News 24 Television
फेदीखोलामा सर्वसाधारणले फाइल बोक्नै नपर्ने, कसरी काम भइरहेको छ लाइभ हेर्न सकिने

स्याङ्जा । सरकारी कार्यालयमा सेवा लिन जाँदा कर्मचारी खोज्दै शाखा–शाखा धाउनुपर्ने, फाइल बोकेर कोठा–कोठा पुग्नुपर्ने र आफ्नो काम कहिले सम्पन्न हुन्छ भन्ने अन्योलमा बस्नुपर्ने बाध्यता धेरै स्थानमा अझै कायम छ । तर, स्याङ्जाको फेदीखोला गाउँपालिकाले भने सरकारी सेवा लिन कर्मचारीका कोठा–कोठा धाउनुपर्ने र कामका लागि भनसुन गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास गरेको छ । गाउँपालिकाले नागरिकलाई सहज, छिटो र झन्झटरहित सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल प्रविधिमा आधारित एकीकृत सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । 

नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न भएसँगै गाउँपालिकाले आफ्नै भवनबाट अनलाइन प्रणालीसहितको डिजिटल एकीकृत सेवा सञ्चालनमा ल्याएको हो ।  यो प्रणाली सुरु भएसँगै अब सेवाग्राहीले आफ्नो कामका लागि विभिन्न शाखा र कोठा चहार्नुपर्ने छैन। कार्यालयको मूल ढोकामा पुग्ने सेवाग्राहीलाई त्यहाँ कार्यरत कर्मचारीले स्वागत गर्नेछन् । 

त्यसपछि आवश्यक कागजातसहितको फाइल रिसेप्सनमा बुझाएपछि सम्बन्धित कर्मचारीले नै उक्त फाइल आवश्यक शाखा र कोठामा पु¥याएर प्रक्रिया अघि बढाउने व्यवस्था मिलाइएको छ । 

यसरी सेवाग्राहीले बुझाएको फाइल कुन शाखामा पुगेको छ, कामको प्रक्रिया कहाँसम्म अघि बढेको छ भन्ने जानकारी कार्यालयमै राखिएको डिजिटल डिस्प्लेमार्फत प्रत्यक्ष हेर्न सक्नेछन् । 

यसले सेवाग्राहीलाई आफ्नो कामको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै कर्मचारीको जिम्मेवारी र कार्यसम्पादनलाई समेत पारदर्शी बनाउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको भनाइ छ ।

आफ्नो फाईल कहाँ पुगेको कति काम भईरहेको छ भनेर सेवाग्राहीले प्रतिक्षाकक्षमा बसेर मनिटरमा हेर्न सक्ने व्यवस्था गरिएको छ । 

काम हुने बेलासम्म चिया वा कफी पिउने सेवाग्राहीको लागि भवन भित्रै आफैले बनाएर चिया कफी पिउन सक्ने व्यावस्था गरिएको छ । 

सुत्केरी महिलाहरुको लागि भिन्दै स्तनपान कक्षको निर्माण गरिएको छ भने सेवा लिन आउने बृद्धहरुका लागि सुत्न मिल्ने बेडको पनि व्यस्था गरिएको छ । त्यस्तै बालबालिका सहित सेवा लिन जाने सेवाग्राहीका लागि बालबालिकालाई भुलाउने बाल उद्यान पनि कार्यालय भित्रै निर्माण गरिएको छ । 

प्रविधिको प्रयोगले डिजिटल सुशासन सहित आम नागरिकको सेवा प्रवाहमा कमी नहुने र कार्यालय भित्र हुने खराब सस्कारको अनि अन्त्य गर्न यो पद्धती जडान गरिएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पोख्रेलको भनाई छ ।

नागरिकको सेवाको लागि समयनुकुल सेवा उपलब्ध गराउने फेदीखोला गाउँपालिकाले सुरु गरेको यो अभ्यासले स्थानीय तहको सार्वजनिक सेवा प्रवाहलाई थप छिटो, छरितो, पारदर्शी र जवाफदेही बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update