News 24 Television
पोखराबाट गज्जबको फेस्ट, फोहोरबाट कमाउने आइडिया

कास्की । फोहोरलाई समस्या होइन, सम्भावित आम्दानीको स्रोतका रूपमा उपयोग गर्न सकिन्छ भन्ने सन्देशसहित पोखरामा बुधबारदेखि आरयू फेस्ट सुरु भएको छ । प्रयोगपछि फालिने प्लास्टिक, कपडा तथा अन्य सामग्रीलाई पुनःप्रयोग गरेर आकर्षक र उपयोगी वस्तु बनाउनेदेखि हरित उद्यमशीलता प्रवद्र्धनसम्मका गतिविधि महोत्सवमा समेटिएका छन् । 

कुनै समय प्रयोगविहीन भएर सडक, खोलानाला र डम्पिङ साइटमा पुग्ने वस्तु अहिले आकर्षक सामग्रीमा रूपान्तरण भएका छन् । पुराना कपडाबाट तयार गरिएका कलात्मक सामग्री, प्लास्टिकबाट बनेका उपयोगी वस्तु र पुनःप्रयोग गरिएका सामग्रीबाट निर्मित सिर्जनाले फोहोरको अर्को सम्भावना देखाइरहेका छन् । 

फाल्नुपर्ने वस्तु पनि सही सीप, प्रविधि र सिर्जनशीलता प्रयोग गर्न सके आम्दानीको स्रोत बन्न सक्छ भन्ने सन्देश आरयू फेस्टले दिन खोजेको छ । पोखरा पर्यटकीय सहर भए पनि यहाँ उत्पादित फोहोरको उचित व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको छ । घर, होटल, रेस्टुरेन्ट, बजार तथा सार्वजनिक स्थलबाट निस्कने फोहोरको ठूलो हिस्सा अझै पनि पूर्ण रूपमा वर्गीकरण र पुनःप्रयोग हुन सकेको छैन । 

कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसिँदा पुनःप्रयोग गर्न सकिने सामग्रीसमेत अन्ततः विसर्जन गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा फोहोरलाई स्रोतका रूपमा उपयोग गर्ने अवधारणा प्रभावकारी बन्न सक्छ ।यही सोचलाई व्यवहारमा उतार्ने उद्देश्यले पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा आरयू फेस्ट आयोजना गरिएको हो । 

‘रि–थिङ्क’ अर्थात् फोहोर र त्यसको व्यवस्थापनबारे पुनः सोचौँ भन्ने अवधारणामा आधारित महोत्सवले फोहोर न्यूनीकरण, पुनःप्रयोग, पुनःप्रशोधन र हरित उद्यमशीलतालाई जोड दिएको छ । दुई दिनसम्म सञ्चालन हुने फेस्टमा ४० भन्दा बढी स्थानीय हरित उद्यमीले आफूले उत्पादन गरेका सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखेका छन् । यसले फोहोरबाट उत्पादन गर्न सकिने सामग्रीको सम्भावना देखाउनुका साथै यस्ता वस्तुको बजार विस्तार गर्ने अवसरसमेत प्रदान गरेको छ ।

महोत्सवमा उद्यमीका उत्पादनसँगै विद्यार्थी तथा युवा नवप्रवर्तकका सिर्जनालाई पनि प्राथमिकता दिइएको छ । विद्यालयमा सञ्चालित आरयू क्लबका विद्यार्थीले पुनःप्रयोगमा आधारित सामग्री प्रदर्शन गरिरहेका छन् । अपसाइकल फेसन, कला प्रदर्शनी, सिर्जनात्मक कार्यशाला तथा ट्रेजर हन्ट रनजस्ता गतिविधिले वातावरण संरक्षणको अभियानलाई नयाँ पुस्तासँग जोड्ने प्रयास गरेका छन् । 

पोखरा महानगरपालिकाले यस अभियानमार्फत तीन हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारेको छ । फोहोर संकलन, वर्गीकरण, प्रशोधन, पुनःप्रयोग र त्यसबाट नयाँ सामग्री उत्पादन गर्ने प्रक्रियालाई उद्यमसँग जोड्न सके रोजगारीका नयाँ अवसर सिर्जना हुन सक्छन् । तर, त्यसका लागि सीप विकास, लगानी, प्रविधि र उत्पादनको बजार सुनिश्चित गर्नु आवश्यक छ ।

त्यस्तै, फोहोर वर्गीकरण र पुनःप्रयोगको अभ्यासलाई नागरिकको दैनिक व्यवहारमा स्थापित गर्न स्थानीय तहको सेवा प्रवाह र नीतिगत व्यवस्था पनि प्रभावकारी बनाइने जनाइएको छ । यता गण्डकी प्रदेश सरकारले पनि वातावरण सन्तुलन र हरित योजनामा सहकार्य गरी अघि बढेको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको भनाइ छ ।

आरयू फेस्टले फोहोरलाई आम्दानी र रोजगारीको स्रोतका रूपमा हेर्ने नयाँ सोच अघि सारेको छ । तर, दुई दिनको प्रदर्शनी र उत्सवले मात्रै पोखराको फोहोर व्यवस्थापनको समस्या समाधान हुँदैन । 

घरघरमा फोहोर वर्गीकरण, पुनःप्रयोग गर्ने उद्योगको विकास, उत्पादनको बजार सुनिश्चितता र महानगरको निरन्तर सहयोग आवश्यक हुन्छ । तर महोत्सवमा देखाइएका सिर्जना र सम्भावनालाई व्यवहारमा उतार्न सकिए मात्रै फोहोरबाट मोहोर बनाउने अभियानले सार्थकता पाउनेछ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update