News 24 Television
सुलभ मूल्यमा खाद्यान्नदेखि विभिन्न सामाग्री पाउँदा मुगुका स्थानीयलाई राहत

मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा सञ्चालित सहुलियत छुट पसलबाट साढे तीन महिनाको अवधिमा १ करोड १९ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले प्रतिकेजी ५ रुपैयाँ छुटमा चामल तथा दाल बिक्री गरेपछि स्थानीय उपभोक्तालाई ठूलो राहत मिलेको छ ।

रोग, भोक, गरिबी र यातायातको पहुँचबाट पछि परेको मुगु जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गमगढीले सञ्चालन गरेको सहुलियत पसलप्रति उपभोक्ताको आकर्षण बढेको छ । 

केन्द्रीय कार्यालयको नीति अनुसार गत साउन २८ गतेदेखि मंसिर १ गतेसम्म प्रतिकेजी ५ रुपैयाँ छुटमा कुल २० हजार ९० क्वीन्टल खाद्यान्न बिक्री भएको छ । जसअन्तर्गत अरुवा मोटा चामल २ हजार ३२ क्वीन्टल, सिल्की मध्यम चामल ३२ क्वीन्टल, अरुवा मध्यम चामल ३ क्वीन्टल र मसुरो दाल २१ क्वीन्टल बिक्री भएको छ । 

कुल १ करोड २९ लाख ४५ हजार ३ सय रुपैयाँ बराबरको खाद्यान्न बिक्रीमा १० लाख ४५ हजार रुपैयाँ छुट दिइएको छ । छुटपछि १ करोड १९ लाख ३ सय रुपैयाँ बराबरको खुद कारोबार भएको हो । सहुलियत पसलबाट फोर्टिफाइड चामल आगामी २०८४ असार मसान्तसम्म नियमित छुटमा बिक्री भइरहने शाखा प्रमुख केशव गिरीले जानकारी दिएका छन् । 

स्थानीय बजारको तुलनामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको पसलमा प्रति २५ देखि ३० केजीको बोरामा ५ देखी ६ सय रुपैयाँ सम्म सस्तो पर्ने गरेको छ । 

सस्तो मूल्यमा चामल र दाल पाएपछि बचेको पैसाले तेल, मसला र बालबालिकाका लागि कापी–कलम किन्न सहज भएको छ । जसकारण मुगुका आर्थिक अवस्था कमजोर भएका  नारीकहरुलाई निकै राहात मिलेको स्थानीय उपभोक्ताहरू बताउँछन् ।

गमगढीस्थित शाखा कार्यालयबाट छाँयानाथ रारा नगरपालिकाका १ देखि १४ वटै वडाका नागरिक र गमगढी बजारमा बस्दै आएका स्थानियले यो सुविधा लिएका छन् । 

यसैगरी, जिल्लाका सोरु, खत्याड र मुगम कार्मारोङ गाउँपालिकाका ७ वटा बिक्री केन्द्रबाट पनि सहुलियत दरमा खाद्यान्न बिक्री भइरहेको र ती केन्द्रहरूको विवरण आउन बाँकी रहेको शाखा कार्यालयले जनाएको छ । 

 

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update