काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा राष्ट्रपति फेर्नुपर्ने भनेका छन्। युक्रेनी जनताले नयाँ राष्ट्रपति पाउनुपर्ने तर्क गरेका ट्रम्पले युक्रेनमाथि दबाब बढाउन थालेका छन् । रुसबाट ठूलो परिणाममा डिजेल किन्ने सम्झौता गरेका ट्रम्पले मध्यावधि निर्वाचअघि आफ्नो पार्टीलाई एकपटक फेरि जिताउनका निम्ति मूल्यवृद्धि नियन्त्रणको प्रयास गर्ने सुर कसेका हुन् ।
विश्वभर डिजेलको मूल्य बढ्नुमा युक्रेनले रुसको तेल प्रशोधन केन्द्रमा आक्रमण गर्नु रहेको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पदबाट हटाउनुपर्ने बताएका छन् ।
अमेरिका र इजरायलले संयुक्त रुपमा इरानविरुद्ध गरेको आक्रमणका कारण मध्यपूर्व अस्तव्यस्त बनिरहेको बेला स्ट्रेट अफ हर्मुज बन्दप्राय छ। तर, ट्रम्पले युक्रेनमाथि दोष थोपर्दै दबाब बढाएका हुन् ।
ट्रम्पले जेलेन्स्कीविरुद्ध अभिव्यक्ति दिदै भनेका छन्, ’मलाई लाग्छ अब युक्रेनले नयाँ राष्ट्रपति पाउने बेला भइसकेको छ।’ उनले जेलेन्स्कीले रुसी प्रशोधन केन्द्रहरूमा आक्रमण गरेर विश्वव्यापी डिजेल आपूर्तिमा असर पु¥याएको आरोप लगाएका हुन् ।
ट्रम्प दबाबमा किन ?
अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ। मध्यावधि निर्वाचनले अमेरिकी जनताको मतमात्रै नभई उनलाई राष्ट्रपतिका रुपमा काम गर्न असहज नै बनाउने हुनाले पनि ट्रम्पमाथि नागरिकमा थोपरिएको आर्थिक बोझलाई कम गर्ने प्रयास गरेको देखाउनु बाध्यता जस्तै बनेको देखिन्छ । इजरायलसंग मिलेर इरानविरुद्ध युद्ध लड्दा नै अर्बाैं डलर खर्च भइसकेको छ भने अमेरिकाले ८० बढि विमान तथा उन्नत ड्रोन जो पाइटिबिना नै लक्ष्यमा पुग्न सक्छन यस्ता प्रणालीमा क्षति तथा पूर्णरुपमा प्रभाव व्यहोरेको छ ।
यस्तोमा अमेरिकी जनताले चर्को कर तिर्दै युद्धलाई बोक्ने वा राष्ट्रपतिमाथि अंकुश लगाउने भन्ने निर्णय गर्ने बेला आएकाले पनि ट्रम्पमाथि दबाब स्वभाविक बढेको देखिन्छ ।
उसोतः अमेरिका युक्रेनको ठूलो सैन्य रक्षा साझेदार समेत हो। अमेरिकाले प्याट्रियाट इन्टेसेप्टर समेत सप्लाइ गर्ने गरेको छ भने अमेरिकाले ठूलोमात्रामा सैन्य सामाग्री सहायता दिदै आएको छ। यस्तोमा आफै इरान युद्धमा फस्दा ट्रम्पमाथिको दबाब थप रोचक मोडमा पुगेको हो ।
रुसबाट डिजेल किन्दै अमेरिका
महंगीको मारमा परेको अमेरिकाले रुसबाट डिजेल किन्ने सम्झौता गरिसकेको छ। किन अमेरिका रुसबाटै डिजेल किन्ने मोडमा पुग्यो ? यसको एक कारण हो, इरान युद्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सघाउने बाँचा गर्नु, इरानले रुसी सहयोग भरपुर प्राप्त गरिरहेको बेला पुटिनले गर्ने सहयोग ट्रम्पका निम्ति फलदायी बन्नसक्छ ।
