुत गरेका राष्ट्रिय विभूति शंखधर साख्वाको योगदान स्मरण गर्दै नेपाल संवत् ११४७ आज देशभर मनाइँएको छ । नेवाः समुदायले न्हूदँया भिन्तुना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गरेका छन् । यसै दिन साँझ म्हः पूजा गर्ने प्रचलन रहेको छ ।
सामाजिक न्याय, समानता र मानवीय सेवाको अनुपम उदाहरण प्रस्तुत गरेका राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानको स्मरण गर्दै नेपाल संवत् ११४७ मंगलवार देशभर विविध कार्यक्रम आयोजना गरी बनाइएको छ । नेवाः समुदायले नयाँ वर्षको पहिलो दिन एकअर्कालाई न्हूदँया भिन्तुना अर्थात् नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ नेपाल संवत्को नयाँ वर्षको स्वागत गरेका छन् ।
नेपाल संवतका प्रवर्तक शंखधर साख्वा इतिहासमा एउटा संवत् चलाउने व्यक्ति मात्रै होइनन् । उनले वि.सं ९३७ मा तत्कालीन कान्तिपुर र भक्तपुरका ऋणमा डुबेका सर्वसाधारणको ऋणमोचन गरिदिएको ऐतिहासिक जनश्रूति छ ।
राज्यसत्ता र धनसम्पत्तिको आडमा होइन सर्वसाधारणलाई ऋणको बोझबाट मुक्त गराएर सामाजिक न्याय र मानवीय सेवाको उदाहरण प्रस्तुत गर्ने उनको कदम आजपनि उत्तिकै प्रेरणादायी छ । अरूको दुःखलाई आफ्नै सम्पत्तिभन्दा ठूलो ठानेर जनताको जीवनमा परिवर्तन ल्याउने उनको यही उदारता नेपालकै इतिहासमा दुर्लभ सामाजिक योगदानका रूपमा स्मरण गरिन्छ ।
लिच्छविकालीन राजा राघवदेवको समयदेखि सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म नेपालको मौलिक संवतका रूपमा प्रचलनमा थियो । नेपालकै नामबाट स्थापित यो संवत् नेवाः सभ्यता र राष्ट्रिय पहिचानसँग जोडिएको छ । विभिन्न कालखण्डमा भएका आन्दोलन, अभियान र सांस्कृतिक जागरणले नेवाः भाषा, लिपि, कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
विसं २००७ मा प्रजातन्त्र स्थापनापछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन अभियान सुरु भएको थियो । लामो संघर्ष र निरन्तर दबाबपछि विसं २०५६ मा सरकारले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए । अहिले सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने अभ्याससमेत सुरु भएको छ ।
काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा भीमेश्वरलगायत स्थानमा नेपाल संवत् विशेष उत्साहका साथ मनाइँदैछ । नयाँ वर्षको पहिलो दिन नेवाः समुदायले साँझ म्हः पूजा पनि गर्छन् । आफ्नै शरीर र आत्माको पूजा गर्दै सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गरिने यो परम्पराले मानिसले आफ्नै अस्तित्व र जीवनको सम्मान गर्नुपर्ने सन्देश दिन्छ । मण्डप बनाएर सगुन, फूल, फलफूल र विभिन्न परिकारसहित गरिने म्हः पूजाले आत्मसम्मान र सकारात्मक जीवनदृष्टिलाई महत्व दिन्छ ।
यसरी नेपाल संवत् ११४७ ले शंखधर साख्वाको सामाजिक न्यायको आदर्श, नेवाः समुदायको सांस्कृतिक निरन्तरता र नेपालको मौलिक पहिचानलाई पुनः स्मरण गराएको छ । ऋणमुक्त समाजको परिकल्पना गर्ने शंखधरको योगदान नयाँ पुस्ताका लागि पनि समानता, सहअस्तित्व र मानवीय सेवाको प्रेरणास्रोत बनेको छ ।


