इलाम । धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम माईपोखरी इलामको एक उत्कृष्ठ धार्मिक तथा पर्यटकिय गन्तब्य हो । विश्व रामसार क्षेत्रमा सुचिकृत माईपोखरीमा हिउँद लागेसँगै धार्मिक आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
धार्मिक आस्था, जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण इलामको माईपोखरी आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । इलाम सदरमुकामबाट उत्तरतर्फको क्षेत्रमा अवस्थित माईपोखरी धार्मिक, सांस्कृतिक र पर्यावरणीय दृष्टिले महत्वपूर्ण स्थलका रूपमा परिचित छ । हरियाली वनजङ्गलले घेरिएको माईपोखरीको शान्त वातावरण, स्वच्छ पानी र प्राकृतिक सुन्दरताले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ ।
पोखरी वरिपरि रहेका वनस्पति, चराचुरुङ्गी तथा विभिन्न जीवजन्तुले यसको पर्यावरणीय महत्वलाई थप बढाएको छ । माईपोखरी समुद्री सतहबाट करिब २ हजार १२१ मिटरको उचाइमा अवस्थित छ ।
नौवटा कुना रहेको यस पोखरीलाई धार्मिक मान्यताअनुसार नौदेवीको प्रतीकका रूपमा लिने गरिन्छ । यहाँ हिन्दू, बौद्ध तथा किरात धर्मावलम्बीले समेत श्रद्धापूर्वक पूजा आराधना गर्ने गरेका छन् । विशेषगरी हरिबोधिनी एकादशीमा भक्तजनको घुइँचो लाग्ने गर्छ । नवरात्रका अवसरमा पोखरीका नौवटै कुनामा नौ दिनसम्म पूजा गर्ने परम्परासमेत रहेको छ । हाल नेपालका बिभिन्न स्थानसँगै भारत, भुटान लगायत तेस्रो मुलुकबाट समेत पर्यटकहरुको आवागमन हुने गरेको छ ।
धार्मिक महत्वसँगै माईपोखरी जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण छ । यहाँ दुर्लभ वनस्पति, जडीबुटी, चराचुरुंगी तथा विभिन्न प्रजातिका वन्यजन्तु पाइन्छन् । यसको यही प्राकृतिक र पर्यावरणीय महत्वका कारण सन् २००८ अक्टोबर २८ मा माईपोखरीलाई अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्र अर्थात् रामसार सूचीमा सूचीकृत गरिएको हो । पछिल्लो समय माईपोखरीमा घुमफिर, धार्मिक दर्शन तथा प्रकृतिको अवलोकनका लागि पुग्ने पर्यटकको आकर्षण बढ्दै गएको छ । यहाँ बिशेष गरेर धार्मिक पर्यटकहरु बढि मात्रामा आउने गरेका छन् ।
तर, यस क्षेत्रको दीर्घकालीन पर्यटन विकासका लागि प्राकृतिक सम्पदा संरक्षण, सरसफाइ, पूर्वाधार व्यवस्थापन र प्रभावकारी प्रचारप्रसारमा ध्यान दिन आवश्यक छ । धार्मिक आस्था र प्राकृतिक सम्पदाको अनुपम संगम रहेको माईपोखरीलाई व्यवस्थित रूपमा संरक्षण र प्रवद्र्धन गर्न सके इलामको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।