पुटिनले सार्वजनिक रुपमै इरानसंग वार्ता गरेर युद्धविरामतर्फ लैजान आफूले काम गर्ने भनिसकेका छन् । यस्तोमा ट्रम्पलाई पुटिनको भर समेत देखिन्छ। ट्रम्पले पुटिनको विश्वास जित्न पहिले रुसी डिजेल किन्ने सम्झौता गरेका छन् । जसबाट युक्रेनले रुसी ऊर्जा केन्द्रमा गर्ने आक्रमण अब सहज हुनेछैन् ।
किनभने अमेरिकाले डिजेल किन्ने समयमा गरिने आक्रमणमा रुसले प्रत्याक्रमणमा आक्रामकता थप बढाउन सक्छ, जसलाई अमेरिकाले पनि वैध भन्ने स्थिति देखिन्छ। यस्तोमा दबाबमा रहेका ट्रम्प–पुटिनको मिलनबिन्दु यहाँबाट शुरु हुने देखिन्छ ।
युक्रेनद्धारा बचाउ
युक्रेनी विदेशमन्त्री आन्द्री सिबिहाले एक्समा पोस्ट गर्दै जेलेन्स्कीको बचाउ गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति फेर्ने भनेकै दिन विदेशमन्त्रीले भनेका छन्, ’उहाँलाई युक्रेनी जनताको समर्थन प्राप्त छ र निर्णय लिने अधिकार उनीहरूकै हो ।’
यसमा उनले थप लेखेका छन्, ’विदेशबाट आउने यस्ता भनाइहरूले उहाँ आफ्नो काम राम्रोसँग गरिरहनुभएको छ भन्ने कुरा मात्र पुष्टि गर्छन् । उहाँ समर्थनको हकदार हुनुहुन्छ।“ यसरी युक्रेनी विदेशमन्त्रीको बचाउसंगै अब युक्रेन समस्यामा नयाँ संकट आउने खतरा समेत बढेको छ ।
वैधतामाथिको प्रश्न
युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीको वैधतामाथि रुसी राष्ट्र्पति भ्लादिमिर पुटिनले समेत प्रश्न गर्ने गरेका छन। प्रत्यक्ष वार्ताको प्रस्तावमा पुटिनले जेलेन्स्कीको वैधतामाथि पहिलेदेखि नै प्रश्न गरिरहेको बेला अमेरिकी राष्ट्रपतिको यो भनाईले अर्थपूर्ण सन्देश दिने विश्लेषण भइरहेको छ ।
यतिमात्रै नभई अमेरिकाका युरोपेली सहयोगी राष्ट्रहरु जर्मनी, बेलायत तथा अन्य राष्ट्रहरुले युक्रेनमा दिइरहेको समर्थनमा समेत अब केहि धक्का लाग्ने खतरा रहनसक्छ। अमेरिकाले लिने कदमले ठूलो अर्थ राख्ने भएकाले पनि युक्रेनमा राष्ट्रपतिको वैधानिकतामाथिको प्रश्न अब पेचिलो बन्ने र यसले नयाँ मोड लिने स्थिति नबन्ला भन्न सकिदैन् ।
जेलेन्सकी २० मे २०१९ मा युक्रेनको छैटौँ राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए। उनले ७३.२२ प्रतिशत मत ल्याएका थिए। यसरी उनको कार्यकाल ५ वर्षको हुने र त्यो कार्यकाल सन् २०२४ मै सकिने स्थिति थियो तर, युक्रेनमा मार्सल ल लागू भएका कारण उनी वैध राष्ट्रपतिको रुपमा आफुलाई दाबी गर्ने गरेका छन्। अहिले उनको वैधतामाथिका प्रश्न समेत उठ्न थालेका हुन्।


