News 24 Television
हङकङलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनल यात्रामा

काठमाडौँ । एसीसी प्रिमियर कप २०२४ मा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ । ओमानमा जारी कपमा नेपालको यो लगातार तेस्रो जित हो ।

समुह ए बाट खेलेको नेपालले ३ खेलबाट ६ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा पुगेको छ । अब समूह चरणको अन्तिम खेल बुधबार नेपालले साउदी अरेबियासँग खेल्नेछ । 

हङकङले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमै लक्ष्य पूरा गरेको हो । नेपालले जम्मा २ विकेट गुमाउँदै हङकङमाथि ८ विकेटको जित हासिल गरेको हो । उक्त लक्ष्य पछ्याउने क्रममा नेपालका लागि ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए भने कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए । यस्तै रोहित पौडेलले २५ रन जोडे भने सन्दीप जोराले १९ रन बनाएका थिए  ।

१० टोली सहभागी प्रिमियर कपमा साउदी अरेबिया, मलेसिया र हङकङको समान २ अंक छ । नेपालले सोमबार हङकङकलाई पराजित गरेसँगै सेमिफाइनल यात्रा पक्का गरेको छ भने हङकङको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update