लमजुङ । सार्वजनिक विकास निर्माणका संरचना उद्घाटन गर्ने अवसर प्रायः ठूला नेता तथा विशिष्ट व्यक्तिले पाउने गर्छन् । तर लमजुङको मध्यनेपाल नगरपालिकामा भने यो परम्परा तोडिएको छ । वडा नम्बर १ र २ जोड्ने खहरे खोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन ९५ वर्षीय ज्येष्ठ नागरिक गोरे सार्कीले गरेका छन् ।
लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर १ र २ जोड्ने खहरे खोलामा निर्माण गरिएको पक्की पुल ९५ वर्षीय ज्येष्ठ नागरिक गोरे सार्कीले उद्घाटन गरेका छन् ।
सामान्यतया ठूला नेता तथा जनप्रतिनिधिबाट पुल उद्घाटन गराउने प्रचलनलाई तोड्दै वडा नम्बर १ का वडाध्यक्ष सुदिप थापाले स्थानीय ज्येष्ठ नागरिक सार्कीको हातबाट पुल उद्घाटन गराएका हुन् ।
मध्यनेपाल नगरपालिका–१ स्थित जीताटारमा निर्माण सम्पन्न भएको पक्की पुल उद्घाटनका लागि वडा अध्यक्ष थापाले कुनै राजनीतिक व्यक्तित्व वा विशिष्ट पाहुनालाई रोजेनन् । बरु जीवनका अनेकौं अनुभव बोकेका ९५ वर्षीय गोरे सार्कीलाई उद्घाटनको जिम्मेवारी दिए ।
स्थानीय ज्येष्ठ नागरिकको हातबाट सार्वजनिक संरचनाको उद्घाटन गराउने उनको निर्णयले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको छ । तर यो निर्णय सहज भने थिएन ।
पुल उदटन ठूला नेता तथा प्रभावशाली व्यक्तिबाट गराउनुपर्ने भन्दै विभिन्न व्यक्ति तथा सरकारी तवरबाट दबाब र धम्की समेत आएको वडाध्यक्ष थापाको भनाइ छ । तर त्यस्ता धम्कीबाट आफू विचलित नभएको र जनताको पैसाबाट निर्माण भएको संरचना जनताकै हातबाट उद्घाटन गराउनुपर्छ भन्ने मान्यतामा अडिग रहेको उनले बताएका छन् ।
सार्वजनिक विकास निर्माणका संरचना उद्घाटनमा राजनीतिक नेतृत्व र विशिष्ट व्यक्तिहरूलाई प्राथमिकता दिने परम्परा नेपाली समाजमा नयाँ होइन । तर जीताटारको पुल उद्घाटनले सार्वजनिक सम्पत्तिमा जनताको अपनत्व र सम्मानको विषयलाई अगाडि ल्याएको छ । ९५ वर्षीय गोरे सार्कीबाट पुल उद्घाटन गराइनुले ज्येष्ठ नागरिकप्रतिको सम्मानसँगै विकास निर्माणमा स्थानीय नागरिकको भूमिका पनि उजागर गरेको छ ।
यसअघि खहरे खोला तर्नुपर्ने बाध्यताका कारण स्थानीयले वर्षौंदेखि सास्ती भोग्दै आएका थिए । भौतिक पूर्वाधार मन्त्रालय गण्डकी प्रदेशको ३ करोड ५० लाख लागतमा सहमति अनुसार पुल निर्माण भएसँगै मध्यनेपाल नगरपालिका वडा नम्बर १ र २ का स्थानीय बासिन्दालाई आवतजावतमा सहज भएको छ ।
विकास निर्माणको काम सम्पन्न हुनु एउटा उपलब्धि हो । तर त्यसको लाभ प्रत्यक्ष रूपमा उपभोग गर्ने नागरिकलाई नै सम्मान र अपनत्व प्रदान गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
जीताटारमा निर्माण भएको पुलले दुई वडाका बस्तीबीचको आवागमन सहज बनाएको छ भने यसको उद्घाटनको शैलीले पनि स्थानीय तहमा नयाँ सन्देश दिएको छ ।
९५ वर्षीय ज्येष्ठ नागरिक गोरे सार्कीबाट पुल उद्घाटन गराएर वडाध्यक्ष थापाले विकास जनताका लागि हो र त्यसको सम्मान पनि जनताकै हातबाट हुनुपर्छ भन्ने सन्देश दिन खोजेका छन् । विभिन्न दबाब र धम्कीबीच लिइएको यो निर्णयले अहिले स्थानीय तहमा सार्वजनिक संरचनाको स्वामित्व कसको हो भन्ने बहसलाई समेत सतहमा ल्याएको छ ।


