काठमाडौँ । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदबाट राजीनामा दिएर सक्रिय दलीय राजनीतिबाट टाढिएकी श्रेष्ठले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयरमा प्रतिस्पर्धा गर्ने निर्णय सार्वजनिक गरेकी हुन् । श्रेष्ठले आफूले जीवन र कर्मबाट हासिल गरेको ज्ञान, सीप, अनुभव र विज्ञतालाई अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन् । उनले लेखेकी छन्– ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’
तर, श्रेष्ठले कुन राजनीतिक दलबाट चुनाव लड्ने वा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने भन्नेबारे भने खुलाएकी छैनन् । कुनै दलसँग सहकार्य गरेर चुनावी मैदानमा उत्रिने वा स्वतन्त्र रूपमा उम्मेदवारी दिने भन्ने विषय अब उनको आगामी राजनीतिक निर्णयमा निर्भर हुनेछ ।
श्रेष्ठ यसअघि रास्वपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन् । उनले २०८० फागुन २३ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । मन्त्री बन्नुअघि उनी रास्वपाको सहमहामन्त्री थिइन् । तर, शिक्षा मन्त्रालयको जिम्मेवारीमा रहेकै बेला उनले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । २०८२ भदौ नै गते भने उनी पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्ने तर कहिल्यै गल्ती स्वीकार नगर्ने भन्दै रास्वपा छाडेकी थिइन् ।
संसद् र सरकारमा रहँदा श्रेष्ठले शिक्षा क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएकी थिइन् । शिक्षामन्त्रीका रूपमा उनले विश्वविद्यालयलाई दलीय राजनीतिको प्रभावबाट मुक्त गर्दै शैक्षिक संस्थाहरूमा प्राज्ञिक वातावरण कायम गर्ने प्रयास गरेकी थिइन् । त्यस्तै शैक्षिक क्षेत्रमा व्यवस्थित कार्यतालिका आवश्यक रहेको भन्दै उनले संसद्को क्यालेन्डर निर्माणको विषयलाई जोडदार रूपमा उठाएकी थिइन् । संसद्मा क्यालेन्डर लागू गराउन उनले भूमिका खेलेकी थिइन् । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पनि उनी सक्रिय थिइन् ।
श्रेष्ठ काठमाडौं महानगरपालिका–२६ की स्थायी बासिन्दा हुन् । उनको शैक्षिक पृष्ठभूमि व्यवस्थापन, अर्थशास्त्र र गणितसँग सम्बन्धित छ । उनले अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) स्लोन स्कुल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी छन् । यसअघि उनले ब्रिन मार कलेजबाट अर्थशास्त्र र ह्याभरफोर्ड कलेजबाट गणितमा स्नातक गरेकी थिइन् ।
पूर्वमन्त्रीका रूपमा संघीय सरकारमा काम गरिसकेकी श्रेष्ठको स्थानीय तहको निर्वाचनमा प्रवेश गर्ने निर्णयले काठमाडौंको मेयर पदको प्रतिस्पर्धामा नयाँ राजनीतिक चासो थपेको छ । महानगरपालिकाको मेयर पदका लागि अन्य सम्भावित उम्मेदवारको चर्चा पनि चुलिएको छ । विभिन्न राजनीतिक दलमा आन्तरिक रूपमा केही नाम चर्चामा छन् । यद्यपि, अहिलेसम्म अधिकांश दलले औपचारिक रूपमा उम्मेदवार टुंग्याइसकेका छैनन् ।
एमालेबाट वर्तमान कार्यवाहक मेयर सुनिता डंगोलको नाम प्रमुख रूपमा चर्चामा छ । अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेबाट उपमेयर निर्वाचित भएकी डंगोल अहिले महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारीमा छिन् । महानगरको नेतृत्व सम्हालिरहेको अनुभवका कारण उनलाई एमालेबाट सम्भावित मेयर उम्मेदवारका रूपमा हेरिएको छ।
नेपाली कांग्रेसमा काठमाडौं महानगर सभापति सुसन वैद्यको नाम चर्चामा छ । उनीसँगै केही समयअघि कांग्रेस प्रवेश गरेकी प्रकृति भट्टराई बस्नेतको नाम पनि सम्भावित उम्मेदवारका रूपमा उठेको छ । यता, सत्तारुढ दल रास्वपाभित्र कमलप्रसाद पन्त, राजा शाक्यलगायतको नाम चर्चामा रहेको छ । त्यस्तै, श्रम संस्कृति पार्टीबाट भने विद्या श्रेष्ठको नाम चर्चामा रहेको छ । यसरी काठमाडौंको मेयर पदका लागि सुमना श्रेष्ठ, सुनिता डंगोललगायतका नाम चर्चामा आएका छन् । तर यीमध्ये कसले कुन दलबाट उम्मेदवारी दिने र कसलाई दलहरूले आधिकारिक उम्मेदवार बनाउने भन्ने विषय भने टुंगिन बाँकी छ ।


