News 24 Television
शैलुङ बन्दै चलचित्र छायाङ्कनको नयाँ गन्तव्य

दोलखा । प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र आकर्षक हिमाली दृश्यका कारण दोलखाको शैलुङ पछिल्लो समय नेपाली चलचित्रकर्मीको रोजाइमा पर्न थालेको छ । चलचित्र छायाङ्कनका लागि सम्भावनायुक्त गन्तव्यका रूपमा विकसित हुँदै गएको शैलुङमा यस वर्ष मात्रै ६ वटा नेपाली चलचित्रको छायाङ्कन सम्पन्न भएको छ । तीमध्ये तीनवटा चलचित्र प्रदर्शनमा समेत आइसकेका छन् ।

चलचित्र छायाङ्कनका लागि शैलुङप्रति बढ्दो आकर्षणले यस क्षेत्रलाई चलचित्र पर्यटनको नयाँ केन्द्रका रूपमा विकास गर्ने सम्भावना देखाएको छ ।

समुद्री सतहबाट करिब तीन हजार मिटरको उचाइमा अवस्थित शैलुङ प्राकृतिक दृश्य, हरियाली डाँडाकाँडा, खुला मैदान, ग्रामीण बस्ती र हिमाली भू(दृश्यका कारण चलचित्र छायाङ्कनका लागि उपयुक्त मानिन्छ । एउटै क्षेत्रमा विभिन्न प्रकारका प्राकृतिक तथा सांस्कृतिक दृश्य उपलब्ध हुनु यसको विशेषता हो । 
नेपाली चलचित्रहरूको छायाङ्कन बढ्दै गएको शैलुङमा विदेशी चलचित्र निर्माण समूहले समेत छायाङ्कनका लागि तयारी गरिरहेको जानकारी प्राप्त भएको छ । विदेशी चलचित्र निर्माण समूहको सम्भावित आगमनले यस क्षेत्रको अन्तर्राष्ट्रिय चलचित्र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउन सक्ने देखिन्छ ।

तर चलचित्र छायाङ्कनका लागि प्राकृतिक सौन्दर्य मात्रै पर्याप्त हुँदैन । सडक तथा यातायात सुविधा, आवास, खानपान, विद्युत्, सञ्चार, प्राविधिक जनशक्ति र छायाङ्कन व्यवस्थापनजस्ता आधारभूत पूर्वाधार पनि आवश्यक हुन्छन् ।

यसका लागि शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिकाले संयुक्त रूपमा दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने देखिन्छ । शैलुङदेखि तामाकोशीसम्मको भूभागलाई समेटेर चलचित्र छायाङ्कन क्षेत्रका रूपमा विकास गर्न सके यसले दोलखाको पर्यटन, स्थानीय रोजगारी र आर्थिक गतिविधिमा नयाँ सम्भावना सिर्जना गर्न सक्छ ।

स्थानीयस्तरमा होटल तथा होमस्टे व्यवसाय, यातायात, स्थानीय उत्पादन, सांस्कृतिक कार्यक्रम र अन्य सेवा व्यवसाय विस्तार हुने अवसरसमेत चलचित्र छायाङ्कनले प्रदान गर्न सक्छ । चलचित्र निर्माणका क्रममा स्थानीय कलाकार, प्राविधिक तथा श्रमिकलाई सहभागी गराउने वातावरण बनाउन सके स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन सक्नेछन् ।

यसका लागि दुई स्थानीय तहबीच समन्वय, सम्भावित छायाङ्कन स्थलको पहिचान, आवश्यक पूर्वाधार निर्माण, चलचित्र निर्माण कम्पनीसँग सहकार्य र छायाङ्कनसम्बन्धी स्पष्ट नीतिगत व्यवस्था आवश्यक देखिन्छ ।

प्राकृतिक सम्पदाको संरक्षण गर्दै चलचित्र पर्यटनलाई व्यवस्थित रूपमा अघि बढाउन सके शैलुङ केवल पर्यटकीय गन्तव्यमा सीमित रहने छैन, चलचित्र छायाङ्कनको आकर्षक केन्द्रका रूपमा समेत स्थापित हुन सक्नेछ ।

शैलुङमा बढ्दै गएको चलचित्र छायाङ्कनको आकर्षणलाई दीर्घकालीन अवसरमा रूपान्तरण गर्ने जिम्मेवारी अब स्थानीय सरकार र सम्बन्धित सरोकारवालाको काँधमा आएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update