News 24 Television
मिति घोषणा नहुदै निर्वाचनको तयारीमा जुटे दलहरु

काठमाडौं । मुलुक स्थानीय तहको निर्वाचनको सन्निकटमा छ । यद्यपी निर्वाचनको मिति भने घोषणा भइसकको छैन । तर देशको राजनीतिक माहोल भने स्थानीय तह निर्वाचनमय बन्दै गएको छ । सत्तारुढ दल रास्वपाले निर्वाचन लक्षित गतिविधि थालेको महिनौं भइसकेको छ । दशैंतिहार, छठ लगायतका चाडबाड सकिएलगत्तै विपक्षी दलहरुले पनि चुनाव लक्षित गतिविधि थालेका छन् । 

आगामी स्थानीय तह निर्वाचनको मिति तय नभए पनि विभिन्न राजनितिक दलहरु तयारिमा जुटेका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आगामी फागुनमा गर्नेगरी तयारी थालेको छ । आयोगले विभिन्न दलहरुसँगको छलफलपछि चैत ५ का लागि निर्वाचन मिति प्रस्ताव गरेको छ । 

सरकारले निर्वाचनको मिति भने घोषणा गरेको छ । तर सरकारले निर्वाचन घोषणा नगरे पनि सत्तारुढ दलले झण्डै एक महिनाअघि देखि नै निर्वाचन लक्षित गतिविधि गर्दै आएको छ । २०७९ बैशाखमा बहालवाला जनप्रतिनिधिहरुको कार्यकाल सकिदै छ । 

स्थानीय तहको कार्यकाल सकिन २ महिनाअघि नै स्थानिय तह निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहि अनुसार विभिन्न राजनितिक दलहरु फरक फरक रणनितीका साथ निर्वाचनको तयारीमा जुटेका छन् । 

रास्वपाः ‘क्यान्डिडेट क्लब’ मार्फत उम्मेदवार छनोट

सत्तारूढ दल रास्वपाले क्यान्डिडेट क्लब मार्फत उम्मेदवारको सूची तयार पारिरहेको छ । महामन्त्री विपिन आचार्यको नेतृत्वमा समन्वय समिति र कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

रास्वपाले कुलिङ पिरियड पालिका र वडाध्यक्षमा पुराना दलबाट आएकालाई ९० दिन र नयाँलाई ४५ दिन तथा वडासदस्यमा ३ देखि ७ दिन र विशेष क्षमता भएकाका लागि ल्याटरल इन्ट्रीको व्यवस्था गरेको छ । उम्मेदवार छनोटमा रास्वपाले प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत, लिडरसिप एकेडेमी र राजनीतिक निकटलाई २५–२५ प्रतिशत तथा समावेशितालाई १० प्रतिशत भार अंक तोकिएको छ ।

नेपाली कांग्रेसः ‘हामी तयार छौँ’ अभियान लिएर गाउँगाउँमा 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंसिर महिनाभर वडा तहसम्म सञ्चालन हुने गरी हामी तयार छौँ, अभियान थालेको छ । तीन लाख नेता–कार्यकर्ता परिचालित गर्ने गरि कांग्रेस अभियानमा होमिएको छ । उसले यस अभियानमा महाधिवेशनबाट पारित नीति र कार्यक्रम जनतामाझ लैजाँदै नागरिकका गुनासा र सुझाव संकलन थालेको छ । 

उता पार्टीको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहँदा पूर्व सभापति शेरबहादुर देउवा समूहले २१ देखि २३ मंसिरसम्म समानान्तर १५औँ महाधिवेशन गर्दै चुनावको तयारी गरिरहेको छ । विवाद नटुंगिए छुट्टै पार्टी दर्ता गरेर चुनावमा जाने तयारी देउवा पक्षको छ ।  
नेकपा एमालेः ‘राष्ट्रिय भेला’ हुँदै बैठक\प्रशिक्षण

