बर्दिया । बर्दिया जिल्लाका विभिन्न विद्यालयहरूमा यतिबेला किशोरी आराम कक्ष स्थापना भइरहेका छन् । विशेषगरी विद्यालयमा अध्ययनरत रहेका छात्राहरूलाई अध्ययनरत रहेकै समयमा अर्थात् विद्यालय समयमा महिनावारी भए उनीहरुलाई आरामको आवश्यकता पर्ने भन्दै किशोरीहरूलाई आराम गर्नका लागि विद्यालयमा किशोरी आराम कक्षको स्थापना गरिएको हो ।
महिनावारी प्राकृतिक प्रक्रिया हो । तर महिनावारीकै कारण विद्यालयमा असहजता महसुस गर्नुपर्ने र पढाइ नै छाड्नुपर्ने अवस्था अझै पनि कतिपय किशोरीले भोगिरहेका छन् । यही समस्या समाधान गर्न बर्दियाका सामुदायिक विद्यालयमा किशोरी आराम कक्ष स्थापना गरिएको छ ।
बेड, बिस्तारा, पिउने पानी, तातोपानी र आवश्यक स्वास्थ्य सामग्रीसहितका यी कक्षले महिनावारीका बेला छात्राहरूलाई विद्यालयमै आराम गर्ने सुविधा दिएका छन् ।
बर्दियाको गुलरिया, बारबर्दिया, मधुवन, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाका विभिन्न विद्यालयमा यस्ता आराम कक्ष सञ्चालनमा छन् । महिनावारी हुँदा पेट दुख्ने, असहज हुने र शारीरिक कमजोरी महसुस गर्ने किशोरीलाई यसले राहत दिएको छ ।
विद्यालय समयमा महिनावारी हुँदा छात्राहरूलाई स्वास्थ्य समस्या हुन सक्ने भएकाले आराम कक्ष स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक बताउँछन् ।
आराम कक्षमा बेड, तातोपानी, स्वास्थ्य सामग्री र अध्ययनका लागि आवश्यक सामग्रीसमेत राखिएका छन् । किशोरीको समस्या बुझ्न शिक्षिकाको व्यवस्थासमेत गरिएको छ । महिनावारीकै कारण पढाइ प्रभावित नहोस् भन्ने उद्देश्य रहेको विद्यालयको भनाइ छ ।
यी कक्ष स्थापनाका लागि कोइकाको आर्थिक सहयोग र प्लान नेपालको सहकार्यमा राधाकृष्ण थारु जनसेवा केन्द्रले सामग्री तथा व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।
बालविवाह न्यूनीकरणसँगै किशोरीको शिक्षा निरन्तरताका लागि पनि सामाजिक संस्थाहरूले स्थानीय तहसँग समन्वय गरिरहेका छन् ।
महिनावारीलाई पढाइ छाड्नुपर्ने बाध्यता होइन सहज रूपमा व्यवस्थापन गर्न सकिने प्राकृतिक प्रक्रिया बनाउने प्रयासका रूपमा बर्दियाका किशोरी आराम कक्ष उदाहरणीय बनेका छन् ।


