News 24 Television
शिक्षकको कृषिमा चमात्कार, बर्सेनी लाखौँ कमाउँदै

म्याग्दी । विद्यालयमा विद्यार्थीको शैक्षिक नतिजा उत्कृष्ट बनाउने लक्ष्यसहित शिक्षण नेतृत्व गरिरहेका एक प्रधानाध्यापक आफ्नै बगैँचामा सुन्तला र कागती फलाएर आर्थिक समृद्धिको बाटो समेत खोज्दै छन् । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजास्थित महेन्द्र रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णलाल सापकोटा शिक्षण पेसासँगै व्यावसायिक फलफूल खेतीमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् । 

शिक्षण पेसाको जिम्मेवारी निर्वाह गर्दै आएका म्याग्दीको मंगला गाउँपालिका–३ बरंजास्थित महेन्द्र रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णलाल सापकोटाले कृषि कर्मलाई पनि निरन्तरता दिएका छन् । 

विद्यार्थीलाई शैक्षिक क्षेत्रमा ए प्लस र ४ जीपीएसम्मको नतिजा दिलाउने प्रयासमा रहने सापकोटा आफ्नै बगैँचामा भने सुन्तला र कागतीको उत्पादनबाट त्यस्तै सफलता खोजिरहेका छन् । उनले सुन्तला खेतीबाट गत वर्ष मात्रै पाँच लाख रुपैयाँको उत्पादन बिक्री गरेका थिए ।

उनको कृषि यात्रा वि.सं. २०५४ सालबाट सुरु भएको हो । त्यतिबेला उनले सामान्य रूपमा २५ देखि ३० वटा सुन्तलाका बिरुवा रोपेर खेतीको सुरुवात गरेका थिए । त्यसपछि वि.सं. २०६५÷६६ मा थप १२३ वटा सुन्तलाका बोट रोपेर खेती विस्तार गरेको सुनाउँछन् । वि.सं. २०६८ देखि सुन्तला बिक्री गरेर नियमित आम्दानी लिन थालेका उनले पहिलो वर्ष २५ हजार रुपैयाँको सुन्तला बिक्री गरे ।  

सामान्य रूपमा सुरु भएको सुन्तला खेतीलाई विस्तार गर्दै उनले आठ रोपनीबाट बढाएर २४ रोपनी क्षेत्रफलमा पु¥याएका छन् । गत वर्ष सुन्तला बिक्रीबाट पाँच लाख रुपैयाँ आम्दानी गरेका सापकोटाको बगैँचाका सबै बोटले राम्रो उत्पादन दिन थालेमा आम्दानी अझै बढ्ने उनको भनाई छ । 

सुन्तला खेतीमा प्राप्त अनुभव र सम्भावनालाई थप विस्तार गर्ने क्रममा उनले अन्य दुइ जना साथीसँग मिलेर १२ रोपनी जग्गा भाडामा लिएर कागती खेती समेत सुरु गरेका छन् । स्थानीय डिलाराम कँडेल र प्रकाश तुलाचन सहितको साझोदारीमा कागती खेती पनि गरेका छन् । उक्त जग्गामा सुन कागतीका बिजु र कलमी गरेका ६०० बिरुवा रोपिएका छन् ।

कागती खेतीले पनि उत्पादन दिन थालेको छ । गत वर्ष ५० किलो कागती बजारमा पठाउन सफल भएका सापकोटाले यस वर्ष करिब १५० किलो कागती बजारमा पठाउन सकिने बताएका छन् । यसवर्ष कागती प्रतिकिलो १५० रुपैयाँ र सुन्तला प्रतिकिलो ८० रुपैयाँमा बिक्री हुने अपेक्षा गरिएको छ । 

६०० वटै कागतीका बिरुवाले राम्रो उत्पादन दिन थालेमा यसबाट हुने आम्दानी पनि उल्लेख्य रूपमा बढ्ने उनको अपेक्षा छ । बेनी बजारका फलफुल तथा तरकारीका थोक बिक्रेता शिव सुवेदीका अनुसार स्थानीय बजारमा कागतीको माग राम्रो भए पनि पर्याप्त उत्पादन नहुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ ।

किसानले ठूलो परिमाणमा कागती बजारमा ल्याउन नसक्दा बाँकी समयमा भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको व्यापारीहरू बताउँछन् । स्थानीय उत्पादनको सिजनमा कागती प्रतिकिलो १२५ देखि १५० रुपैयाँसम्ममा खरिदबिक्री हुने गरेको छ । भारतबाट आयात गरिएको कागतीको मूल्य भने प्रतिकिलो २०० देखि २५० रुपैयाँसम्म पर्ने गरेको व्यापारीहरूको भनाइ छ । 

स्थानीय बजारमा कागतीको माग राम्रो रहेपनि उत्पादन न्यून भइरहेको अवस्थामा सापकोटाले सुरु गरेको व्यावसायिक खेतीले बजारको माग पूरा गर्न र आयात प्रतिस्थापन गर्न सक्ने सम्भावना देखाएको छ । 

शिक्षण पेसा र कृषि कर्मलाई सँगसँगै अघि बढाउन सजिलो छैन । तर समय व्यवस्थापन, निरन्तर मेहनत र इच्छाशक्तिले दुवै क्षेत्रमा सम्भावना खोज्न सकिन्छ भन्ने उदाहरण सापकोटाले प्रस्तुत गरेका छन् । 

विद्यालयमा विद्यार्थीको शैक्षिक उपलब्धि सुधार गर्दै उत्कृष्ट नतिजाका लागि प्रयासरत उनी कृषि क्षेत्रमा पनि उत्पादन र आम्दानी बढाउने लक्ष्यमा छन् । शिक्षण पेसामा आबद्ध व्यक्तिले पनि कृषि क्षेत्रमा सम्भावना खोज्न सक्छन् भन्ने उनको कृषि यात्राले स्थानीय किसान तथा युवालाई प्रेरणा दिन सक्छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update