News 24 Television
इजरेल–इरान युद्धको तयारीले त्रासमा मध्यपूर्व 

काठमाडौँ । इजरेल र हमास युद्धका कारण करिब एक वर्षदेखि अशान्त रहँदै आएको मध्यपूर्वमा इरानसमेत थपिएपछि थप तनाव बढ्ने देखिएको छ । इजरेललाई चेतावनी दिदै आइरहेको इरान आक्रमणमा उत्रिएपछि इजरेलले त्यसको कडा जबाफ दिन सक्ने र लडाइँ झन चर्किन सक्ने अनुमान गरिएको छ । आक्रमणका बीच शक्तिराष्ट्र अमेरिका र साझेदार राष्ट्रको मध्यस्थताले इजरेल र इरानबीचको सम्भाव्य लडाइँ रोक्न सक्लान् ? 

इरानले आफ्नै भूमिबाट इजरेल लक्षित दुई सय बढी ड्रोन र मिसाइल आक्रमण गरेपछि मध्यपूर्व अशान्त छ । अप्रिल एक तारिखमा इजरायलले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासनजिकै हवाई आक्रमण गर्दा इरानका दुई शीर्ष सेना कमान्डरसहित १३ जनाको मृत्यु भएपछि इरान र इजरायलबीच तनाव चुलिएको हो । 

इरानले इजरायलमा आक्रमण शुरु गरेसँगै मध्यपूर्वका देशहरुमा ठूलो युद्धको सम्भावना बढेको छ । यसैबीच अमेरिकी राष्ट्रपति बाइडेनले इरानलाई इजरायलमाथि आक्रमण नगर्न चेतावनी दिँदै आक्रमण गरेमा आफूहरु चुप नबस्ने र इरानको हार निश्चित हुने चेतावनी दिएका थिए । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले आक्रमणको निन्दा गर्दै दुवै देशलाई शत्रुता अन्त्य गर्न अपिल गरेका थिए । तर इरानले वाशिङ्टनलाई पनि चेतावनी दिँदै इजरेललाई साथ दिएमा अमेरिकी सैन्य आधारहरूलाई निसाना बनाउने जनाएको छ । इरानी आक्रमणपछि संयुक्त राज्य अमेरिकाले इजरेललाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

युद्धको अवस्था नआओस् भन्ने पक्षमा रहेको अमेरिका युद्ध भइहाले प्रत्यक्ष संलग्न नहुने जानकारी बाइडन प्रशासनले इजरेललाई गराइसकेको छ । प्रत्यक्ष युद्धमा अमेरिका नहोमिएपनि उसले इजरेललाई सैन्य सहयोग भने पक्कै गर्नेछ । 

एसियामाथि आफ्नो प्रभुत्व जमाउनका लागि पनि इजरेल र मध्यपूर्वका देशहरु अमेरिकाका लागि सामारिकरुपले महत्वपुर्ण छन् । 

मध्यपूर्वमा पछिल्लो समय चीनले आफ्नो उपस्थिति दरिलो बनाउँदै गइरहेको छ । चीनले मध्यपूर्वका इरान र अरब लिगहरुका १० देशमा अर्बौ अमेरिकी डलर लगानी गरिसकेको छ । 

व्यापारिक र सामारिक दृष्टिकोणले आफ्नो सत्रु रहेको चीनको उपस्थिति मध्यपूर्वमा मजबुत बन्दै जाँदा त्यसलाई काउन्टर दिन अमेरिकाका लागि इजरेल भरपर्दो सारथी हो । यस्तोमा वर्षौदेखि इरान र इजरेलबीच चल्दै आएको छद्म युद्ध प्रत्यक्ष लडाईमा परिणत भयो भने यस क्षेत्रको अवस्था झन नाजुक बन्नेछ । 

युद्ध भइहाले चीन र रुसको इरानलाई  र अमेरिका लगायत उसका साझेदार राष्ट्रहरुको सहयोग इजरेललाई रहेमा लडाई लामै समय चल्ने निश्चित छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update