News 24 Television
चुनावको तीव्र तयारीमा दल, जितको ढिपी कस्ने को–को ?

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । आयोगले आगामी चैत ५ गते निर्वाचन गर्ने प्रस्ताव गरेपनि यसको निर्‍क्यौल सरकारको तयारी र दलहरुको बैठकको निश्कर्षले नै गर्नेछ । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै निर्वाचन गर्नुपर्ने बाध्यताका कारण आगामी बैशाख भन्दा अघि नै नयाँ जनप्रतिनिधि चुनिनेछन् । सरकारले पनि आगामी चैतभित्रै चुनाव गर्ने तयारी गर्दा निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमै निर्वाचन हुनसक्ने देखिन्छ । यता दलहरु भने स्थानीय तहको निर्वाचनका लागि ठूलै तयारीमा लागेका छन् । यो निर्वाचन विगतकोभन्दा फरक हुने  बुझाइका साथ पूराना दलहरु जनमत आफ्नो पक्षमा कसरी पार्ने भन्ने चिन्तामा देखिन्छन् । उता नयाँ दल रास्वपा तथा श्रम संस्कृति पार्टीले पनि पहिलो पटकको स्थानीय तहको निर्वाचनमा धमकेदार इन्ट्रि गर्ने उदेश्यले विभिन्न रणनीति अपनाइरहेका छन् । 

कुन–कुन दलको तयारी कस्तो ? 

सत्तारुढ दल एवं हाल प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको रास्वपाले स्थानीय तहको निर्वाचनका लागि ठूलो मेहनत गरिरहेको छ । उसले महानगर, उपमहानगर, गाउँपालिका तथा वडा तहका लागि आवेदन नै खुलाएर उम्मेदवार छनौँट गर्दैछ । उसले क्यान्डिडेट क्लवमार्फत प्रशिक्षण नै गराएर स्थानीय तहको उम्मेदवार प्रतिस्पर्धामा ल्याउने तयारी गरेको छ । यसका लािग आवेदन तथा प्रशिक्षणको प्रकृया रास्वपाले अघि बढाइसकेको छ । उता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि पार्टीको १५औँ महाधिवशेन सम्पन्न गरेर पार्टी संगठनलाई थप मजबुद र सशक्त पार्दै स्थानीय तहको निर्वाचन केन्द्रीत गतिविधि बढाइरहेको छ । काँग्रेसले मंसिर १ गतेदेखि नै ‘हामी तयार छौं’ अभियान आरम्भ गरेको देखिन्छ । यो अभियानमा तीन लाख नेता–कार्यकर्ता परिचालन हुने काँग्रेसको दावी छ । 

कांग्रेसले यो अभियानलाई स्थानीय तहको निर्वाचनको तयारी, संगठनको प्रभावकारिता अभिवृद्धि, पार्टीको आन्तरिक रूपान्तरण र प्रतिपक्षीय भूमिका सशक्त बनाउने उद्देश्यसँग जोड्ने प्रयास गरेको हो । यस्तै काँग्रेसकै देउवा पक्षले पनि आगमी निर्वाचन लक्षित कार्यक्रमलाई जोड दिइरहेको छ । १५औँ महाधिवेशनको तयारी गरिरहेको देउवा पक्षले पालिका तथा जिल्ला अधिवेशन गर्दै गगन पक्षकै काँग्रेसलाई समेत चुनौती दिने तयारी गरेको छ । यस्तै नेकपा एमालेले पनि स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आफ्नो अभियान तीव्र पारेको छ । 

एमालेको बुधबारदेखि आरम्भ भएको राष्ट्रिय भेलासमेत स्थानीय तहको निर्वाचन केन्द्रीत अभियान हो । यो भेलामा स्थानीय तहको निर्वाचनको तयारी र पार्टी सङ्गठन परिचालनलाई प्राथमिकता दिन ३ हजार ४१४ जना नेता कार्यकर्ता सहभागी भएका छन् । एमालेले गत फागुन २१ को निर्वाचनभन्दा आगामी स्थानीय तहको निर्वाचन सहज बन्दै गएको भन्दै परिणाममा पनि आफूहकै पक्षमा आउने दावी गर्न थालेको छ । 

उता नेपाल कम्युनिष्ट पाटी (नेकपा) पनि आगमी निर्वाचनको तयारीम गहन ढंगले लागेको छ । विभिन्न कम्युनिष्ट पार्टीहरुसँगको एकतापछि हौसिएको नेकपा आफूलाई विगतको भन्दा मजबुद अनूभूत गर्दैछ । यद्यपि नेकपाको जनाधार र संगठन भने कजोर नै देखिन्छ । यसलाई मध्यनजर गरेर उसले आफ्नो अस्थित्व रक्षाका लागि कम्युनिष्ट एकता वा गठबन्धनको विकल्प दिँदै निर्वाचनमा होमिने तयारी गरेको छ । सम्वभतः यो स्थनीय तहको निर्वाचनमा नेकपा र नेकपा एमालेले गठबनधन गरेर निर्वाचनमा जानेछन् । यसैलाई  तालमेल मिलाउन दुई दल अहिले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्ने तयारीमा देखिएका छन् । 

उता श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पनि निर्वाचनको सामना गर्न तयार देखिएका छन् । राप्रपाले निर्वाचनमा नयाँ उत्साहसहित सामेल हुनका लागि आगामी मंसिर २८ गतेदेखि आठौँ महाधिवेशन गर्दैछ । पार्टीको संगठन र स्वरुपलाई नै फ्रेस बनाएर पार्टी अघि बढ्दा जनमत आफ्नो पक्षमा आउने राप्रपाको अपेक्षा छ । यस्तै पहिलो पटक स्थानीय तहको निर्वाचन सामना गर्न लागेको श्रम संस्कृति पार्टी पनि विशेषगरी कोशी प्रदेशमा सशक्त ढंगले अभियान गरिरहेको छ । 

पछिल्लो समय पार्टी अध्यक्ष हर्क साम्पाङ कोशीका पहाडी जिल्लाहरुमा अभियान गरिरहेका छन् । उनले हालै इलाम, पाँचथर, तेह्रथुम तथा ताप्लेजुङका विभिन्न स्थानीय तहमै पुगेर निर्वाचन लक्षित कार्यक्रम गरे । 

यसपाली कता जाला जनमत ? 

२०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पहिलो, नेकपा एमाले दोस्रो तथा तत्कालीन नेकपा मओवादी केन्द्र तेस्रो भएको थियो । तर यो निर्वाचनमा भने कुन दलको अवस्था के होला ? भन्ने पूर्वाअनुमान गर्न सकिने अवस्था छैन । किनकी यो ५ वर्षको अवधिमा जेनजी आन्दोलनसँगै मुलुकमा ठूला राजनीतिक परिवर्तन भएको छ । यो अवधिमै रास्वपा तथा श्रम संस्कृति पार्टीजस्ता नयाँ दलहरुको पनि उदय भएको छ । 

यस्तोमा यो निर्वाचनको नतिजामा नयाँहरुको प्रभाव पर्ने प्रष्ट देखिन्छ । यसर्थ आगामी निर्वाचनमा पनि रास्वपा तथा श्रम संस्कृति पार्टीले नै वर्चश्व जमाउने विश्लेषण भइरहेका छन् । नेकपाले गबन्धन गरेर वा काँग्रेसले पार्टीमा विद्रोहमार्फत पुराना नेतालाई विस्थापित गरेको दावी गरेपनि जनताले तिनै दललाई पुनः विश्वास गर्ने संभावना क्षिण छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update