नेकपा एमालेले पनि स्थानीय तहको चुनाव लक्षित गरेर गतिविधि थालेको छ । चुनाव लक्षित गरेर नै स्थानीयदेखि संघ सम्मबाट पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु भेलामा उपस्थित गरिएको छ । राष्ट्रिय भेलामार्फत नै उसल चुनावी रणनीति कोरिरहेको छ । एमालेले टिकट वितरणको पुरानो परम्परा बदल्ने प्रस्तावसहित उम्मेदवार छनोट गर्न आन्तरिक निर्वाचनको एजेन्डा अघि सारेको छ । 

नेपाली कम्युनिस्ट पार्टीः दुईमहिने देशव्यापी अभियान जारी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको रक्षा, सुशासन र जनजीविकाका मुद्दा उठाएर दुईमहिने देशव्यापी अभियान चलाइरहेको छ । उक्त अभियान आगामी २५ मंसिरमा समापन हुँदैछ । 

अभियानमार्फत महँगी, बेरोजगारी, भ्रष्टाचार र सार्वजनिक सेवाको ढिलासुस्तीबारे जनगुनासो सुन्ने र तथ्यगत अध्ययन गरी कार्ययोजना बनाउने नेकपाको लक्ष्य छ । स्थानीय चुनावलाई लक्षित गरेर नै यो अभियान चलाइएको नेकपाका नेताहरुले बताएका छन् । 

राप्रपाः महाधिवेशनसँगै चुनावको तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले २६ देखि २८ मंसिरसम्म काठमाडौंमा महाधिवेशन गर्दैछ । राप्रपाले आठौँ महाधिवेशनलाई नै स्थानीय निर्वाचनको तयारीका रूपमा अघि बढाएको छ । वडा अधिवेशनदेखि महाधिवेशनसम्मको प्रक्रिया चुनावकेन्द्रित रहेको र महाधिवेशनलगत्तै पूर्ण रूपमा निर्वाचनमा केन्द्रित देखिएको छ । 

मधेस केन्द्रित दलहरुको अग्रगामी मोर्चा 

मधेश केन्द्रित दलहरुले मोर्चामार्फत चुनावी गतिविधिलाई अघि बढाएका छन् । नौ दल आबद्ध अग्रगामी मोर्चा मार्फत उनीहरुले चुनावी गतिविधि थालेका छन् । उनीहरुल्े स्थानीय तह निर्वाचनमा एउटै चुनाव चिन्ह प्रयोग गर्ने विषयमा समेत निर्वाचन आयोगसँग परामर्श गरिरहेको छ । 

उज्यालो नेपाल र श्रम संस्कृति पार्टीको सक्रियता

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले सदस्यता विस्तार र उम्मेदवार नामावली संकलन अभियान चलाउँदै आएको छ । उनले स्थानीय निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएर स्थानीय तहको चुनावलाई फरक एजेण्डा अघि बढाएको छ । त्यस्तै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी पनि सक्रिय छ । 

उसले देशब्यापी रुपमा संगठन विस्तारदेखि गाउँ गाउँमा श्रम अभियानसमेत सञ्चालन गर्दै आएको छ । श्रम संस्कृतिले स्थानीय तहको चुनाव लक्षित गरेर पूर्वका जिल्लाहरुका सभा सम्मेलनका कार्यक्रमसमेत गरिरहेको छ । 

उम्मेदवार स्वघोषणाको क्रम शुरु 
 
स्थानीय तहको निर्वाचन घोषणा भइनसकेको अवस्थामा कतिपयले उम्मेदवार स्वघोषणा गरि सामाजिक सञ्जालहरुमार्फत चुनावी प्रचार थालेका छन् । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत आगामी निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । आफ्नो ज्ञान, सिप र अनुभव काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणमा समर्पित गर्ने उनको प्रतिबद्धता छ । अघिल्लो निर्वाचनमा रास्वपाबाट मन्त्रीसमेत भएकी सुमना जेनजी आन्दोलनपछि रास्वपा छाडेर निस्क्रिय बनेकी थिइन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update