News 24 Television
ग्रेटर नेपालको नक्सादेखि भारत भ्रमणसम्मः वालेन्द्रको दिल्ली दौड र आम चासो के ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मंसिर ६ र ७ गते भारको औपचारिक भ्रमण गर्ने भएका छन्। मन्त्रिपरिषद्बाट प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत भएको छ भने भारतमा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपतिसंग शिष्टाचार भेटवार्ता गर्नेछन भने भारतीय समकक्षीसंग दुई पक्षीय भेटवार्ता गरेर नेपाल फर्किनेछन् ।  

प्रधानमन्त्री वालेन्द्र शाहले अन्ततः भारत भ्रमण गर्ने निश्वित भएको छ। प्रधानमन्त्री वालेन्द्रले मंसिर ६ र ७ गते भारत भ्रमण गर्ने भएका हुन् ।

दुई दिने भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री वालेन्द्रले भारतमा भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसंग शिष्टाचार भेटवार्ता गर्नेछन भने भारतीय समकक्षी नरेन्द्र मोदीसंग दुई पक्षीय छलफल समेत गर्नेछन्। परराष्ट्रमन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी गराइसकेको छ । 

परराष्ट्रले प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा ३४ जना हुने जानकारी गराएको छ भने निजी क्षेत्रबाट भने आफ्नै खर्चमा ५२ जना उद्योी व्यवसायी भारत जानेछन् । प्रधानमन्त्री वालेन्द्र नेपाल एयरलाइन्सको नियमित उडानमार्फत शनिवार दिउसो दिल्ली प्रस्थान गर्नेछन् । 

उसोतः परराष्ट्रले प्रधानमन्त्रीको भारत भ्रमणमा मोदीले दिवा भोजको आयोजना गर्नेदेखि आर्थिक कुटनीतिलाई प्राथमिकता दिने भनिएको छ।

यता, मन्त्रिपरिषद्को बैठकले समेत प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण स्वीकृत गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भ्रमणमा सहभागी हुने भनिएको छ ।

लामो समयको रस्साकस्सीपछि प्रधानमन्त्रीको भारत भ्रमण हुन लागेकाले पनि नेपालमा धेरै नै चासो देखिएको छ। भने नेता तथा अन्य क्षेत्रका विज्ञले समेत विभिन्न विषयमा जोड दिन थालेका छन् । 

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा निजी क्षेत्रले समेत उल्लेख्य सहभागीता जनाउन लागेकाले यसलाई अर्थपूर्ण ठानिएको छ । 

सहकार्यमा चासो

नेपाल–भारतबीचको सहकार्य कसरी हुन्छ ? आर्थिक क्षेत्रमा कस्ता सहकार्य हुन्छन? ऊर्जा तथा पर्यटन शिक्षा क्षेत्रमा कसरी सहकार्यका मोडालिटी तयार गरिन्छन भन्ने चासो देखिन्छ।

विशेषतः ऊर्जा क्षेत्रमा विभिन्न परियोजनामा सहकार्यको चर्चा चलिरहेको छ भने भारतीय विश्व विद्यालयका शाखा नेपालमा खोल्नेदेखि एआईबारेको ज्ञान दिने विषयमा समेत सरकारले तयारी गरिरहेको छ। तर, यस्ता विषय कति सम्भव होलान ?पुराना धेरै सम्झौताहरु कार्यान्वयन नहुने अवस्थामा अहिले हुने सम्झौता र पुराना सम्झौतामाथिका विषय कसरी अघि बढ्लान ? तमाम विषयहरु चासोमा देखिन्छन् ।

नेपाल भारतबीच सीमा विवाद छ। लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा देखिएको विवादको समाधानको उपाय खोजिएला ? चासो देखिन्छ। किनभने तत्कालीन काठमाडौं महानगरपालिकाको मेयरको रुपमा रहँदा प्रधानमन्त्री वालेन्द्र शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्दै राष्ट्रभक्ति प्रदर्शन गरेका थिए ।

अहिले यो विषय व्यवहारिक जस्तो नदेखिएपनि त्यसको अर्थ भने खोज्ने अवस्था बन्न सक्छ । यद्यपी लिपुलेक, लिम्पियाधुरा र कालापानी जस्ता विवादास्पद क्षेत्रको विषयलाई प्रधानमन्त्री वालेन्द्रले भारतीय समकक्षी नरेन्द्र मोदीलाई प्रष्ट पार्दै विवाद अन्त्यको प्रयास गर्लान ? तत्कालीन समयमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले मोदीलाई सामूहिक रुपमा सीमा विवादबारे सार्वजनिक रुपमै विवाद समाधानमा सहकार्य गर्ने भन्दै अघि बढाएका थिए, यस्तोमा वालेन्द्रको शक्ति परीक्षण समेत हुने आंकलन गरिएको छ ।

भारत उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतले उत्साहित बन्दै स्वागत गर्ने संकेत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नै रेड कार्पेट विछ्याएको भारतलाई अब प्रधानमन्त्रीलाई उच्च स्तरको मेचमानी गर्नुपर्ने बाध्यता पनि छ ।

यता, भारत पुगेको २ दिनमै भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएर कार्यसम्पादनमा जुटिसकेका छन् । सामान्यतया यति छिटो ओहोदाको प्रमाणपत्र बुझाउने काम सम्पन्न हुन सक्ने अवस्था रहन्न। प्रधानमन्त्रीको भारत भ्रमणको छेकोमा पुगेका राजदूत पाण्डेलाई भारतले दिएको महत्वकाबीच वालेन्द्रको भ्रमण र उपलब्धिबारेका चासोहरु थप बढेका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update