धनुषा । त्रेतायुगमा भगवान् श्रीराम र सीतामाता बीच भएको पवित्र विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा आयोजना हुँदै आएको सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको तयारी तीव्र पारिएको छ ।
आगामी मङ्सिर २३ गतेदेखि २९ गतेसम्म आयोजना हुने यस वर्षको विवाह पञ्चमी महोत्सवलाई भव्य, र व्यवस्थित बनाउन जानकी मन्दिरले आवश्यक तयारी अघि बढाएको हो ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजना हुँदै आएको सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको तयारी तीव्र पारिएको छ ।
यसवर्ष मंसिर २८ गते विवाह पञ्चमी परेको छ । विवाह पञ्चमीका अवसरमा साताब्यापी महोत्सव हुँदै आएको छ । यस वर्ष पनि महोत्सवको तयारी तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन जानकी मन्दिर परिसरमा विभिन्न चरणमा सर्वदलीय तथा सर्वपक्षीय बैठकहरु सम्पन्न भएका छन् ।
महोत्सवलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्नुका साथै सम्बन्धित निकायलाई जिम्मेवारी बाँडफाँट गरिएको छ ।
देशको विभिन्न जिल्ला तथा भारतको अयोध्यासहितका विभिन्न स्थानबाट हजारौँ साधुसन्त तथा श्रद्धालु भक्तजन जनकपुरधाम आउने भएकाले उनीहरूको स्वागत, आवास, भोजन, सुरक्षा तथा आवागमनलाई सहज बनाउने विषयलाई विशेष प्राथमिकता दिइएको छ । महोत्सवलाई सभ्यभव्य र धुमधामका साथ सम्पन्न गर्न सबै पक्षसँग समन्वय गरेर तयारी अघि बढाइएको उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।
विवाह पञ्चमी महोत्सवको व्यवस्थापन र आवश्यक पूर्वाधारका लागि प्रदेश र संघ सरकारसँग पनि पहल भइरहेको छ । विवाह पञ्चमी महोत्सवलाई सफल बनाउन बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का साथै स्थानीय युवा अभियन्ताहरु पनि पनि उत्तिकै सक्रिय छन् ।
विभिन्न धार्मिक विधि विवाह पञ्चमी महोत्सवअन्तर्गत सात दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर तथा छैटौँ दिन सीताराम स्वयम्बर र विवाह कार्यक्रम हुनेछ ।
त्यसैगरी, महोत्सवको अन्तिम अर्थात् सातौँ दिन रामकलेवा कार्यक्रम गरी अयोध्याबाट आएका जन्तीलाई विधिपूर्वक बिदाइ गरिनेछ । सीताराम विवाह पञ्चमी महोत्सव जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण उत्सव हो ।
यस महोत्सवले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै आएको छ । हालै मात्र प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले अयोध्या जनकपुर जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवाको संयुक्त उद्घाटन गरेका छन् ।
भगवान् रामको जन्मभूमि मानिने अयोध्या र माता सीताको जन्मभूमि जनकपुरबीच रेल सम्पर्क विस्तारलाई दुई देशबीचको धार्मिक, सांस्कृतिक तथा यातायात सम्बन्ध थप सुदृढ गर्ने पहलका रूपमा हेरिएको छ ।


