News 24 Television
मन्दिर संरक्षणका लागि भन्दै बस्तीमा चल्यो डोजर

सर्लाही । सर्लाहीको कौडेना गाउपालिका १ सुखचैनास्थित महादेवस्थानमा जग्गा अतिक्रमण गरि घर बनाएको भन्दै कौडेना गाउँपालिकाले डोजर चलाएको छ । गाउँपालिकाले मन्दिरको ४ कठा १७ धुर जग्गा अतिक्रमण गरिएको भन्दै डोजर चलाएर घर टहरा भत्काइदिएको हो । 

सर्लाहीको कौडेना गाउपालिकाले मन्दिर वरिपरिका सार्वजनिक जग्गा अतिक्रमण गरि घर टहरा बनाएको भन्दै ६ वटा घर डोजर लगाएर भत्काइदिएको छ । गाउपालिका अध्यक्ष, वडा अध्यक्ष, स्थानीय र सुरक्षाकर्मीको बाक्लो उपस्थितीमा घर टहराहरु भत्काइएको हो ।  

अतिक्रमित जग्गाको मुचुल्का उठाई खाली गर्न ३ पटक गाउँपालिकाले सूचना निकाले पनि  खाली नगरिएपछि गाउँपालिका आफैले अतिक्रमित जग्गा खाली गराएको नगरपालिकाले जनाएको छ । जग्गा खाली गराउन अन्तिम पटक निकालेको सूचनाकोपनि ७ दिन भन्दा बढि म्याद नाघेकोले बाध्य भई डोजर चलाउनु परेको  कौडेना गाउपालिकाका अध्यक्ष रुपेश यादवले बताएका छन् । 

३५–४० वर्ष अगाडिदेखि नै मन्दिर वरपर बस्ने स्थानीयले बिस्तारै अतिक्रमण गर्दै पक्की घर समेत निर्माण गरेको स्थानीयको दाबी छ । मन्दिर रहेको सार्वजनिक जग्गामा पक्की घर नै निर्माण गरेको भन्दै स्थानीयले दबाब दिएपछि गाउँपालिकाले ती घर टहराहरु भत्काएको हो । 

करिब एक वर्ष अगाडि अतिक्रमित सरकारी र ऐलानी जग्गा सम्बन्धी उजुरी दिन नेपाल सरकारले आह्वान गरेको बेला नै आफुले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन  दर्ता गराएको स्थानीय सुरेन्द्र महतोले बताए । उनका अनुसार मन्दिरको अतिक्रमित जग्गा खाली गराउन उजुरी गरेपनि सुनुवाई भएको थिएन । स्थानीयको चर्को जनदवाबपछि मात्रै अहिले स्थानीय सरकार एक्सनमा उत्रिएको उनको भनाई छ । 

तर सार्वजनिक जग्गा अतिक्रमण गरिएको भन्दै भत्काइएका घरधनीले भने आफ्ना विरोधीहरुको उक्साहटमा गाउँपालिकाले घर भत्काइदिएको भन्दै आक्रोश पोखेका छन् । आफ्नै जग्गामा बनेको घर भत्काएको भन्दै स्थानीय कृष्णदेव साह भने थप कानूनी उपचारमा जाने बताएका छन् । 

आफूसँग जग्गाधनी पूर्जा रहेको कृष्णदेव साहको दाबी छ । आफनो अगाडि मेलामा नाच नचाउन नदिएपछि स्थानीयले गलत सूचना दिएको उनको भनाई छ । न्यायको खोजीमा साह यसअघि नै अदालतसमेत पुगेका थिए । जनकपुर उच्च अदालतबाट परमादेश जारी भएको र परमादेश कार्यान्वयन गर्न उच्चबाटै जिल्ला प्रहरी कार्यालयमा पत्राचारसमेत भएको साहको दाबी छ । 

मठमन्दिर संरक्षण गर्न भन्दै गाउपालिकाको डोजर लगाएर घरहरु भत्काएपछि स्थानीयवासी दुई धारमा विभाजित भएका छन् । एक पक्षले भने आफ्नो लालपूर्जा भएको जग्गामा पालिकाले डोजर चलाएको भन्दै आक्रोश ब्यक्त गरेका छन् भने मन्दिरको नाममा रहेको जग्गा फिर्ता भएको भन्दै खुशी ब्यक्त गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update