News 24 Television
रविलाई कुनै हालतमा नछोड्ने काँग्रेसको रणनीति, राजीनामा नै ‘बटमलाइन’  (भिडियो)

काठमाडौं । नेपाली काँग्रेसले संसद र संसद बाहिरै गृहमन्त्री रवि लामिछानेविरुद्ध आन्दोलन चर्काएको लामो समय भइसक्यो । 

सहकारी ठगी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गृहमन्त्री रविको बारम्बार राजीनामा माग गरिरहेको छ । 

यही विषयलाई लिएर काँग्रेसले एक पटक संसद अवरोध नै गरेको थियो । त्यस्तै प्रत्येकजसो संसद बैठकमा काँग्रेसले यही विषयलाई प्रमुख एजेन्डा बनाइरहेको छ । उसले सहकारी ठगी प्रकरणकै विषयमा गृहमन्त्री रविको संलग्नताबारे छानविन गर्न माग गरेको छ । 

यही विषयलाई लिएर सहकारी पीडितहरुले केही दिन अघि राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रविविरुद्ध पनि उजुरी दिएका थिए । 

यही विषयमा काँग्रेस नेतृत्वमै रहेको राज्य व्यवस्था तथा सुशासन समितिले गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र सीआईबी प्रमुखलाई पनि बैठकमा बोलायो । 

उक्त बैठकमा पनि काँग्रेसले गृहमन्त्रीको राजीनामा नै माग गरेको थियो । तर प्रहरी प्रमुख आईजीपी वसन्त कुँवरले सहकारी प्रकरणमा गृहमन्त्री रविको कुनै संलग्नता नरहेको जवाफ दिए ।
यसका अलावा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेसमेत संसदमै उपस्थित भएर रवि सहकारी प्रकरणमा नजोडिएको प्रष्टिकरण दिएका थिए । 

प्रधानमन्त्री र संसदीय समितिको बैठक पछि संसद बैठकसमेत झण्डै २ साता रोकियो । त्यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यसै विषयमा पनि संयुक्त छलफल गरे । 

त्यसपछि काँग्रेसले संसद निर्वाद रुपमा चल्न दिनेसमेत निर्णय गर्यो । तर नेपाली काँग्रेसले अझै संसदमा गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध गर्न छाडेको छैन । 

विगतमा बहालवाला मन्त्रीहरुलाई आरोप लाग्दा राजीनामा दिइएको परिघटनाहरुको फेहरिस्त सुनाउँदै काँग्रेसले रविलाई राजीनामा दिन बाध्य पारिछाड्ने संकेतहरु  दिइरहेको छ । 

काँग्रेसले रविमाथि सहकारी प्रकरणमा प्रमुखतः नैतिकताको पनि ख्याल गर्न भनिरहेको छ । आइतबार बसेके संसद बैठकमा पनि काँग्रेसले गृहमन्त्रीलाई राजीनाम दिन सशक्त चेतावनी दियो ।  

देउवा र एमाले अध्यक्ष ओलीलाई सँगै राखेर गरेको बैठकमा संसदलाई निर्वाद रुपमा संचालन गर्ने सहमति गरेपनि काँग्रेसले त्यसलाई पालना गरेको छैन । उसले सोमबारको बैठकमा पनि गृहमन्त्रीकै प्रशंग निकाल्दै संसदमा बबण्डर मच्चाउन प्रयास गरेको छ ।  

सरकारविरुद्ध संसदमा बारम्बार आलोचना गरिरहेको काँग्रेसकै शेखर पक्षले केही दिन अघि मात्रै टीआरसी विद्येयकममा आफ्नो पार्टी लचक नहुने आस्चार्यजनक अभिव्यक्ति दिएका थिए । 

यसरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देखाइरहेको व्यवहार र अभिव्यक्तिको विषयलाई लिएर कतिपयले इलाम २ को उपनिर्वाचनको सन्दर्भसमेत जोड्न थालेका छन् । मुख्य प्रतिपर्धी दलको रुपमा उभिइरहेको रास्वपालाई कमजोर पार्न काँग्रेसले सरकार र सभापति रवि लामछिानेमाथि यस प्रकारको दवाब बढाइरहेको समेत जनस्तरमा शंका पैदा भइरहेको हो । 

सहकारी ठगी प्रकरणको विषयलाई झन–झन पेचिलो बनाइरहेको काँग्रेसले रविलाई नै मुख्य ‘तारगेट’ म्यान बनाइरहनु एक रहस्यको विषय बनिरहेको छ । 

यही बैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर काँग्रेसले यसप्रकारको गतिविधिहरु गरिरहेको पूर्व नागरिकहरुले आंकलन गर्न थालिसकेका छन् । तर यो  अवस्थामा गृहमन्त्री रविले भने सहकारी प्रकरणलाई कुनै प्रवाह गरेका छैनन् । 

बरु उनी अझ राजनीतिक गतिविधि बढाइरहेका छन् । काँग्रेसको बारम्बार आलोचना र प्रश्नलाई सत्ता पक्षले पटक पटक जवाफ दिइरहको छ । 

यसमा रविले पनि आफू निर्दोष रहेको दावी गरिरहेका छन् । तर रविलाई यतिको हल्का जवाफले मात्रै छुटकारा मिल्ने अवस्था देखिँदैन ।

बारम्बार प्रश्न गरिरहेको प्रतिपक्षीलाई गृहमन्त्रीकै जिम्मेवारीमा रहेका रविले सहकारीका पीडितहरुलाई प्रत्यक्ष न्याय दिलाएर व्यवहार र कार्यबाटै आफ्नो निर्दोसिता सावित गर्नुपर्ने आवश्यकता खड्कीएको छ । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update