म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्र हेर्ने निकै पुरानो मानिने इलाका प्रहरी कार्यालय दरबाङ आफ्नै जग्गा र भवन नहुँदा दैनिक कार्यसम्पादन तथा सेवा प्रवाहमा कठिनाइ झेलिरहेको छ । जीर्ण भाडाको घर, साँघुरो संरचना, कम्पाउन्ड तथा हिरासत कक्षको अभाव र जनशक्तिको कमीका कारण प्रहरी जनशक्ति तथा सेवाग्राही दुवै समस्यामा परेका छन् ।
म्याग्दीको दरबाङस्थित इलाका प्रहरी कार्यालय आफैँ भौतिक संरचना र जनशक्ति अभावको समस्यामा छ । तीन गाउँपालिका र बेनी नगरपालिकाका दुई वडाको सुरक्षा जिम्मेवारी सम्हालिरहेको कार्यालयले वर्षौँदेखि भाडाको जीर्ण भवनबाट सेवा दिँदै आएको छ ।
पर्याप्त प्रहरी जनशक्ति, आफ्नै भवन र हिरासत कक्ष नहुँदा शान्ति सुरक्षा कायम गर्न चुनौती थपिएको छ । इलाका प्रहरी कार्यालय दरबाङको कार्यक्षेत्र मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका सबै वडा तथा बेनी नगरपालिकाका ३ र ४ नम्बर वडा हुन् ।
कार्यालयको स्वीकृत दरबन्दी ८९ जना भए पनि हाल तीन वटा मातहतका प्रहरी युनिटसहित जम्मा ३५ जना प्रहरी कार्यरत छन् । धवलागिरि गाउँपालिकाको फलियागाउँमा प्रहरी चौकी स्थापना गर्न दरबन्दी स्वीकृत भए पनि जग्गा अभावले कार्यालय स्थापना हुन सकेको छैन ।
वि.सं. २०३९ मा इलाका प्रहरी कार्यालयका रूपमा स्तरोन्नति भएको दरबाङ प्रहरी सशस्त्र द्वन्द्वका कारण २०५८ असार २७ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा गाभिएको थियो ।
शान्ति पुनःस्थापनापछि २०६३ माघ १५ गते पुनः स्थापना भए पनि त्यसयता आफ्नै भवन बन्न सकेको छैन । कार्यालय हाल पुरानो र जीर्ण भाडाको घरमा सञ्चालन भइरहेको छ । हिरासत कक्ष नहुँदा पक्राउ परेका व्यक्तिलाई केही घण्टा राख्नसमेत समस्या हुने गरेको छ ।
स्थानीय तह गठन भएदेखि नै प्रहरी कार्यालयका लागि जग्गा व्यवस्थापनको प्रयास हुँदै आए पनि टुङ्गो लाग्न सकेको छैन । स्थानीय ज्येष्ठ नागरिक दिलिप शेरचनका अनुसार दरबाङमा २०१५ सालको निर्वाचनभन्दा अघिदेखि नै प्रहरी चौकी थियो ।
दशकौँ पुरानो प्रहरी संरचना अझै भाडाको घरमा सीमित हुँदा प्रहरीको सेवा प्रवाह र सुरक्षामाथि प्रश्न उठेको छ । जग्गा व्यवस्थापन गरी सुविधासम्पन्न भवन निर्माण गर्न सके प्रहरीको कार्यसम्पादन र नागरिक सुरक्षामा सहज हुने अपेक्षा गरिएको छ ।


