News 24 Television
गोविन्द केसी सत्याग्रह र सर्वसाधारणको चासोकाबीच इलाममा मेडिकल कलेज बनाउने काम शुरु

इलाम । इलाममा मेडिकल कलेज स्थापनाको काम अगाडी बढेको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै डा. गोविन्द केसीको २५ औँ अनसन छुटाउन सरकारले इलामसहित बिभिन्न जिल्लामा मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न सरकारले बजेट बिनियोजन गर्ने सहमति भएसँगै यसको काम अगाडी बढेको हो । 

इलाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने विषयमा आधार तयार गर्न थालिएको छ ।  प्रस्तावित प्रतिष्ठान स्थापनाका लागि आवश्यक जग्गा व्यवस्थापन, भौतिक पूर्वाधार, जनशक्ति तथा नीतिगत व्यवस्थाका विषयमा इलाम नगरपालिकाले आधार तयार गरेको छ साथै छलफल अघि बढाइएको जनाएको छ । 

नेपाल सरकार र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीबीच गत कात्तिक २९ गते भएको सहमतिलाई आधार बनाउँदै नगरपालिकाले प्रतिष्ठान स्थापनाका लागि आवश्यक तयारी थालेको जनाएको छ । इलाम नगरपालिका ९ र १२ मा जग्गा ब्यवस्थापनको काम अगाडी बढाइएको छ । इलाम नगरपालिकाले आधार पत्र नै तयार गरी काम अघि बढाएको र सङ्घीय सरकारलाई समेत प्रतिष्ठान निर्माणका लागि पहल गर्न थालेको हो ।

इलाम लगायत पाँचथर, ताप्लेजुङ, झापा र तेह्थुम लगायतका जिल्लालाई समेटेर इलाममा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने डा केशीको माग थियो । 

सोहि बमोजिम यस अघि नै नेपाली कांग्रेस, नेकपा एमाले तत्कालिन माओवादी केन्द नेतृत्वमा रहेका सरकारले समेत सकारात्मक चासो देखाएपनि हालसम्म मेडिकल कलेज स्थापना हुने स्थानीयको अपेक्षा थियो । तर काम अगाडी नबढेपछि डा. केशीले इलाममा नै २५ औँ पटकको सत्याग्रह बसेका थिए । इलाममा उनको स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई उपचारका लागि काठमाण्डौ पुर्याइएको थियो । 

काठमाण्डौमा उनको सत्याग्रह छुटाउन गत कात्तिक २१ गते नेपाल सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले इलाम, डढेल्धुरा र उदयपुरमा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बजेट विनियोजन गर्ने बिषयको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

त्यसपछि स्थानीय सरकारका तर्फबाट इलाम नगरपालिकाले काम अझ तदारुकता साथ अगाडी बढाएको इलाम नगरपालिका ४ का वडाध्यक्ष तथा प्रवक्ता नुतनदेव दुलालले बताए ।

मेडिकल कलेजबारे जानकारी दिन बिहिबार इलाममा पत्रकार सम्मेलन गर्दै यस बिषयमा इलाम नगरपालिकाका तर्फबाट प्रमुख केदार थापा तत्काल काठमाण्डौ जाने र डकुमेन्टको काम अगाडी बढाउने बताए । पहाडी जिल्लाको बसाईँसराई रोक्न पनि मेडिकल कलेज स्थापना हुनुपर्ने स्थानियको माग रहँदै आएको छ ।


 

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update